दस करोडमा माइक्रो इन्डस्टोरियल भिलेज निर्माणको तयारी

ZEN Travels

सुर्खेत, २३ चैत । लघु घरेलु वस्तुको उत्पादन तथा सहज रूपमा बिक्री वितरणका लागि सुर्खेतमा साना उद्योग गाउँ अर्थात् ‘माइक्रो इन्डस्टोरियल भिलेज’ निर्माणको महत्वकाङ्क्षी योजना अगाडि सारिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले यस्तो योजना अगाडि सारेको हो । ‘माइक्रो इन्डस्टोरियल भिलेज’ निर्माणका लागि आउँदो वर्षको योजना तथा कार्यक्रमका लागि जिल्ला परिषद् २०७० लेसमेत पारित गरिसकेको छ ।

गैरसामाजिक संस्था जिआइजेड सँगको सहकार्यमा माइक्रो इन्डस्टोरियल भिलेज निर्माणको योजना अगाडि सारिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतका निर्देशक विनोददेव पन्तले जानकारी दिनुभयो ।

अहिले घरेलु विकास समितिको कार्यालय रहेको आफ्नै स्थानमा व्यवस्थित माइक्रो इन्डस्टोरियल भिलेज निर्माण गर्ने योजना बनाइएको छ । निर्देशक पन्तले आयोजना सुरु भएको दुई वर्षभित्रमा निर्माण भइसक्ने र निर्माण सम्पन्न गर्नका लागि करिब रु १० करोड लाग्ने अनुमान रहेको बताउनुभयो ।

योजनाअनुसार भिलेजका वरिपरि घर निर्माण गरिने छन् बाहिर तिर सटर राखेर बिक्री कक्ष राखिने छ भने भित्री कोठामा उत्पादन कक्ष बनाइने छ । द्वन्द्वको समयमा विस्तापित भएर विभिन्न जिल्लाबाट सुर्खेतमा बसिरहेका र बेरोजगार रहेकालाई सीप सिकाइ रोजगारी सिर्जना गर्ने उद्देश्यले माइक्रो इन्डस्टोरियल भिलेज निर्माण गर्न लागिएको निर्देशक पन्तको भनाइ छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला