गाभिने प्रक्रियाप्रति पश्चिमाञ्चल ग्रामीण विकास बैंकको असहमति

ZEN Travels

बुटवल, २५ चैत । बुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा महिला सेयर सदस्यहरूले सेयर फिर्ता गर्न माग गरेका छन् ।उनीहरूले घाटामा रहेका अन्य क्षेत्रीयस्तरका ग्रामीण विकास बैंकसँग गाभिने गरी नयाँ राष्ट्रियस्तरको लघुवित्त बैंक बनाउने तयारी भएकामा असहमति जनाउँदै महिला सेयर सदस्यहरूले आफ्नो सेयर फिर्ता मागेका हुन् ।

उनीहरूले बैंकको गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेको समयमा घाटामा रहेका अन्य चार वटा ग्रामीण विकास बैंकसँग गाभिन जाँदा आफूहरूले पनि घाटा व्यहोर्नुपर्ने तर्कसहित आफ्नो सेयर फिर्ता मागेका हुन् ।बैंक सञ्चालक समितिले आफूहरूलाई कुनै जानकारी नै नदिई गाभिने प्रक्रिया अन्तिम चरण पुगेपछिमात्र थाहा पाएको बताउँदै सेयर सदस्य कला खनालले यस्तै अवस्थामा कदापि गाभिन नदिने बताउनुभयो ।

अन्य बैंकसँग गाभिने कुरा राम्रो भए पनि सेयर सदस्यहरूको रायका आधारमा मात्रै गाभिन जाने सञ्चालक समितिकी सदस्य जमुना ढकाल बताउनुुहुन्छ ।ग्रामीण क्षेत्रमा रहेका विपन्न र कम आय भएका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले बैंकले समूहमार्फत समूहलाई जमानी बनाएर बिनाधितो ऋण प्रवाह गर्ने तथा उनीहरूसँगबाट बचत सङ्कलन गर्ने काम गर्दै आइरहेको छ ।पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा नेपाल सरकारको १०.८९ प्रतिशत, राष्ट्र बैंकको ६.६ प्रतिशत, निर्धन उत्थान बैंकको ६.६६ प्रतिशत, महिला समूह सदस्यहरूको २६.१८ प्रतिशत, कर्मचारीको ०.८८ प्रतिशत, सर्वसाधारणको ३४ प्रतिशत र वाणिज्य बैंकहरूको १४ प्रतिशत सेयर रहेको छ ।

बैंक गाभिने प्रक्रियामा रहेकाले कसैले पनि अहिले नै सेयर फिर्ता पाउन नसक्ने बैंकका कार्यकारी अधिकृत धर्मराज पाण्डेले बताउनुभयो ।उहाँका अनुसार बैंक गाभिएपछि पश्चिमाञ्चलको पुँजी रु १० करोडबाट बढेर रु २७ करोड ५८ लाख पुग्नेछ । सेयर रकममा पनि अहिलेको अवस्थामा भन्दा धेरै फरक पर्ने भएकाले यसमा अवरोध गर्नु हुँदैन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला