सिंगो रुकुम प्रदेश नं. ५ मा पर्नुपर्ने माग सहित थालिएको आन्दोलन थप उग्र बन्ने संकेत

ZEN Travels

मनिष खड्का
रुकुम – सिंगो रुकुमलाई प्रस्तावित प्रदेश नं. ५ मा पार्नुपर्ने माग सहित थालिएको आन्दोलनको स्वरुप थप कडा पार्ने आन्दोलनकारी नागरिकले चेतावनी दिएका छन् । आफुहरुले गत आइतबार देखी आन्दोलन थालेको भएपनि आज सम्म कुनै सुनुवाइ नभएको भन्दै बिहिबारबाट आन्दोलनलाई थप कडा पारिने अखण्ड रुकुम संघर्ष समितिले जनाएको छ ।

आज सम्म शान्तिपुर्ण वातावरणमा आन्दोलन संचालन गर्दा कुनै सुनुवाइ हुने छाँटकाट नदेखिएको भन्दै बिहिबारबाट सरकारी तथा गैरसरकारी निकायका कामकाज ठप्प पार्ने संघर्ष समितिका संयोजक टेक वहादुर पुनले बताउनुभयो । व्यापार, व्यवशाय, यातायातका साधन, शैक्षिक संघ संस्था तथा उद्योग कल कारखाना विगत ३ दिन देखी पुर्ण रुपमा ठप्प छन् ।

आफुहरुको आन्दोलनलाई वेवास्ता गर्न खोजिएको भन्दै आन्दोलनरत नागरिकहरुले आक्रोश व्यक्त गर्न थालेका छन् । आइतबारबाट आन्दोलन सुरु गरेका नागरिकहरुले सोमबारबाट आम हड्तालका कार्यक्रम अगाडि बढाएका हुन् । नागरिकहरुले संघर्ष समितिनै गठन गरेर आन्दोलन जारी राखेका छन् । केन्द्रको निर्णय अनुसार आन्दोलनलाई थप कडा पार्दै अगाडी बढाउने समितिले तयारी गरेको छ ।

समितिले आज जिल्ला प्रशासन कार्यालय मार्फत संविधानसभामा आफ्ना मागहरु पठाएको छ । सिंगो रुकुमेलीहरु रुकुम प्रदेश नं. ५ मा रहनुपर्छ भन्ने अडानमा रहेको जानकारी संविधानसभासम्म पुर्याउन १ हजार बढि हस्ताक्षर पनि संगै पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अन्तर वहादुर सिलवाल मार्फत माग पत्र बुझाउँदै आन्दोलनकारी नागरिकले शान्तिपुर्ण आन्दोलन उग्र हुने संकेत गरेका छन् । आइतबारबाट तनाव ग्रस्त बनेको रुकुम, सिंगो जिल्ला प्रस्तावित प्रदेश नं. ५ मा पर्ने निश्चित नभएसम्म जारी रहने देखिन्छ ।।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला