सिरहामा अनुगमन नहुँदा मलखादको मनपरी मूल्य लिइदै

ZEN Travels

लहान ८ साउन  । सिरहा जिल्लामा यसवर्ष रसायनिक मलखादको अभाव नभए पनि व्यापारी तथा डिलरहरुले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
 
धानबाली रोपाइँ गर्ने समयमा पनि बजार अनुगमन नहुँदा जिल्लाको विभिन्न स्थानमा रहेका मलखादका थोक तथा खुद्रा बिक्रेताले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेका हुन् ।
 
धान रोपाइँ गर्ने चटारोको बेलामा मलखादको मनपरी मूल्य बढाएर बिक्री वितरण हुने गरेकाले मारमा परेको किसानले बताएका छन् ।
 
सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्टट्रेडिङ कर्पाेरेसन लिमिटेडले सहकारी संस्था मार्फत जिल्लाका किसानलाई मलखाद उपलब्ध गराउँदै आएका छन् ।
 
सुपथ मूल्यमा बिक्री गर्ने भनी लगिएको मलखादमा डिलरले मनपरी मूल्य बढाएर बिक्री वितरण गर्ने गरेको किसानको गुनासो छ । डिलरहरुले धान रोपाइँ गर्ने चटारोमा मौकाको फाइदा उठाउँदै युरिया, डिएपी तथा पोटासलगायतका मलखादमा निर्धारित मूल्य भन्दा प्रति बोरामा रु २०० देखि ३०० सम्म बढी मुल्य बढाएर बिक्री गर्ने गरेको किसानले दुखेसो पोखेका छन् ।
 
विगतका वर्षमा मलखाद अभाव भएका बेला मूल्य बढाएर बिक्री गर्दै आएका स्थानीय डिलरले यसपाली जिल्लामा मलखाद्य पर्याप्त हुदाँ समेत मूल्य बढाएर बिक्री गर्ने गरेका छन्, सिरहाको बलहीका किसान रामसेवक महराले भन्नुभयो–‘‘अहिले डिलरहरुले प्रति बोरा रु दुई हजार २८८ पर्ने डिएपी रु दुई हजार ५०० सम्ममा तथा रु ९५० पर्ने युरिया एक हजार १०० सम्ममा बिक्री गर्ने गरेका छन् ।”
 
डिलरबालाले आफन्त तथा चिनजानका किसानलाई भने रु ५० देखि १०० सम्म घटाएर पनि बिक्री गर्ने गरेको उहाँको कथन छ । यसरी व्यापारीले धान रोपाइँको समयमा मनपरी मूल्य बढाएर बिक्री गर्दासमेत सम्बन्धित निकायले कुनै ध्यान नदिएको सिरहा गोविन्दपुरका किसान रवीन्द्र चौधरीले भन्नुभयो–‘‘ यो बेलामा बजार अनुगमन भयो भने व्यापारीको मनपरी पनि रोकिन्छ र किसानले सुपथ मूल्यमा सहज रुपले मलखाद पनि पाउन सक्छन् ।” तर अहिलेसम्म कहीकतैबाट बजार अनुगमन हुननसकेको उहाँको गुनासो छ । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला