पर्यटन विकासले हुम्लालाई आत्मनिर्भर बनाउँछः जीवन शाही 

ZEN Travels

काठमाडौं  २७ जेठ । पूर्वमन्त्री हुम्ला जिल्ला कर्णालीकै लागि पर्यटन विकासका लागि नमूना भएको बताएका छन् । हुम्लालाई विकासबाट कसैले रोक्न नसक्ने बताए । कर्णाली करिडोरमा सडक निर्माण गरेर जिल्लालाई पर्यटन क्षेत्रमा विकासको थप उचाईमा उठाउन हुम्लीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
शनिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा ‘हुम्ला जिल्लाको पर्यटन विकास र प्रवद्र्धन विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपर्यटनमन्त्री शाहीले पर्यटनको स्रोतलाई उपयोग गर्न सके हुम्लाबासी आत्मनिर्भर हुने विचार राखे ।
हुम्ला मानसरोवरमा जाने पर्यटकका लागि मुख्य ढोका भएको बताउँदै शाहीले भने ‘कर्णालीमा भोकमरी नभई भातमरी मात्र भएको छ । यसलाई हामी हुम्लीले अहिल्यैबाट सच्याउन लाग्नुपर्छ ।’
हुम्लालाई विकट भनेर होच्याउने समय गएको उनको भनाई छ । भूकम्पपछि तातोपानी नाका पूर्णरुपले बन्द भएपछि सदरमुकाम सिमिकोट मानसरोवर जाने पर्यटकका लागि प्रवेशद्वार बनेको छ । यहाँबाट जाने अधिकांश पर्यटक भारतीय हुन् ।
हुम्लाको हिल्सासम्म जान केवलकारको व्यवस्था गर्न अत्यावश्यक रहेको औल्याउँदै शाहीले प्याराग्लाइडिङ, हेलिस्किङ, क्यानोइङ, हाइकिङ, ¥याफ्टिङ, हाइड्रो, कृषि, जंगलसफारी, जडिबुटीलगायत दर्जनौं शीर्षकमा पर्यटकीय गन्तव्य निर्माण गर्न सकिने निश्चितता हुम्लाले बोकेको बताए । हुम्लामा शिक्षित वर्गमा बढोत्तरी आएकोप्रति खुशी व्यक्त गरे ।
कार्यक्रममा शाहीले समग्र पर्यटन विकास गरेर हुम्ला मात्र नभई थोरै समयमा सम्पूर्ण कार्णालीवासीलाई आर्थिक रुपमा सम्पन्न गर्न सकिने योजना प्रस्तुत गरे । कर्णाली क्षेत्रभित्र रहेका ५ हजार ताललाई स्थानीयको जीवनसँग जोड्ने योजना आफूले पर्यटन मन्त्रालय सम्हालेको बेला तय गरेको स्मरण गर्दै त्यसलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।
हुम्लाको पर्यटन विकासको सम्भावना र चुनौतिबारे सहभागीले राखेको जिज्ञासाको जवाफमा हुम्लालाई ७४ जिल्ला सघाउन सकिने जिल्लाको रुपमा विकास गर्न प्रचुर आधार भएको उदाहरण प्रस्तुत गरे । हुम्लामा हिँडदा पैसामाथि हिडिरहेको जिकिर गर्दै सबैलाई पर्यटन विकासमा लाग्न आग्रह गरे ।
कार्यक्रममा मुगुका सांसद मोहन बानियाँले कर्णाली क्षेत्रको विकास गर्न हुम्लाको विकास महत्वपूर्ण भूमिका रहने बताए । राज्य सत्तामा कर्णालीको पहुँच नहुनुले हुम्लालगायत जिल्लावासीले ठोस रुपमा विकासको अनुभव गर्न नसकेको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य एवं कर्णाली विकास आयोगका अध्यक्ष डा. चन्द्रकान्त पौडेलले कर्णाली प्राकृतिक, साँस्कृतिक, धार्मिक र सम्पदाको हिसाबले धनी हुम्लालाई राज्यले गहिरोसँग ध्यान दिइरहेको बताए । हुम्लामा राज्यले राम्रो बजेट छुट्याएको र बजेटलाई राम्रो सदुपयोग गर्न स्थानीयहरुले भूमिका खेल्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रम युवा नेता हस्तबहादुर शाहीले हुम्लालाई केवुलकार, ऊर्जा, कृषि क्षेत्रमा विकास गरेर लाखौं संख्यामा पर्यटक भित्र्याउन सकिने धारणा राखे । नेपाल बुद्धिजीवि परिषद्का अध्यक्ष गोविन्द शाहीले हुम्लालाई पर्यटन क्षेत्रमा नेपालको ‘थाईल्याण्ड’ बनाउन सकिने बताए । त्यसनिम्ति राज्यले मात्र नभई स्थानीय जनता र नेताहरु एकजुट हुनुको विकल्प नरहेको भनाई राखे ।
हुम्ला कांग्रेसका सभापति मंगल शाहीले पहिला हुम्लाका नेताको दिमाग सफा गर्नुपर्ने बताए । मानसरोबर, रादेउलगायत क्षेत्रमा जाने पर्यटकका लागि बसोबास र खानपिनको राम्रो व्यवस्था हुन नसक्दा पर्यटक सोचेजस्तो वृद्धि हुन नसकेको बताए । रुटको सरसफाई मात्र गर्न सके धार्मिक पर्यटकले पनि हुम्ला समृद्ध हुन सक्ने धारणा राखे ।
जनसमाजवादी पार्टीका उपाध्यक्ष रणबहादुर रम्तेलले आफ्नो पार्टीले हुम्लाको पर्यटन विकासको लागि विशेष योजना भएको जानकारी गराउँदै सबै सरोकारवाला पक्षसँग छलफल गर्ने बताए ।
उद्योग वाणिज्य महासंघ नेपालगञ्जकी उपमहासचिव तारा रोकायले कर्णाली सुन्दर भूमि रहेको र हुम्लीहरु मिलेर हुम्लालाई थप सुन्दर बनाउनुपर्ने बताइन् । हुम्ला विकासको लागि आफू हरेक हिसाबले सदैव तयार रहेको बताइन् । नेपालगञ्ज–हुम्लाको हवाई संख्या कटौती गरेकोप्रति दुःख व्यक्त गरिन् ।
समाजसेवी लक्ष्मी ऐडीले राजनीतिक परिवर्तनकै कारण हुम्लीले मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै नयाँ युवालाई राजनीतिलाई सफा गरेर नेतृत्वदायी भूमिका निभाउन आग्रह गरिन् ।
कार्यक्रम एमालेका सर्केगाड गाउँपालिका संयोजक खगेन्द्र कार्कीले हुम्लाको पर्यटन विकासको लागि हुम्लीहरुबीच नियमित अन्तरक्रिया भइरहनु पर्ने सुवाझ दिए ।
कार्यक्रममा पत्रकार डा. दीपेन्द्र रोकायाले हुम्लाको पर्यटन विकास र प्रवद्र्धनबारे ६ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । वक्ताहरुले कार्यपत्रमाथि टिप्पणी र सुझाव राखेका थिए । वक्ताहरुले कार्यपत्रले हुम्ला पर्यटन विकासबारे आँखा खोलिदिएको टिप्पणी गरे । जिल्ला थुप्रै पर्यटकीय स्थलबारे चर्चा गर्न कार्यपत्रमा समेट्न नसकेको सुझाव दिए ।
कार्यक्रम संवाद डबलीका उपाध्यक्ष देवकी तिमल्सिनाको अध्यक्षतामा भएको थियो । ंकार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी र पर्यटन पत्रकारहरुसहित ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला