चुनावको मुखैमा माओवादी केन्द्रिय सदस्य एमालेमा माओवादी बन्द गोपीजस्तै ः पौडेल

ZEN Travels

प्यूठान, ११ असार ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल एमालेमा प्रवेश गर्नुभएको छ । माण्डवी गाउँपालिका–२ मर्कावाङ रातापानी प्यूठान निवासी पौडेललाई एमाले केन्द्रिय सदस्य, प्रचार विभाग उपप्रमुख एवं पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले स्वागत गरेर प्रवेश गराउनुभएको हो । माण्डवी गाउँपालिकाको शनिवार नयाँगाउँस्थित जस्पुरमा आयोजित चुनावी सभामा थापाले पौडेललाई प्रवेश गराउनुभएको छ ।

 
झण्डै २० वर्ष माओवादी केन्द्रमा रहेर राजनीति जीवनमा क्रियाशिल रहनुभएका पौडेलले एमालेको नीति, विचार र राष्ट्रियताप्रतिको अडानलाई मन पराएर एमाले परिवारमा प्रवेश गरेको प्रतिक्रिया दिनुभयो । ‘लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न एमालेको भूमिका पनि उल्लेखनीय छ’,विगतको स्मरण गर्दै उहाँले भन्नुभयो,‘एमालेको साथ नभएको भए गणतन्त्र स्थापना हुने नै थिएन ।’
पछिल्लो समय माओवादी केन्द्र ‘वन्द गोपी’ जस्तै भएको समेत उहाँले संज्ञा दिनुभयो । ‘माओवादी केन्द्र बन्द गोपीको पात जस्तै भयो’,पौडेलले भन्नुभयो,‘एउटा पात निकाल्यो अर्को पात आउँछ । अर्को निकाल्यो अर्को आउँछ । अन्तिममा केही पनि हुँदैन ।’ सही नीति र नेतृत्व नहुँदा माओवादी भंग हुने संघारमा पुगेको समेत उहाँले स्पष्ट पार्नुभयो । देशव्यापी रुपमा एमालेप्रति बढ्दै गएको जनलहरलाई व्यवस्थित गरी अघि बढ्न उहाँले पार्टीलाई सुझाव समेत दिनुभयो । ‘देशभरी नै एमालेमा जनताको आकर्षण बढ्दै गएको छ’,उहाँले भन्नुभयो,‘धेरै भएर मात्तिने र थोरै भयौँ भनेर आत्तिने गर्नुहुँदैन ।’

 
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी एमाले नेता सूर्य थापाले माओवादी नेता पौडेलले सही समयमा सही निर्णय गरेको उल्लेख गर्नुभयो । ‘प्यूठानका कमजोर भनिएका ठाउँमा पनि एमालेको संगठन मजवुत भइसकेको छ’,उहाँले भन्नुभयो,‘हाम्रो परिवारमा आइसकेपछि कोहीपनि विचलनको स्थिती हुनेछैन् ।’ मुलुकको पछिल्लो राजनीतिक्रम, एमालेको नीति तथा कार्यक्रम लगाएत विषयमा उहाँले सम्वोधनका क्रममा स्पष्ट पार्नुभयो ।
यसपालीको निर्वाचनमा जिल्लाका सवै स्थानीय तहमा एमालेले विजयी हासिल गर्ने एमाले प्यूठानका उपसचिव मधुर शर्माले दावी गर्नुभयो । ‘माण्डवी कुनैबेला माओवादी र राजमोको उद्गम थलो थियो’,उहाँले भन्नुभयो,‘अहिले जनआधार खस्किदै गएको छ । एमालेले जित्ने निश्चित भइसक्यो ।’ माओवादी र राजमोको केन्द्रिय नेता जन्माउने थलो भएपनि माण्डवीमा एमालेप्रति नागरीकको आकर्षण बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टी छाडेर डेढ सय बढी नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेको उहाँले जानकारी गराउनुभयो ।

फोटो ः माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेललाई प्रवेश गराउँदै एमाले नेता सूर्य थापा ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला