सुत्केरी चार दिन सम्म भोकै कसरी छाक टार्रिन

ZEN Travels

मकुवानपुर
साउन ३१ ।
तीन दिन भयो, मुखमा अन्न परेको छैन । टाँकीको साग उसिनेर पेट भरिरहेकी छन् । दूध नआउँदा शिशु रुने गर्छ । रूखको फेदमा २ थान प्लास्टिक टाँगेर ४ दिनकी सुत्केरी सुस्मिता चेपाङ आश्रित छिन् । झरी छेक्न टाँगेको कालो प्लास्टिकबाट पानी थोत्रो कपडाको ओछ्यानमा चुहिएर भिजेको छ ।

त्यही थोत्रो कपडामा शिशुलाई बेरेर सुताइएको छ । छेउमा सुस्मिता सुतेकी छन् । शिशु छिनछिनमा रुने गर्छ । दूध चुसाउँछिन् तर आउँदैन । तीनवटा ढुंगा जोडेर चुलो बनाइएको छ । त्यही चुलोमा सिलाबरको कराहीमा टाँकीको साग उसिनेर राखिएको छ ।

विगत ३ दिनदेखि सुस्मिताले त्यही साग र तातो झोलले प्राण धानिरहेकी छन् । कमजोर भएर उभिन नसक्ने भइन् । उनका पति सुमन कामको खोजीमा सोमबार बिहान हाँडीखोलाको मसिने गाउँतिर गएका छन् । तर सोमबार अबेरसम्म फर्केका थिएनन् । मनहरी हाँडीखोलास्थित मुसेधापभन्दा माथिको जंगलको पाखामा रहेको रूखको फेदमा प्लास्टिक टाँगिएको छ । १० दिनअघि सुत्केरी भएकी रीता चेपाङ र साउन १ गते सुत्केरी भएकी अर्पना चेपाङले पनि त्यहीं आश्रय लिएर बसेका छन् । अर्की एक ९ महिनाकी गर्भवती चेपाङ महिला पनि त्यहीं बसेकी छन् । सुस्मिताकै नियति उनीहरूले भोगेका छन् । प्लास्टिकबाट चुहिएको पानी र भुइँको चिसोले उनीहरूलाई रुघाखोकीसमेत लागेको छ ।

स्थानीयका अनुसार दुई थान प्लास्टिकमुनि ३ परिवारका १२ जना अटेका छन् । राम्रोसँग खुट्टा तन्काएर सुत्न पनि पुग्दैन । तर उनीहरू रातभर अगेनामा आगो बालेर ओत लाग्ने गरेका छन् । मनहरी गाउँपालिका चिसापानी पाखामा अविरल वर्षाले शनिबार बिहान पहिरो खस्दा सुस्मिता, रीता र अर्पना परिवारको मात्र होइन स्थानीय ३४ चेपाङ परिवारसहित ३८ घरधुरीका बासिन्दा पाखामा पुगेका छन् । घर पहिरोले पुरेपछि थोत्राथात्री लुगा र १र२ थान भाँडाकुँडा झिक्न सफल भए । ‘सबै पहिरोले घरसँगै पुरिदियो, ‘मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘पीडितसित लगाएको कपडाभन्दा अरू केही छैन, पेटमा अन्न नपरेको पनि तीन दिन भइसक्यो ।’

पहिरोले चिसापानी पाखा भासिएको छ । पहिरोपीडित हाँडीखोलास्थित प्रजा प्रावि, चर्च र रूखको फेदमा प्लास्टिक टाँगेर बसेका छन् । ‘पहिरोपीडितको अवस्था दर्दनाक छ,’ गाउँपालिका अध्यक्ष उप्रेतीले भने, उनीहरूको अवस्था देख्दा मनै भक्कानिएर आउँछ ।’ चुरेको घाँचमा रहेको उक्त बस्तीका चेपाङको काठको कतेर छाप्रो थियो ।

पहिरोले अधिकांशको काठसमेत पुरिदिएको छ । बिहान उज्यालो भएपछि पहिरो गएकाले सबै घरबाट बाहिर निस्कन भ्याएको पहिरोपीडित ६० वर्षे साहिला चेपाङले बताए । ४ दिनकी सुत्केरी र नवजात शिशुलाई उनले घरबाट निकालेको बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला