बारामा एमालेका एक उम्मेदवारको दोहोरो नागरिकता ,जवाफ माग्दै लिखित पत्र निर्वाचन अधिकृतको कार्यालयमा

ZEN Travels

बारा,

३१  भदौ ।

बारामा जिल्ला प्रशासन कार्यालयले नेकपा एमालेका तर्फबाट वडाध्यक्षका एक जना उम्मेदवारको दोहोरो नागरिकता भेटिएको छ । प्रशासन कार्यालयले निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका एमालेका उम्मेदवार जयराम कुनवरको दोहोरो नागरिकता रहेको जनाएको छ ।

कुनवरको दोहोरो नागरिकता भेटिएपछि पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिनुभयो । कुनवरले जुन नागरिकताको प्रतिलिपी पेश गरेर मनोनयन दर्ता गराएका थिए त्यही नागरिकता खारेज भएको छ ।

कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ–४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी मान्नधरले जानकारी गराउनुभयो । कुनवरले यसअघि २०६० वैशाख १४ गते पहिलो पटक ईलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालय निजगढका निर्वाचन अधिकृत गोविन्दराज गौलीले एमाले उम्मेदवार कुनवरलाई तपार्इंको नागरिकता खारेज भएको र केही भन्नु पर्नेभए निर्वाचन अधिकृतको कार्यालयमा जवाफ दिन व्यवहोराको लिखित पत्र दिइएको जानकारी गराउनु भयो । कुनवरले जुन नागरिकताको प्रतिलिपी पेश गरेर मनोनयन दर्ता गराएका थिए, सोही नागरिकता खारेज भएको पत्र जिल्ला प्रशासन कार्यालयबाट शनिबार प्राप्त भएको निर्वाचन अधिकृत गौलीले जानकारी गराउनुभयो ।

निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले निर्वाचन अधिकृतको कार्यालयबाट आयोगलाई लिखित जानकारी आएपछि उम्मेदवारको उम्मेदवारीको सम्बन्धमा कानुनअनुसार उचित निर्णय लिइने जानकारी गराउनु भयो ।

निर्वाचन कार्यक्रमको दावी विरोध पेश गर्ने दिन कुनवरले दोहोर नागरिकता लिएको उजुरी नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सुनिल चौधरीले गर्नु भएको थियो । उहाँले किर्ते गरेर दुई पटकगरी दुई वटा छुट्टा–छुट्टै नम्बर र थर भएको नागरिकता लिएको भन्दै कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चौधरीले उजुरी दिनुभएको थियो ।

नागरिकताको विषयमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालय निजगढले जिल्ला प्रशासन कार्यालय बारालाई पत्राचार गरी नागरिकता सम्बन्धमा जानकारी माग गरेको थियो । उम्मेदवारी दर्ता गर्दा कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ–४ बाट लिएको ३३३१०११/५९९ नम्बरको नागरिकताको प्रतिलिपि पेश गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला