उडायो सपना सारा हुरिले ‘चिलगाडी’ चढ्ने रहर अधुरै

ZEN Travels

सुर्खेत , १३ कार्तिक।

वर्षौपछि आँगनमै जहाज (चिलगाडी) अवतरण हुँदा कालिकोटको कोटवाडाका स्थानीयमा खुसीको सीमा थिएन । कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेको लर्को नै लागेको थियो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको नौ महिना बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निरास बनेका छन् ।

करिब ३१ वर्ष लगाएर निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । परीक्षण उडानले हर्षित स्थानीयले त्यसपछि भने आँगनमा जहाज देख्न पाएनन् ।

जिल्लाको एक मात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घन्टाको पैदल दूरीमा छ । सडक यातायातको पहुँच नपुगेको कोटवाडा आसपासका बासिन्दा परीक्षण उडान सफल भएको नौ महिनासम्म पनि नियमित उडान हुन नसक्दा निरास भएका छन् ।

‘पोहोर माघमा चिलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौं’, कोटवाडाकी हस्ता विष्टले भनिन्, ‘आँगनबाटै चढ्न पाउने भयौं भनेर खुसी भएका थियौं, हाम्रो रहर अधुरै रह्यो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चिलगाडी फर्केरै आएनन् ।’

स्थानीय बासिन्दा हीरामणि उपाध्याय भन्छन्, ‘गाउँमा न सडक पुगेको छ न त विमानस्थल नै सञ्चालन भयो । परीक्षण उडानपछि जहाज फर्केर आएनन्, हाम्रा दुःखका दिन कहिलेसम्म रहने हुन् खै रु ’जहाज नियमित सञ्चालनमा आएपछि जिल्लाबाहिर आवत(जावत गर्न सजिलो हुने अपेक्षा गरेका स्थानीय यतिबेला जहाजको पर्खाइमा छन् ।

नियमित उडान नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । परीक्षण उडान भएको एक वर्ष पुग्नै लाग्दा पनि जहाज नआएको भन्दै स्थानीय हर्कबहादुर शाहीले आफूहरूमाथि अन्याय भएको बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला