कांग्रेस हार्दा मुलुक र लोकतन्त्रले हार्ने : महामन्त्री कोइराला

ZEN Travels

नवलपरासी,२० कार्तिक ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित रहेको दाबी गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका डा.कोइरालाले आइतबार नवलपरासीकोे दलदलेमा पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको विजय सुनिश्चित रहेको दाबी गरेका हुन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले नेपाली कांग्रेस कहिल्यै पनि विचलित नहुने पार्टी भएकाले यसलाई कसैले कमजोर बनाउन नसक्ने जिकिर गरे ।

नेपाली कांग्रेस वाम गठबन्धनका कारण चुनावमा कमजोर हुन्छ भनेर हल्ला चलाए पनि त्यो निराधार भएकाले अब संविधानको संस्थागत विकासका लागि निर्वाचन नेपाली कांग्रेसका पक्षमा आउने दाबी गरे ।

नेपाली कांग्रेसकोे विजयलाई अब कसैले रोक्न नसक्ने ठोकुवा गर्दै डा.कोइरालाले कांग्रेस जस्तोसुकै नीति अपनाएर पनि निर्वाचन आफ्नो पोल्टामा पार्न सक्षम हुने कोइरालाले दाबी गरेका छन् ।

एक भएर कांग्रेस जिताउन जनताका माझ होमिन उनले सबै कार्यकर्तालाई निर्देशन दिए । मुलुकमा लोकतान्त्रिक र वामपन्थी गठबन्धनबीच प्रतिस्पर्धा रहेपनि कांग्रेसको नेतृत्वको गठबन्धनले यो चुनावमा प्रष्ट जित हात पार्ने कोइरालाले दाबी गरे ।

सशक्तरुपमा प्रचार–प्रसारमा लाग्न, जनतालाई राम्रोसँग बुझाएर जान र निर्वाचन जसरी पनि जित्ने वातावरण तयार गर्न मातहतका सबै वर्गीय संगठनलाई महामन्त्री डा.कोइरालाले निर्देशन पनि दिए ।

अहिले राजनीतिक दलभित्र तीव्र धु्रवीकरण भएपनि कांग्रेस बलियो शक्ति भएको र यसले कांग्रेसभित्र थप एकता र संगठित हुने अवसर दिएको उनले बताए ।

पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै उनले भने, ‘कांग्रेस हार्दा मुलुक र लोकतन्त्र हार्ने भएकाले कांगे्रसका कार्यकर्ता गम्भीर हुनु जरुरी रहेको छ ।’

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला