देउवा भन्छन्ः मलाई प्रधानमन्त्री बनाउनुस, विकासको सबै जिम्मा लिन्छु

ZEN Travels

अछामः प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई एक पटक फेरि प्रधनमन्त्री बनाउन जनतासँग आग्रह गरेका छन् । कम्युनिस्ट दलहरुले विकासका नाममा सिन्को पनि नभाँचेको बताउँदै फेरि प्रधानमन्त्री भएमा आफूले देश विकासको सबै जिम्मा लिने जिकिर गरे ।

दुःख गरेर जारी गरिएको संविधान वाम गठबन्धनको नाममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले च्यातेर तानाशाही शासन लाद्न खोजेको आरोप लगाउँदै देउवाले जनताको अधिकारका लागि आफू सदैव प्रतिवद्ध रहेको बताए ।

‘विकासको नाममा कम्युनिस्टहरुले सिन्को पनि भाँचेका छैनन्’, नेपाली कांग्रेस अछामले गरेको चुनावी सभालाई मंगलसैनमा सम्बोधन गर्दै देउवाले भने, ‘नेपाली कांग्रेसललाई जिताएमा विकासको सबै जिम्मा लिन्छौँ । जनताले त्रासमा पनि बाँच्नु पर्दैन । कांग्रेसले जनतालाई सुख शान्ति दिन्छ ।’

सात नम्बर प्रदेशको भोट तान्ने प्रयास गर्दै देउवाले केपी ओलीले जितेमा देशको विकास नहुने पनि जिकिर गरे । ‘वाम गठबन्धनले जित्यो भने ओली प्रधानमन्त्री बछन्, उनले झापाको विकास गर्लान्, सात नम्बर प्रदेशको विकास गर्दैनन्’, देउवाले भने, ‘कांग्रेसलाई जिताउनुभयो भने म प्रधानमन्त्री बनेर देशको सबै क्षेत्रको विकासको जिम्मा लिन्छु ।’

देउवाले कांग्रेसले जनतालाई मालिक मान्ने बताउँदै आदिवासी, जनजाति र मुस्लिम सबैलाइ मिलाएर लाने पनि दाबी गरे । बहालवाला प्रधानमन्त्रीकारुपमा १५ वर्षपछि अछाम आएका उनले मतदातालाई भ्याएसम्म आश्वासन बाँडे ।

सम्बोधनका क्रममा उनले मंगलसैनबाट चिसापानी हुँदै कैलालीको टीकापुसम्म जोड्ने सडक कालोपत्रे गरिदिने बचन दिए । देउवाले कांग्रेसलाई जिताएमा सामाजिक सुरक्षा भत्ता पनि दोब्बर बढाउने बताउँदै बेरोजगारलाई पनि भत्ताको आश्वासन दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला