मकवानपुरको कारागार भित्रै कैदीको लडाई

ZEN Travels

मकवानपुर,१३ पौष ।

मकवानपुरको भिमफेदी कारागारमा कैदीबीच दुईपक्ष झडप हुँदा ६ जना कैदी घाइते भएका छन् ।

जेलमा नाइके विरुद्धमा केही कैदी पक्षले आवाज उठाउँदा दुईपक्ष बीचमा झडप भएपछि ६ जना कैदीहरु घाइते भएका हुन् । जेलमा रहेका नाइके रमेश लामाका विरुद्धमा आवाज उठाउँदा दुईपक्ष बीचमा झडप भएको हो ।

लामा विरुद्धमा आवाज उठाएको भन्दै केही बन्दी माथि कुटपिट भएको र झडपमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

झडपका क्रममा नाइके लामाका पक्षबाट कुटपिटका क्रममा जेलका बन्दी दिव्य श्रेष्ठ, सुरेश थिङ, सुवास प्रधान, बाबु रेग्मी, मधु गिरी र आशिष राई घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक दीलीपराज झाले बताउनुभयो ।

घाइते मध्येमा चारजनाको हेटौडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । दुईजना कैदीको उपचारपछि फेरि जेल चलान गरिएको प्रहरीले जनाएको छ । कारगारमा बिहीबार दिउँसो झडप भएको हो ।

केही समय अगाडिदेखि जेलका नाइके परिवर्तन गर्नुपर्ने कैदीहरुले माग राखेका थिए । यही विषयलाई लिएर बिहीबार घाइते हुने गरी कुटपीट समेत भएको एसपी खनालले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धानको काम पनि भइरहेको उहाँले बताउनुभयो ।

धेरै बन्दीहरुले भने जेलको भित्रको क्यान्टिनमा महंगो खानेकुरा भएको, खानाको शुःल्क महँगो भएकोलगायतका गुनासाहरु पनि गर्दै आउका थिए । भिमफेदी जेलमा ८ सय ४५ जना कैदीलाई राखिएको छ ।

कारगारकोे सुरक्षाका लागि सशस्त्र प्रहरी बलको नेतृत्वमा ६६ जना सशस्त्र प्रहरी र जनपथ प्रहरी समेत रहेका छन् । जेलको सुरक्षाका लागि सशस्त्र प्रहरी र कैदी बन्दीहरु ओसार्ने काममा भने जनपथ प्रहरीले गर्दै आएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला