लोभ लाग्दो व्यावसायिक तरकारी खेती

ZEN Travels

धनगढी, २२ पुस   ।

मजगाउँमा टनेलभित्र तयार हुँदै गरेको मौसमी तथा बेमौसमी र घर वरिपरिका बारीमा लटरम्म फलेको टमाटर, खुर्सानी, फर्सीजस्ता तरकारी लहलहाउँदो छ । यस्तो दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् । सदरमुकाम धनगढीबाट करिब आठ किलोमिटरको दूरीमा रहेको गोदावरी नगरपालिका ८ का किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । विगतबाटै तरकारी खेतीको अभ्यास गर्दै आएका सिङ्गो गाउँबासी अब आधुनिक तरिकाबाट व्यावसायिक खेतीमा सक्रिय छन् । तरकारी खेतीप्रतिको उनीहरूको लगनशीलताका कारण मजगाउँ व्यावसायिक तरकारी खेती पकेट क्षेत्र घोषित भएको छ ।

पकेट क्षेत्र बनेपछि व्यावसायिक खेती गर्न अझै सहज भएको कृषक फूलचरण दहितले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्ला कृषि विकास कार्यालयले गतवर्षदेखि मजगाउँलाई तरकारी खेती पकेट क्षेत्र बनाएको हो ।
‘चार कट्ठामा खेती गर्दा वर्षमा डेढ लाख रुपियाँसम्म आम्दानी हुने गरेको थियो’, उहाँले भन्नुभयो–‘यो वर्ष खेती विस्तार गरेकाले आम्दानी पनि बढ्ने निश्चित छ । ’
गाउँका करिब ५० घरपरिवारले कम्तीमा चारदेखि बढीमा १० कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले उनीहरूको जीवनस्तरमा सुधार ल्याएको छ । गाउँको अधिकांश घर पक्कीमा परिणत भएका छन् । कतिपय परिवार कच्चीबाट पक्की घरमा पुग्नु व्यावसायिक तरकारी खेतीकै देन रहेको अर्का कृषक टेकु दहितको भनाइ छ ।
विगतमा साधारण तरिकाले तरकारी खेती गरेका मजगाउँवासी अब टनेल विधि अपनाएका छन् । टनेलभित्र काउली, बोरी, काँक्रोजस्ता मौसी तथा बेमौसमी तरकारी उत्पादन हुने क्रममा रहेको छ । गाउँका वृद्धवृद्धादेखि युवा पिँढी खेतबारीकै काममा सक्रिय छन् । उनीहरूको जागिर नै तरकारी खेती बनेको छ । दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका युवा निर्मल रत्गैंले यो कामबाट आफू निकै सन्तुष्ट रहेको बताउनुभयो ।
तरकारी खेतीसँगै रत्गैंले घरमा ब्रोइलर कुखुरा पालनको काम पनि गर्दै आउनुभएको छ । दुवै पेसाबाट भएको आम्दानी आफ्नो परिवारको लागि पर्याप्त रहेको उहाँले सुनाउनुभयो ।
मजगाउँका कृषकले उत्पादन गरेको तरकारी बिक्रीका लागि समस्या छैन । गाउँभरका किसानको तरकारी अत्तरिया बजारका व्यापारी लालबहादुर विकले थोकमा खरिद गर्दै आउनुभएको छ । धनगढी र अत्तरिया बजार नजिक रहेकाले उत्पादित तरकारी खपतका लागि कृषकहरूलाई कुनै फिक्री छैन ।
बजारीकरणको समस्या नभएका कारणले अरू कामभन्दा पनि घरपरिवार तरकारी खेतीमै सक्रिय भएको सिर्जना दहित बताउनुहुन्छ । गाउँमा दहित, रत्गैं थरका परिवारको बाहुल्य छ । आधुनिक तरकारी खेतीमा सघाउनका लागि उनीहरू दहित रत्गैं कृषक समूह गठन गरेका छन् । पकेट क्षेत्रको उद्देश्य अनुरुप व्यावसायिक खेतीका लागि जग्गाको चाक्लाबन्दी वृद्धि गर्न सामूहिक रूपमा अगाडि बढेको कृषकले बताएका छन् ।
समूह बनाएर अगाडि बढेपछि व्यावसायिक तरकारी खेतीमा सरकारी सहयोग पनि पाउन थालेको फूलचरणले जानकारी दिनुभयो । ‘जिल्ला कृषि विकास कार्यालयबाट बीउबिजन, उपकरण, सिँचाइ सुविधाका लागि सहयोग भएको छ’, उहाँले भन्नुभयो ।
तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च धान्न सहज भएको कृषकको भनाइ छ । आठ कट्ठा जमिनमा तरकारी फलाउँदै आउनुभएकी लीला दहितले व्यावसायिक तरकारी खेतीले घर खर्च सहज बनेको बताउनुभयो ।

gorkhapatra

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला