प्रविधिको विकाससँगै संकटमा पानीघट्ट

ZEN Travels

गुल्मी,२३ पुस।

कुनै समय कुटानी पिसानीका लागि महत्वपूर्ण मानिएको पानीघट्ट प्रविधिको विकाससंगै संकटमा पर्दै जान थालेको छ ।

पानीको माध्यमद्वारा संचालन गरिने पानीघट्ट ओझेलमा परेपछि संचालक र उपभोक्ता दुवैलाई चिन्ता परेको छ । मकै, कोदो, जौ, गहुँ, फापर पिस्न प्रयोग गरिने पानीघट्ट दुर्लभ बन्दै गएको मालिका गाउँपालिका ८ का कृष्ण घिमिरेले बताए । ‘मेसिनमा भन्दा झाँतो तथा पानीघट्टमा पिसेको खाना स्वादिष्ट हुन्छ, ।’ उनले भने,-‘मुल्य पनि कम नै पर्छ ।’

लामो समयदेखि जिल्लाको पश्चिमी क्षेत्र ह्वाङदी, अग्लुङ्ग, अर्खवाङ्ग, छापहिले, दलिङ्ग, नेटा, वाझँकटेरी, सिर्सेनी, मरभुङ्ग लगायतका केही स्थानमा गाउँभरि नै पानीघट्ट मार्फत कुटानी पिसानी गरिन्थ्यो । तर पछिल्लो समय आधुनिकतासगै ती पानी घट्टहरु हराउँदै गएका छन् । पछिल्लो समय गाउँगाउँमा विद्युतसेवा पुगेपछि अहिले पानीघट्टहरु सबै लोप हुँदै गएका हुन् ।

जिल्लाको सबैभन्दा बढी पानीघट्ट मालिका गाउँपालिका ३ को हवाङ्गदीमा थिए । उक्त गाउँमा दुई दर्जनबढी पानीघट्टहरु भएपनि अहिले एक/दुई वटा मात्र रहेको स्थानीय ५६ बर्षिय हरि अर्यालले बताए । ‘अहिले गाउँ–गाउँमा कुटानी पिसानी गर्नका लागि मिलहरु आए,’ उनले भने -‘मान्छे सुखभोगी भएकाले पानीघट्टमा कोहि जाँदैनन् ।’ अर्यालका अनुसार अहिले गाउँमा रहेका पानीघट्टहरु कुनैपनि सञ्चालनमा छैनन् ।

लामो समयदेखि पानी घट्टा संचालन गरेका ह्वाङ्दीकै अर्का पानीघट्ट सञ्चालक झमन सिंह बुढा मगरले पनि मान्छे आउन छाडेपछि पानीघट्ट चल्न छाडेको बताए । १० बर्ष पहिले १२ हजार लगानी गरेर गाउँमा दुई वटा पानीघट्ट चलाएका उनले महिनामा १५/२० हजार कमाउँथे । तर सबै स्थानमा आधुनिक मिलहरु आएपछि पानीघट्ट बन्द गर्न आफु बाध्य भएको उनले बताए । उनका अनुसार खोलाबाट पानी ल्याएर १० देखि १५ मिटरको उचाईबाट काठको डुढीमार्फत झारेको पानीले एक घण्टामा तीन पाथीसम्म खाद्यान्न पिस्ने गर्दछ । तर मिलले एक घण्टामा तीन/चार मुरी पिस्ने भएकाले पनि पानीघट्ट संकटमा परेको हो ।

पहिले पहिले गाउँमा डिजेलबाट चल्ने मेसिनहरु प्नि थिएनन् । त्यतिबेला पानी घट्टको माग र उपयोगिता पनि थियो । तर अहिले धेरै स्थानमा बिजुली पुगिसकेकाले आधुनिक मेसिन आएको मान बहादुर विकले बताए । पाँच वटा पानी घट्ट नियमित संचालन गर्दै आएका उनले १ बर्ष यता आफ्नै घरका लागि मात्र पानी घट्ट प्रयोग गर्दै आएको बताए । उनले चार/पाँच बर्ष अगाडीसम्म पानीघट्टा चलाएरै उनले मासिक १५ हजार रुपैँयासम्म आम्दानी हुने गरेको समेत बताए ।

‘पहिले–पहिले गाउँभरिको कुटानी पिसानी गरेर मासिक १५ हजार रूपैँयासम्म आम्दानी गरिन्थ्यो,’ उनले भने‘ गाउँलेहरुले पानी घट्टामा कुटानी पिसानी गरेबापत प्रति पाथी पाँच रुपैँया दिन्थे अहिले कोही पनि आउँदैनन् ।’ इस्मा गाउँपालिका-५ को फेदीफाँटमा एकतिर मेसिन र अर्कोतिर पानीघट्ट छ । दुवैमा मानिस कुटानी पिसानी गरिरहेका छन् । आटो पिठो स्वादिष्ट हुन्छ भन्ने मान्यता भएका मान्छेहरु अझै पानी घट्टमै आउने संचालन कृष्ण बिष्टले बताए । तर छिटो छरितो चाहनेहरु मेसिनमै जाने गरेको उनले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला