राजा शुद्धोधनको दरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् सुरु

ZEN Travels

कपिलवस्तु, २६ पुस ।

कपिलवस्तुको तिलौराकोटस्थित बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् सुरु गरिएको छ ।

पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो ।

उत्खननबाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।

जापानी नागरिक कासाईको सहयोगमा गर्न लागिएको उत्खनन् टोलीमा विज्ञ सहभागी छन् । उत्खनन्को काम ५५ दिनभित्र सकिने बताइएको छ ।

तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन् गर्न लागिएको हो ।

उत्खनन्सँग बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गरिने भएको छ । पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् २०१४ देखि उत्खनन् र अनुसन्धानको काम गर्दै आएका छन् ।

यसपटक तिलौराकोट क्षेत्रको उत्खननसँगै केही महत्वपूर्ण बुद्धस्थलहरु तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिया, नवलपरासीको रामग्राममा अध्ययन र अन्वेषण गरिने भएको छ ।

अन्वेषणका क्रममा मेसिन, फिल्ड सर्वेक्षण, भिजिटर सर्वेक्षणलगायतका काम पनि गरिने बताइएको छ ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको छ । यसका लागि आवश्यक प्रमाण र कागजपत्रहरु जुटाउने काम भइरहेको छ ।

उत्खनन् टोलीमा बेलायतको दुर्हम विश्वविद्यालयका विज्ञ, पुरातत्व विभाग र लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका विद्यार्थी पनि सहभागी छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला