खैरो हेरोइन कारोबारको अखडा बन्दै पथरी

ZEN Travels

विराटनगर , माघ १७।

मोरङको पथरी बजार लागूऔषध खैरो हेरोइनको कारोबार गर्ने अखडा बन्दै गएको पाइएको छ।कारोबारमा संलग्नले प्रहरीको आँखा छलेर लामो समयदेखि पथरी बजारलाई मुख्य प्वाइन्ट बनाएर खैरो हेरोइनको व्यापार गर्दै आएको पत्ता लागेको हो।

प्रहरीले खैरो हेरोइनसहित यसको कारोबारमा संलग्न छजनालाई पथरीशनिश्चरे नगरपालिका ७ स्थित विष्णु चोकबाट पक्राउ गरेपछि लामो समयदेखिको लागूऔषध कारोबारका बारेमा खुल्न आएको छ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठका अनुसार पथरीशनिश्चरे ७ का २३ वर्षीय लोकबहादुर राई, २८ वर्षीय सन्देश राई, पथरीशनिश्चरे ९ का ३४ वर्षीय सन्तोष गुरुङ, पथरीशनिश्चरे २ का २१ वर्षीय विकाश राई, २० वर्षीय दीपेश अधिकारी र पथरीशनिश्चरे १ का २३ वर्षीय मोहन गुरुङलाई पक्राउ गरिएको छ।

पक्राउ परेकाहरुको साथबाट ३ दशमलव ४ ग्राम खैरो हेरोइन राखिएको ४१ वटा पोका पनि फेला पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु लामो समयदेखि खैरो हेरोइन लगायतका अन्य खालका लागूऔषधको कारोबारमा संलग्न रहेको पत्ता लागेको जानकारी श्रेष्ठले दिए। ‘पक्राउ परेकाहरु आफै लागूऔषधका सेवनकर्ता पनि हुन्,’ उनले भने, ‘लागूऔषध सेवनसँग कारोबार पनि आफै गर्दा रहेछन्।’ भारतबाट पथरीमा ल्याएर नेपालका विभिन्न भागमा ‘सप्लाई’ गर्ने धन्दामा उनीहरुको संलग्नता रहेको जानकारी प्रहरीले दिएको छ।

annapurnapost.

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला