प्रेमका ४ तह

ZEN Travels

प्रत्येक प्राणीभित्र रहेको नदेखिने तर एकअर्कासँग नजिक हुने कारक तत्व हो प्रेम । प्रेम छ त्यसकारण हामी  छौं । कसैको प्रेमकै कारण हामी जन्मिएका हौं र सारा ब्रह्माण्ड प्रेमको एउटा अनन्त शृङ्खला हो । यदि जीवनमा रस छ भने त्यो पनि प्रेमकै कारण हो र प्रेमकै कारण जीवन जिउनुको मज्जा भएको हो । बुबा–आमासँग, श्रीमान–श्रीमती, साथी–भाइ अथवा कसैलाई खेलकुदसँग प्रेम छ, कसैलाई लेखनसँग प्रेम छ, कसैलाई गायनसँग प्रेम छ तसर्थ प्रेम छ त जीवन छ, प्रेम छैन त जीवन छैन । प्रेम त एउटै हुन्छ तर त्यो प्रेमलाई हामी ४ तहमा विभाजन गर्न सक्छौ‌ं ।

पहिलो तहको प्रेम: स्नेह 
यो प्रेम सहजै हुने प्रेम हो । यस प्रकारको प्रेम वस्तुहरुसँग अथवा आफूभन्दा साना व्यक्तिसँग गरिने प्रेम नै स्नेह अर्थात् पहिलो तहको प्रेम हो । स्नेह गर्न अत्यन्तै सजिलो हुन्छ । यो पहिलो तहको प्रेम हो । यो आफंै बस्छ । वस्तुहरुसँग प्रेम बस्छ, मेरो भइदिए हुन्थ्यो जस्तो लाग्छ । मैले भनेको जे पनि मान्दिए हुन्थ्यो भन्ने लाग्छ । यो प्रेम बडो सजिलो हुने भएकै कारण यो प्रेम सबैभन्दा धेरै देख्न पाइन्छ । यो प्रकारको प्रेम मनुष्यले मात्र होइन पशुपक्षी, जनावरहरुले पनि आफ्ना सन्तानलाई गर्छन् । स्नेह अत्यन्तै प्राकृतिक प्रेम हो ।

दोस्रो तहको प्रेम: प्रीति 
आफू समानको सँग हुने प्रेम नै प्रीति हो । जस्तो पति–पत्नी, साथी–भाइ, एउटै संस्थाका सहकर्मीहरुसँग हुने प्रेम नै प्रीति हो । स्नेह एकदमै सजिलो हुन्छ प्रीति अलिक गाह्रो हुन्छ । प्रीति गाह्रो हुनुको कारण यस तहको प्रेम गर्दा अरूको कुरा नबुझिकन, उसलाई आत्मसाथ नगरिकन, उसलाई प्रेम गर्न सकिन्न । जति अरूको कुरालाई मूल्यमान्यता दिइन्छ, अरूको भावनाको कदर गरिन्छ उति बढी प्रीति बस्छ । ठीकसँग प्रीति गर्नका लागि व्यक्ति धेरै विकसित भएको हुनुपर्छ । जो व्यक्तिको जीवनमा प्रीति जन्मेको हुँदैन उसले आफू समानको सँग प्रेम गर्नै सक्दैन र श्रीमान–श्रीमतीबीचको सम्बन्ध पनि त्यति राम्रो हुन सक्दैन । यस तहको प्रेममा कम प्राकृतिक र हार्दिकता बढी हुन्छ । समानसँगको प्रेम हुनै पर्छ भन्ने जरुरी छैन । तर आफू समानको सँग प्रेम गर्दा जीवनमा जे गर्न खोजेको हो त्यो काम गर्न सकिन्छ । प्रेममा आधारित सम्बन्ध मात्र काम लाग्छ । लेनदेनमा आधारित सम्बन्ध गहिरो हुँदैन । जस्तो हामीले कसैसँग तरकारी किन्यौं तर तरकारी किनेपछि त्यो मान्छे जान्छ । हामीलाई त्यो मान्छेको कुनै सरोकार हुँदैन तसर्थ हामीलाई तिनीहरुसँग प्रेम हुँदैन । प्रेममा आधारित सम्बन्धले नै प्रीति जन्मिन्छ ।

तेस्रो तहको प्रेम: श्रद्धा/सम्मान 
यो तहको प्रेम बडो समझदार व्यत्तिले मात्र गर्न सक्छ । जो पायो उसले सक्दैन । हामीले माता–पितासगँ प्रीति गर्दनौ । श्रद्धा÷सम्मान गर्छौं । यो तहको प्रेममा गुण दोष केलाउन थाल्दैनौ । आफ्नै लागि गरेको होला भन्ने बुझ्छौं । उनीहरुप्रति आदर गर्छौ। गुरुहरुप्रति पनि यही प्रेम भाव उत्पन्न हुन्छ । आजभोलि यो तहको प्रेम अत्यन्तै कम देखिन्छ । बुबा आमालाई वृद्धाश्रममा पठाउने, उहाँहरुको स्याहार–सुसारमा ध्यान नदिने देखिन्छ । यो मानसिकता भनेको श्रद्धाको अभाव भएको हो । आफूभन्दा ठूलाबडासँग प्रेम गर्न नजानेपछि सम्बन्ध बन्दैन । जसले आफूभन्दा मान्यजनसँग प्रेम गर्न सक्दैन, सम्मान गर्न सक्दैन त्यो व्यत्तिले जीवनमा महत्वपूर्ण केही गर्न सक्दैन । सम्मान गर्नाले हामीमा एक किसिमको उर्जा मिलिरहेको हुन्छ । श्रद्धाले जीवनमा उर्जा मिल्छ । जीवनलाई सहजताको साथ स्विकार्ने शक्ति मिल्छ ।

चौथो तहको प्रेमः भक्ति 
कुनै दिन व्यक्तिलाई जीवनमा के हुन सक्छ भने सबैप्रति प्रेमको भाव जागृत हुन्छ । कुनै व्यक्ति विशेषमा मात्र होइन सबै प्राणीप्रति प्रेम भाव रहेको हुन्छ । यही भक्ति प्रेम हो । भक्ति भनेको कुनै देवीदेवतासँग भनेको होइन । हृदयमा भक्ति जागेको व्यक्तिमा जुनबेला पनि प्रेमभाव हुन्छ  । प्रेम दिनुमा मज्जा हुन्छ, लिनु महत्वपूर्ण हुँदैन । प्रेममा त व्यक्तिले आफ्ना सबै कुरा दिन मात्र चाहन्छ । जस्तो आमाले आफ्ना बच्चालाई गर्ने प्रेम हो । जुन प्रेममा अपेक्षा केही हुँदैन । कोही व्यक्ति भक्तिको अवस्थामा पुग्यो भने संसारलाई सक्दो फाइदा पुग्छ । जस्तै भगवान् बुद्ध,  कृष्ण, मदर टेरेसा आदि । यो सबैभन्दा माथिल्लो दर्जाको प्रेम हो । प्रेम त प्रेमै हो । आफूले प्राकृतिकरूपमा मात्र प्रेम गर्ने कि अझ बढी विकसित गराउँदै भक्तिसम्म पुग्ने आफूमा भर पर्छ ।

परिवारको मूल मियो नै प्रेम हो । जुन परिवारमा प्रेम छ त्यो परिवारले अद्भुत् प्रगति गर्छ । किनभने प्रेमको माहोलमा स्वतन्त्रता एकदमै सजिलो हुन्छ । प्रेमले कहिल्यै बाँध्दैन । व्यक्तिलाई प्रेमले स्वतन्त्र गर्छ । अंग्रेजीमा ‘फलिङ लभ’ भन्ने भनाइ नभई ‘राइजिङ लभ’ हुनुपर्ने हो । हामी जसलाई प्रेम गर्छौं उसका सबै माग पूरा गरिदिन्छौं । उसलाई माया गर्छांै । आफ्नो गाँस काटेर पनि खुवाउँछौं । स्वतन्त्र अनुभव गर्न सकोस् भन्ने सोच्छौं । प्रेम एक मात्र स्वतन्त्रताको रक्षक हो । घरमा भएको प्रेमको क्रान्ति राजनीतिक क्रान्तिभन्दा ठूलो हो । प्रेम लिन र दिन पाइयोस् भनेर नै विवाहको सुरुवात भएको हो । परिवारमा प्रेमको माहोल बनाउनेबित्तिकै परिवारका सदस्यमा शारीरिक र मानसिकरूपमा स्वस्थ हुन पाउँछन् ।

अहिलेको पुस्ताले प्रेमलाई त बुझेको छ तर सीमित दायराभित्र राखेर बुझेको छ । विनाआकांक्षा प्रेम गरोस् । दोस्रो प्रेम दिन जानोस् । तेस्रो प्रेम  गरेको कुरामा निरन्तर डुबोस् ।  (लेखक पोखरा विश्वविद्यालयका  प्राध्यापक एवं जीवन विज्ञान विशेषज्ञ हुन्।) nagarik

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला