मधेश दर्पण

ZEN Travels

यथास्थितिवाद र परिवर्तनको आवाज
– उपेन्द्र झा
हिमाल र पहाडको भौगोलिक विकटताले भरेको नेपाली भूभागमा अन्न उत्पादन क्षेत्र थपिने इच्छाले तत्कालीन सरकारले भारतको बढ्दो अँग्रेजी सरकारको प्रभाव अगाडि आत्मसमर्पण गरेका कारण तथा भारतमा इस्टइण्डिया कम्पनीको सरकार विरूद्ध उठेका विद्रोहहरूलाई सैन्य बलबाट दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अँग्रेजी सरकारलाई सघाए बापत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मधेश भनिने तराईको समथर भूभाग कृषि उत्पादन गर्न प्रतिवर्ष रोयाल्टी तिर्ने गरी प्राप्त गरेको हो । दुई किस्तामा नेपालको उक्त भूभाग अन्न उत्पादनका लागि प्राप्त गरेको कुराबाट एउटा कुरा के प्रष्ट हुन्छ भने रोयाल्टी तिरेर भाडामा लिएको भूभाग माथि नेपालको स्वामित्व शताब्दियौंसम्म हुन सकेन । भाडामा पाएको भूभाग जसरी शासकवर्गका लागि आफ्नो हुन सकेन र मधेशका निवासीहरू पनि शताब्दियौं गुलाम सरहको जीवन बिताउन बाध्य भए । भावनात्मक रूपबाट मधेशलाई शासकवर्गले स्वीकार गर्न नसकेका कारण मधेश शताब्दियौंसम्म वञ्चितीकरणको शिकार भयो ।
मधेशको भूभाग माथि स्वामित्व जमाउन शासकवर्गले ठूलठूला जमिन्दार सामन्तहरूलाई मधेशमा बस्न लगायो । बिर्ताको नाममा ठूलठूला सामन्तहरू मधेशमाथि राज गर्न तथा आफ्नै वर्गका हजारौं पहाडका बासिन्दालाई मधेशमा बस्न लगायो । राज्यबाट वञ्चित राखिएका मधेशका बासिन्दा विस्तारै यी जमिन्दारहरूको गुलाम भएर बस्न बाध्य बनाइए । राज्य संयन्त्रसँग दिनचर्याका लागि आवश्यक पर्ने कामहरूका लागि यही जमिन्दारलाई गुहार्नु पर्ने परिस्थितिमा लामो समय बस्नु पर्दा विस्तारै मधेशमा चाप्लुसी, चाकडी गर्ने प्रथाको सुरूवात भयो । शासकवर्गको चाकडी, चाप्लुसीको भरमा कतिपय मधेशीहरू उच्च ओहदामा पुगे । गुलामी र भक्तिका कारण मधेशीहरू हरेक क्षेत्रमा कर्मचारी, न्याय क्षेत्र, वकिल, न्यायाधीवक्ता तथा अन्य उच्च ओहदामा पुग्न सफल भएपछि यही सूत्र मधेशको संस्कार बन्यो । चाकडी संस्कारमा बसेको मधेशीलाई यही खस शासकवर्ग सत्ता प्राप्त गर्न राजतन्त्र र प्रजातन्त्र तथा राजतन्त्र र सर्वहाराको आधारभूत अन्तर्विरोधबारे जनचेतना फैलाउँदै संगठनको कडीमा बाँध्न थाले । नेपाली कांग्रेसले पहिला प्रजातन्त्रबारे प्रशिक्षण दिई रहँदा कम्युनिष्ट पनि तत्पश्चात् जन्मेर संगठन गर्ने क्रममा जनतामाझ सर्वहाराको सत्ता प्राप्त गर्न तथा यसको महत्वबारे प्रशिक्षण दिन थाले । मधेशी जनता केहीले नेपाली कांग्रेसलाई तथा धेरै जसोले कम्युनिष्टको सर्वहारा सत्तावादप्रति आकर्षित भए । शताब्दियौं चाकडीको संस्कारको क्रम भंग हुन थाल्यो । मधेशी जनताले तथाकथित प्रजातान्त्रिक आन्दोलन (२००७, २०३६, २०४२ तथा २०६२÷६३) को भीषण आँधी बेहरीमा भाग लिएर उल्लेखनीय सहादत दिए तर मधेशको आवाज सम्बोधन भएन ।
राजनीतिक जनचेतनाको तीव्रतर वृद्धि भइरहेको मधेशी समाज अब अन्तर्विरोधका किसिमहरू, अन्तर्विरोध राखिने कारण तथा मधेशीको बढ्दो जनसंख्यालाई ध्यानमा राख्दै नियन्त्रण गर्ने समसामयिक मार्गचित्रहरूबारे तार्किक छलफल गर्न थाले । आफ्नो अधिकारबारे वकालत गर्न खस पार्टी त्याग गरेर आफ्नै पार्टी निर्माण गरी मधेशको आवाजलाई मुखरित गर्ने अठोत लिए । फलतः लोकतन्त्र र साम्यवादको बकम्फुसे परिभाषालाई विश्वास गर्न छाडेर मधेश आफ्नै बलबुतामा अधिकार लिने भनेर ०६३ माघमा विद्रोह गरेको हो ।
कम्युनिष्ट, कांग्रेसको नाउँमा अधिकार दिलाउने भनेर मधेशीलाई विभाजित गरी झुक्याउने खस शासकवर्गले दिएको जनचेतनाले आफ्नो वर्गशत्रुको पहिचान गर्न मधेश सफल भएको हो । मधेशको बढ्दो जनसंख्या र जनचेतनाबाट भयभीत शासकवर्ग मधेशलाई नियन्त्रण गर्न अनेक तिकडम्को आविष्कार गर्न थाले । समय सुहाउँदो तिकडम्कै एउटा रूप अहिलेको संघीय संरचना हो । मधेशले माग गरेको संघीय संरचना बमोजिम मधेशलाई छ टुक्रा गरी संघीय प्रणाली दिएर विश्वलाई लोकतान्त्रिक उदारवादको ठूलो नमूना देखाउन खस शासकवर्ग सफल भएको छ । मधेशले माग गरेको “समग्र मधेश एक प्रदेश” आफ्नो अस्तित्वसँग जोडिएकोले त्यो दिन रूचाएन तर मधेशलाई चार भागमा विभाजित गरिदिएको संघीयताबाट मधेशको यावत् समस्या समाधान हुन सकेनन् । यथार्थ भने छर्लङ्ग छ । यही हो “फुट डालो, शासन करो” को नयाँ आविष्कार ।
भोजपुरी, अवधि, मिथिला र कोचिलाबीच अन्तर्विरोध चर्काउने उद्देश्यले गरिएको प्रदेशको संरचना मधेशको विरोधका बाबजुद पाँच दर्जन मधेशीको ज्यान लिएर बन्दूकको बलमा लागू गरियो । मधेशका राजनीतिक दलहरू शासकवर्गको बल र पैसाको दोबाटोमा फँसेर अडानबाट स्खलित भए । शासकवर्गका लागि यो ठूलो उपलब्धि थियो । अहिले मधेश छ प्रदेशमा बाँडिएर बसेको छ । मधेशको समग्र एकता टुटेको छ । सबै प्रदेश आफ्नो नियन्त्रणमा राख्ने शासकवर्गको संघीय ढाँचा करिब करिब सफल नै देखिएको छ । मधेशको भावना पनि नव प्रदेशको शासन प्रणाली हेर्न उत्सुक रहेकोले बाँडिएको छ । आगामी दिनमा बाँडिएर भए पनि मधेशको हक अधिकार तथा समग्र विकासप्रति केन्द्र र प्रदेश सरकार कति चनाखो छ हेरेर बाटो तय गर्ने मधेशले आकांक्षा लिएको छ ।
राजतन्त्र, लोकतन्त्र र कम्युनिष्टको साम्यवाद सबै दर्शनको वकालत गर्ने खस शासकवर्गले मधेशलाई हेर्ने दृष्टिकोण एउटै राखेको छ । यसलाई मधेशले प्रष्ट रूपमा बुझेर आफ्नै राजनीतिक धरातलबाट विद्रोह गरेको हो । दुई फरक राष्ट्रियताबीचको चर्को अन्तर्विरोधलाई तत्काल आवाजविहीन बनाइए पनि यसको पुनश्चः शंखनाद हुनेमा किंचित शंका छैन । शासकवर्ग र मधेश आमने–सामने भएको अवस्थालाई मधेशले आफ्नो ठूलो उपलब्धि ठानेको छ । प्रमुख दुश्मनको रूपमा रहेको खस शासकवर्ग विभिन्न दर्शनको व्याख्या गर्दै रूप परिवर्तन गर्दै गएकोले मधेशले यसको छद्मभेषलाई सजिलैसँग पहिचान गर्न सक्ने क्षमता राख्दछ ।
फुटाएर शासन गर्ने रणनीति समय सापेक्ष परिष्कृत गरी लोकतान्त्रिक उदारवादको जामा लगाएर पस्किने प्रक्रियालाई पनि मधेशले राम्ररी बुझेको छ । मधेशलाई निस्तेज गर्ने रणनीतिमा नित्य नविन तिकडम्बाट मधेशका दलहरूलाई पथभ्रष्ट पारि मनोवांछित प्रादेशिक संरचना बनाएर संवैधानिक मान्यता दिलाउन जुन प्रयास गरियो, मधेश पछाडि परेको अवश्य हो तर मधेशले माग गरेको हक अधिकार सुशुप्तावस्थामा गएको मात्र हो, समाप्त भएको छैन । संघीय संरचनामा खस शासकको शासन शैलीमा नै पुनश्चः मधेश आन्दोलनलाई संगठित गर्ने कारण बन्न सक्छ ।
खस राष्ट्रियतालाई कथम्पि स्वीकार नगर्ने मधेशले पुनश्चः चाकडी संस्कारभित्र संगठित हुन जाँदैन । अहिले आन्दोलनको लगाम टुटिसकेको अवस्थामा पराजित मानसिकताको अन्योलग्रस्त परिस्थिति देखिए पनि राजयमाथि समग्र मधेशको प्रहार भने जीवितै छ । मधेशको बढ्दो जनसंख्या र पराक्रमले आफ्नो राष्ट्रिय स्थापना गर्न सतत् संघर्षशील रहने कुरा स्पष्ट छ ।
मधेशी जनता कम्युनिष्ट र कांग्रेस दुवै खेमामा लामो समय योगदान गरेर पनि भेदभावबाट मुक्त हुन सकेन । खस शासकबाट मधेशको मुक्ति सम्भव छैन भन्ने कुरा प्रायोगिक रूपमा सत्यापन भएकोले राजनीतिक कार्यदिशा छर्लङ्ग भएको छ । अहिले पराजित मानसिता भोगिरहेको मधेशका कतिपय अवसरवादीहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमा प्रवेश गरी चुनाव जितेर आएका छन् ।
मधेश विद्रोह पश्चात अवसरवादीहरू बढी क्रान्तिकारी बनेर पार्टी कब्जा गरे । मनोवांछित अवसर प्राप्त गरे । धन कमाए । मधेश आन्दोलनलाई बेचेर खाए । मधेशको मुक्ति आन्दोलनलाई गुमराह बनाए । पछि आफै भागेर खस शासकवर्गको शरणमा पुगे । यस्तो शर्मनाक दृश्य पनि हाम्रो सामु छ । तर राष्ट्रियस्तरमा रहेको मधेशको अन्तर्विरोधमा किंचित परिवर्तन देखिएको छैन । राज्यको पुरानो संरचनालाई ध्वस्त पारि मधेशले आफ्नो राष्ट्रियता स्थापना गर्ने मूल गन्तव्य कायम छ । भावनात्मक रूपमा चार प्रदेशमा विभाजित गरेको मधेशीलाई मधेशी राष्ट्रियता स्थापना गर्न समान दृष्टिकोण रहेको छ । यसमा कुनै शंका छैन ।
तसर्थ, मधेश आन्दोलनलाई गुमराह पार्ने मधेशका यथास्थितिवादी चरित्रको पहिचान गरी गन्तव्यको बाटोबाट विस्थापन गर्ने लक्ष्य तय गर्नै पर्दछ । अवसरवादी प्रवृत्तिलाई परास्त नगरून्जेल मधेश आन्दोलन गन्तव्यमा पुग्न सक्दैन भन्ने कुरा यो दशकको राजनीतिक अभ्यासले देखाइसकेको छ । आन्दोलनकारीहरूले प्रधान अन्तर्विरोधलाई बिर्सनु हुँदैन । आगामी दिन पनि विषम्ताले भरिएको हुने सम्भावना देखिएकोले मधेश आन्दोलनको औचित्य त्यसै साबित हुने प्रष्ट छ । प्रदेश नम्बर दुईमा बाहेक अन्य प्रदेशमा बामगठबन्धनको सरकार निर्माण भईरहेको अवस्थामा राजपा र फोरम मिलेर प्रदेश नम्बर २ लाई समृद्ध बनाउन आवश्यक देखिन्छ । (मधेश दर्पण फिचर सेवा)

प्रेम भावमा रङ्गीने पर्व हो होली

– धीरेन्द्र प्रेमर्षि
होलीे आनन्द र उत्साहको पर्व हो । मनभित्रका विभिन्न वैमनश्यलाई पखालेर आत्मीयताको न्यानोपनमा बाधिने पर्व हो होली । यो यहि रूपमा मनाइँदै आएको छ र मैले पनि यहि रूपमा नै मनाउँदै गरेको छु ।
हिन्दु सभ्यतामा मनाइने जति पनि चाडपर्वहरू छन् ती सबैको पृष्ठभूमीमा सामान्यतया केही किम्बदन्तीहरू जोडिएका हुन्छन् । त्यसमा असत्यमाथि सत्यको विजयको चर्चा गरिएको हुन्छ । यसमा भक्त प्रह्लादलाई उसका बाबु हिराण्यकश्यपुले सत्यबाट जोगाउन खोज्दा पनि नसकेपछि आफ्नै बहिनी होलीकाको काखमा राखेर भस्म पार्न खोज्दा होलीका नै भस्म भई सत्यको विजय भएको कुरा हामीले किम्बदन्तीहरूमा पाउन सक्छौँ । यी र यस्ता विभिन्न कथाहरू जोडिएका हुन्छन् । खासमा भन्ने हो भने त्यसलाई सत्यतामा पगाल्ने संयन्त्रता हामीमा छैन । यी कथाहरू त हामीले विश्वास गर्दै आएका हौँ । हेर्नुपर्ने के छ भने त्यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ । समाजलाई एउटा सकारात्मक दिशातर्फ लैजाने क्रममा अलिखित प्रकृतिको प्रावधान समाजका ज्ञाताहरूले बनाएका हुन्छन् । त्यसै क्रममा यी चाडपर्वहरूले पनि यहि कुराको संकेत गरिरहेको हुन्छ । नराम्रो पक्षलाई पन्छाउने र राम्रो पक्षलाई अगाल्ने । यो पनि त्यसकै एउटा उपक्रम हो जस्तो मलाई लाग्छ । वर्षभरी हामी कामकाजमा लागिरहेका हुन्छाँै त्यसलाई छोडेर एक ठाउँमा बसेर एकआपसमा उल्लासका साथ रमाईलो गरौँ भन्ने सामान्यता मान्यता यही नै हो । मिथिलाको सन्र्दभमा भन्नुहुन्छ भने मिथिला कृषिप्रधान क्षेत्र भएकाले त्यहाँका मानिसहरू कहिले पनि खाली बस्दैनन् । कृषिकर्मबाट फुर्सद मिल्यो कि कुनै न कुनै चाडपर्वको बाहनामा त्यसलाई सक्रिय तुल्याइहाल्छन् । यो होली पर्व पनि त्यही किसिमको हो । महत्वपूर्ण कुरा त आत्मियताको कुरा छ, संगीतात्मक कुरा छ, त्यो सबैभन्दा पहिले मनभित्र रहेका मैलहरू छन्, पहिले शरीरमा रंग दल्ने र रंगसँगै मनको मैला पनि पखालेर लैजाने । त्यो उत्सवको रूपमा मनाईदै आइरहेको मैले महसुस गरेको छु ।
सबै ठाउँमा होलीको आ–आफ्नै महत्व छ । वास्तवमा भन्नुपर्दा यसलाई उल्लासकै रूपमा मनाइन्छ । पछिल्लो समय मैले मिथिलाको संस्कृतिलाई सुक्ष्म रूपमा हेर्ने प्रयास गर्दैछु । यस क्रममा मैले के देखे भने या पर्वमा उल्लास त छँदै छ अझ प्रेम, समाज सुधार, हामीले मान्दै आएका देवतालाई पूजा गरेर नै हामीले होली पर्वको सुरुवात गर्छौँ । यस किसिमको आस्था र विश्वास रहेको छ । होली पर्व भनेको रंग लगाउने, भाङ धतुरो खाने पर्व मात्र नभई ठूलाको हातबाट टीका लगाएर आशिस लिने, प्रेम र सद्भावको पर्व पनि हो । यो एउटा सांगातीक पर्व पनि भएकाले मिथिलामा एकदम सभ्यताकासाथ वसन्त पञ्चमीदेखि नै होलीका गीतहरू गाउने गरिन्छ । त्यस गीतमा रामरमिताका कुराहरू भन्दा पनि जीवनभर भोगिने दुःख सुखका, अध्यात्म तथा धार्मिक कुराहरू पनि ल्याइन्छन् । त्यस्ता किसिमका गीतहरूले पनि वसन्त पञ्चमीदेखि फागुनसम्म विशेष महत्व पाएको हुन्छ भने घरआँगनमा गृहणीले जुन किसिमको गीतहरू गाउँछन् त्यस गीतले पनि माघ र फागुन महिनामा विशेष स्थान पाएका हुन्छन् । नवविवाहका गीतहरूमा पनि फागु गीत आएको हुन्छ । यस समयमा सम्पूर्ण मिथिला क्षेत्रमा फागुले गहिरो आत्मियताको रंग घोलेको हुन्छ ।
होलीको ऐतिहासिकता बारे यही नै हो भन्न सकिँदैन । हुन त माथि होलीकाको प्रसंग उल्लेख गरियो । भगवान रामचन्द्रजी ससुराली आउँदा खेलिने होली, कृष्णले गोपिनीहरूसँग खेल्ने होलीको चर्चा गरिन्छ । यहिँबाट नै होलीको सुरुवात भएको हो भनेर भन्न सकिदैन । हिराण्यकश्यपु र प्रह्लादको कथा नै सबैभन्दा बढी प्रचलित हो । समग्रमा भन्नुपर्दा यसलाई आत्मियताकै पर्वको रूपमा लिनुपर्ने हुन्छ ।
होलीका गीतहरू जीवनका कुनै पनि पाटोसँग अछुतो छैनन् । प्राय अध्यात्मसँग नै जोडिएको हुन्छ । जीवनमा भोग्ने जति पनि समस्या छन् तिनीहरूलाई समाधान गर्ने तर्फ पनि केन्द्रित छन् भने केही रमाइलोका लागि पनि गाउने प्रचलन छ तर त्यो पनि सस्तो मनोरञ्जनात्मक नै हो । पछिल्लो समयमा भोजपुरी भाषामा केही अश्शील प्रकृतिका गीतहरू बढि बन्न थालेको र त्यसले झन् प्राथमिकता पाउन थालेकोले त्यसको असर मिथिला क्षेत्रमा पनि देखिन्छ । सबै गस्तहरू अश्शील प्रकृतिका पनि छैनन् । कतिपय होलीकै गीतहरू अति नै राम्रा पनि छन् । भोजपुरीको सांगीतिक परम्परा आफैमा समृद्ध छ तर पछिल्लो समयमा भोजपुरी गीत भन्नासाथ त्यसको नकारात्मक छवि मिथिला क्षेत्रमा पनि देखिदै आएको छ । सबैभन्दा ठूलो कुरा हो मंगलकामना । हुन त पर्वहरू व्यक्तिगत आनन्दका लागि मनाइन्छ तर आफ्नो लागि मात्र नभई आफू बस्ने गाउँ, समाज, छरछिमेकले पनि उन्मुक्तका साथ चाडपर्वहरू मनाउँछन् । जीवन भन्ने कुरा आज छ भोली नहुन पनि सक्छ । त्यसैले हामी जति बाँच्छौँ त्यस समयको सदुपयोग ग¥यौँ, प्रेम बाँडौँ । घृणा पस्किने समय त जति पनि समय छ । प्रेम महत्वपूर्ण हो ।
मिथिला क्षेत्रमा गाइने जोगिरा, होलीका गीतहरू लोप नै त भइसकेको छैन तर कमी भने पक्कै आएको हो । कमी कसरी आएको छ भने जुन अविछिन्न परम्परा हुन्छ, त्यो परम्परालाई सामाजिक रहन सहनले सामाजिक व्यवस्थामा आएको परिवर्तनले असर पु¥याइ रहेको हुन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा माओवादी द्वन्द्वकालमा साँझमा बसेर गीत गाउन नै नसक्ने स्थिति बनाइदियो । त्यसले पनि अलिकति प्रभाव पारेको छ । जबसम्म मान्छे जुट्ने भएनन् तबसम्म गीत गाउने कुरै भएन । त्यसले धेरै हदसम्म बाधा पु¥यायो । अब मान्छेहरू कृषि कर्म छोडेर विदेश पलायन हुनेको संख्या दिनानुदिन बढिरहेको छ । यसले गर्दा गाउँमा सिर्जनशील युवाहरूको संख्या घट्दो क्रममा छ । गाउँमा बुढाबुढी मात्र भएकोले यस्ता गीतहरूलाई निरन्तरता दिन सकिरहेका छैनन् । यी दुईटा प्रमुख कारण हो । यस्ता विविध कारणहरू भएपनि सिर्जनशील मनहरू थाकेका छैनन् । अहिले पनि जिवित नै छ ।
होली मनाइने तरिकामा फरकपना त आए कै छ र यो स्वभाविक पनि हो । यो सांगीतक पर्व भएकाले गीतहरू त गाउँछन् तर आजभोली फिल्मका गीतहरूले ठाउँ पाउन थालेका छन् । फिल्मका गीत व्यापक भइसकेपछि एउटा प्रदेशबाट अर्को प्रदेशमा जान थालेका छन । पहिले जस्तो आफ्नै गाउँ ठाउँमा गरिने सिर्जनशील गीतहरू भने आजभोली हराउँदै गएको छ । अर्को कुरा के छ भने आजभोली होली भन्ने बित्तिकै खाने, रमाउने, होहल्ला गर्ने हो भन्ने मानसिकता पालेका हुन्छन् तर होली एकआपसमा प्रेम भावमा रंग मनाउने पर्व हो । (मधेश दर्पण फिचर सेवा)

पर्यटनको सम्भावना र समृद्धिका आधारहरू
–संगीता रेग्मी
विश्वका हरेक देशका भौगोलिक वनोट, सांस्कृतिक अवस्था, हावा, पानी, खाना, जीवनशैली आदि आफ्नै प्रकारका हुन्छन् । एक देशको विभिन्न अवस्थासँग अर्को देशको समानता पाइँदैन । यस्तै प्रकारका आफ्नो विशिष्ट खालको पहिचान र अवस्था भएको रमाइलो देश नेपाल हो ।
नेपाल यस्तो मुलुक हो, जहाँ विश्वका जुनसुकै मुलुकबाट आएका पर्यटक एक पटक पाइला टेकेपछि उनीहरू यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरूबाट प्रशंसनीय प्रतिक्रिया व्यक्त भएको पाइन्छ ।
पर्यटकहरू केवल घुम्न मात्र आएका हुँदैनन् त्यस ठाउँवाट उत्पादित वस्तुहरू चिनोको रूपमा पनि लैजान्छन् जसबाट ती पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा थप टेवा पुग्छ ।
मधेशको पर्यटन
यहाँ प्रदेश नम्बर २ को पर्यटनको चर्चा गरिएको छ । ८ वटा जिल्ला मिलेर बनेको प्रदेश २ पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य स्थल हो । प्रदेश २ सामाजिक विविधता र जनसंख्याको घनत्व अधिक रहे पनि मानव विकास सूचकांकको आधारमा अन्य प्रदेशभन्दा निकै पछाडि रहेको छ ।
९,६६१ वर्ग किलोमिटरमा फैलिएको प्रदेश २ मा करिब ५४ लाख जनसंख्या रहेको छ । यस प्रदेशमा रहेका जनताको प्रतिव्यक्ति आम्दानी ९६७ डलर छ । यो अन्य प्रदेशको तुलनामा न्यून हो । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, आम्दानी लगायतका क्षेत्रमा यो प्रदेश कमजोर छ ।
दुई नम्बर प्रदेश सामाजिक र आर्थिक पूर्वाधार विकासमा निकै कमजोर रहेको छ । राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार प्रदेश नम्बर २ मा गरिबी दर उच्च रहेको छ । प्रतिवेदनका अनुसार यो प्रदेशमा ४७.९ प्रतिशत गरिबी रहेको छ । गरिबी, बेरोजगारी र अशिक्षा यस प्रदेशका मुख्य समस्या हुन् ।
विभिन्न समस्याहरूको माझामा पनि प्रदेश २ मा मानवस्रोत, प्राकृतिक स्रोत, पर्यटकीय सम्भावना, कृषि, धार्मिक पर्यटनजस्ता थुप्रै सम्भावना छन् । त्यसैले यो प्रदेश साधन र स्रोतका हिसाबले धनी छ । प्रदेश २ को पर्सा पर्यटकीय सम्भावना बढी भएको जिल्ला हो । पर्सामा वन्यजन्तु आरक्ष छ । पर्सा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुलाई वन पर्यटनका रूपमा अघि बढाएर स्वदेशी तथा विदेशी पर्यटकलाई जंगल सफारी गराउने प्रचुर सम्भावना छ । वीरगन्जको घडिअर्वा पोखरी पर्यटकको मन लोभ्याउने अर्को आकर्षक पर्यटकीय स्थल हो ।
बाराको गढीमाई मन्दिर धार्मिक पर्यटनका लागि महत्वपूर्ण देवस्थल हो । यहाँको रतनपुर जंगल प्रमुख पर्यटकीय स्थल हो । रौतहटका शिवनगर मन्दिर, बडेवाताल, राजदेवी मन्दिर सुन्दर पर्यटकीय स्थलहरू हुन् । सर्लाहीका सागरनाथ, बाबाधाम, हरिहर महादेव पनि प्रमुख पर्यटकीय स्थल हुन् ।
उता महोत्तरीको जलेश्वरनाथ महादेव यस क्षेत्रकै प्रमुख धार्मिक स्थल हो । जलेश्वरनाथ महादेवस्थललाई मिथिलाको प्रवेशद्वार मानिन्छ । बानेश्वरनाथ महादेव बाबा, पडौलको कारिक बाबा, कञ्चनवन, ध्रुवकुण्ड, गिरिजास्थान, मालिवारा, माईस्थान, सिद्धिनाथ मन्दिर, सोनामाई स्थान, टुटेश्वरनाथ महादेव, रौजा मजार, मंगलनाथ महादेव, मटिहानी आदि पर्यटकीय तथा धार्मिक स्थल हुन् ।
जनकपुरको रामजानकी मन्दिर विश्व प्रसिद्ध छ । यो विश्वकै हिन्दु धर्मावलम्बीका पवित्र तीर्थस्थल हो । यहाँको दुलहा–दुलही मन्दिर, जनक मन्दिर पनि आकर्षक पर्यटकीय स्थलहरू हुन् ।
जनकपुर कुण्डै कुण्डले भरिएको शहर पनि होे । धनुषसागर, गंगासागर, विहारकुण्ड, अग्निकुण्ड, ज्ञानकुप, अंगराज सरोवर, दशरथ सागर, गोरधोई, पापमोचन सर, छत्रधारिणी पोखरी, देवान पोखरी, डबरा पोखरी, पापमोचनीसर, पुण्यधन सर, वाल्मीकि सर, भुतही पोखरी, मुरलीसर, रामसागर, लक्ष्मणसर, सीताकुण्ड, सूर्यकुण्ड, विषहरा पोखरी, महाराज सागर, रूकमिणी सर, पार्वती सर, विडाल सरजस्ता धार्मिक स्थल जनकपुरमै ै छन् । यो सहरको रामायणकालीन सभ्यताले पनि पर्यटनलाई लोभ्याउँछ ।
सिरहाको सलहेश फूलबारी, बालासुन्दरी भगवती, राजदेवी मन्दिर धार्मिक पर्यटनका केन्द्र हुन् । सप्तरीका छिन्नमस्ता, सखडेश्वरी भगवती चर्चित धार्मिक गन्तव्य हुन् ।
पर्सादेखि सप्तरीसम्म रहेका धार्मिक स्थलहरूलाई धार्मिक ‘पर्यटन जोन’का रूपमा विकास गरे पर्यटक भित्र्याउन सकिने जानकारहरू बताउँछन् ।
यो प्रदेश चारवटा विमानस्थलले जोडिएको छ । राजधानी जोड्ने मुलुककै छोटो काठमाडौं–निजगढ दु्रतमार्ग र निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल यो प्रदेशको सबैभन्दा ठूलो सम्भावना हो । मुलुककै आर्थिक केन्द्र पथलैया–वीरगन्ज करिडोर जहाँ हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् । मुलुककै आर्थिक केन्द्र वीरगन्ज भन्सार यही छ भने देशकै सबैभन्दा ठूलो चारकोशे झाडी पनि यही प्रदेशमा रहेको छ ।
यहाँ रहेको सम्भाव्यता बुझेर उपयोग गर्न सके र यस प्रदेशमा राज्यले थोरैमात्र मेहनत गर्ने हो भने अन्य प्रदेशको तुलनामा प्रदेश २ बाट पर्यटन व्यवसायले बढी आम्दानी लिन सक्ने अवस्था छ । भौगोलिक सहजताले उद्योग, कलकारखानाका लागि यो प्रदेश उपयुक्त छ भने खेतीयोग्य जमिनको भरपुर उपयोग गर्न सके धनी प्रदेशको रूपमा उदाउन सक्ने प्रशस्त सम्भावना रहेको छ ।
संघीय व्यवस्थामा गएको नेपालमा अहिले यो व्यवस्था धान्ने गरी स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने बहस चुलिएको छ । खासगरी आर्थिक रूपमा आत्मनिर्भर नभइसकेका प्रदेश र स्थानीय तहलाई लामो समय केन्द्रले नै अनुदान दिर्नुेपर्ने भए संघीयता नै नटिक्ने हो कि भन्ने आशंका पनि सुरू भएको छ । तर प्रदेश २ ले आफूसँग भएको पर्यटकीय प्रचूरतालाई पनि ध्यान दिने हो भने यसबाट मनग्यै लाभ र फाइदा लिन सक्छ ।
अब ‘अतिथि देवो भव’को मन्त्र जपेर मात्र नेपालमा पर्यटक भित्रिने छैनन् । हामी सबैले आफ्नो दैनिक व्यवहारमा पर्यटकलाई पृथक रूपमा नेपालीपनको सेवा दिने शैलीमा परिवर्तन गर्न जरूरी छ । अब हामीले पर्यटनको पनि संघीय संरचना तयार गर्न सक्नुपर्छ । यसमा जति ढिलाइ हुन्छ, क्षेत्रीय तथा विश्व प्रतिस्पर्धाबाट हामी त्यति नै पछि पर्न सक्छौं । (मधेश दर्पण फिचर सेवा)
थाती रहेका मुद्दासँगै विकासका सवाल
– सत्यनारायण मण्डल
प्रदेश नं. २ मा मधेशी दलको सरकार बन्नु स्वभाविक कुरा हो । जनताको जे अभिमत छ, जनताले जस्तो जनादेश दिएको छ, त्यसै अनुसार प्रादेशिक सरकारब बनेको हो । एमालेले यसलाई स्वागत गर्दछ ।
प्रदेश २ मा मधेशी दलको सरकार बने पनि हाम्रो भूमिका एकदम रचनात्मक रहन्छ । प्रदेश नंं. २ आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक हिसाबले पिछडिएको क्षेत्र हो । प्रदेशमा अहिलेसम्म सरकारले पूर्णता पाएको छैन त्यसैले अबको सरकारले यस प्रदेशको समृद्धिका लागि के कस्तो कार्यक्रम ल्याउँदै छन्, त्यो हेर्नु पर्छ । प्रदेश नं. २, जो गरिबिको रेखामुनी छ, सामाजिक, सांस्कृतिक रूपमा पनि विभेदमा छन्, ती सबै सरकारको प्राथमिकतामा पर्छ कि पर्दैन ? आशा छ, उत्पीडित जनताका मागलाई ध्यानमा राखेर सरकारले कार्यक्रम ल्याउने छ । सरकारका तर्फबाट प्रभावकारी कार्यक्रम आइ सकेपछि मात्र हाम्रो सहयोग विरोध वा समर्थन गर्छौ तर सरकारप्रति हामी रचनात्मक नै रहन्छौं । हामी लडाई झगडा गरेर होइन, काँधमा काँध मिलाएर प्रदेश नं. २ को विकास गर्न चाहन्छौँ ।
यद्यपी अहिलेसम्म त हामीले प्रादेशिक सरकारसँग सहकार्य गर्ने भन्ने बारेमा सोचेका छैनौँ तर भोलीका दिनमा परिस्थिति त्यस्तै आइहाल्यो भने हामी सहकार्य पनि गर्न सक्छौं तर अहिले हामी रचनात्मक सहयोग गर्नेछौं ।
मधेशी गठबन्धनमा आवद्ध दलहरूले चुनावका समयमा घोषणापत्रमार्फत गरेका प्रतिबद्धता बिर्सनुहुन्न । हाम्रो प्रदेशको चुनौती भन्नु नै अहिले भएको मानवसूचचांक हेर्दा देशभरीकै दोस्रो स्थानमा छ । यो समस्या साझा हो । कृषि, शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, उद्योग आदि क्षेत्रमा राम्रा योजना ल्याइयो भने त्यसमा हामी पूर्ण सहयोग गर्नेछौँ ।
प्रदेशको पहिलो बैठकले शहिद परिवारका एक सदस्यलाई रोजगारी दिने भन्ने जुन निर्णय गरेको त्यसलाई गलत भन्न मिल्दैन तर निर्णय भएका विषय कति कार्यान्वयनमा आउँछ त्यो हेर्न बाँकी नै छ । मधेशी नेताहरूले नै आन्दोलनको घोषणा गर्दा सोझा सादा जनताले ज्यान फाल्नु प¥यो । ती पीडित परिवारको एउटा सदस्यलाई रोजगारीको व्यवस्था गरिदिनुलाई म त्यति अस्वभाविक ठान्दिन तर अब व्यवहारमा हेर्न बाँकी नै छ ।
सरकराले रोजगारीको सिर्जना गर्र्नुपर्छ । जस्तै–उद्योगधन्दाहरू खोल्ने, सिँचाईको व्यवस्था गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने हो भने लाखौँ युवाले स्वदेशमा नै रोजगारी पाउन सक्छ । यहाँ कुन कुन उद्योग खोल्न सकिन्छ त्यसको अध्ययन गरेर, उद्योगपति तथा विदेशीहरूलाई पनि आह्वान गरेर यहाँ भएका कच्चा पदार्थको सदुपयोग गरेर उद्योगहरू खोल्न सकिन्छ ।
मुख्य कुरा त सरकारमा जो जो छन् उनीहरू इमान्दारी हुनुप¥यो । जनतालाई कसरी समृद्धको बाटोमा अगाडी बढाउन सक्छौँ, कसरी घर–घरमा रोजगार दिन सक्छौँ, कति अवधिभर दिन सक्छौँ, यी विषयमा गम्भीर हुनुपर्छ । यस्ता कुरामा प्रतिपक्षीसँगको सल्लाह लियो भने हामी पनि सल्लाह दिन्छौँ । हामीलाई त विकास चाहिएको हो ।
हो, अहिलेसम्म मधेशी गठबन्धनसँग कुनै छलफल भएको छैन । पहिला सरकार नै अहिलेसम्म पूर्णता पाइसकेको छैन । तर हिम्मत ग¥यो भने बन्द भएका जति पनि कलकारखानहरू छन् ती सबैलाई सञ्चालन गर्ने प्रयास गर्ने कामलाई प्राथमिकतामा राख्नु पर्दछ । बन्द हड्ताल गरेर होइन अबको लडाई भनेको नै समृद्धिको लडाई हो । त्यसकारण रोजगारी नै दिलाउने हो भने हामीले प्रदेश नं. २ लाई धेरै हदसम्म अगाडी बढाउन सक्छौं ।
हामी विकासमा एक भएर बन्द भएका कारखानाहरू सञ्चालन गरौँ । त्यसमा हाम्रो पूर्ण सहयोग हुनेछ । नयाँ औद्योगिक वातावरण तयार गर्नका लागि कस्तो सहयोग आवश्यक पर्छ त्यस किसिमको सहयोग गर्न हामी तयार छौँ । कृषिलाई प्रमुख प्राथमिकतामा राखौँ । पहिले खाद्यान्न निर्यात गर्ने देश अहिले अबौंको आयात गर्नुपर्ने बाध्यता छ त्यसकारण कृषिलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।
संविधान संशोधनप्रति एमालेको कहिल्यै पनि नकारात्मक धारणा थिएन । हामी प्रमुख प्रतिपक्षमा थियौँ । तात्कालीन सरकारले मधेशवादी दलहरूसँग पटक–पटक छलफल ग¥यो,सम्झौता ग¥यो तर एमालेसँग कुनै त्यस्तो लिखित सम्झौता गरेन । तर संविधान संशोधन नुहँदा दोष एमालेलाई दिइयो । कुन बुँदामा संशोधन गर्ने, त्यसमा छलफल गरौँ । जनताभन्दा अर्को ठूलो दल हुनै सक्दैन ।
हामीले त्यसरी त सोचेका छैनाँै, कहाँ संशोधन गर्ने तर। जुन दल प्रतिपक्षमा छन्, जो संविधान निर्माणमा पनि सहभागि भएन, कालान्तरमा पनि त्यहि विषयलाई लिएर दुई चरणको निर्वाचन बहिष्कार गरे तर पछि तेस्रो चरणको निर्वाचन र प्रदेश र संंघीय निर्वाचनमा भाग लिए, उनहरूबाट स्पष्ट शब्दमा प्रस्ताव आउनु पर्छ । संविधानमा कहाँ कहाँ त्रुटी रहेको छ, त्यसका लागि बसेर नेपालको हित अनुकुल र मधेशकै पनि हित अनुकुलको मित्रवत् रूपमा बसेर छलफल गरेर निष्कर्षमा पुग्ने हो भने मात्र थाहा हुन्छ, कुन कुन बुँदामा संशोधन गर्नुपर्छ भन्ने ।
माग राख्दैमा सबै शतप्रतिशत माग पूरा हुन्छन् भन्ने त हुँदैन नि । जुन जुन मागहरू सम्बोधन गर्नुपर्ने हुन्छ त्यसका लागि छलफल गर्नुपर्छ । पहिले पटक–पटक संसदमा माग पेश गर्दा हामीलाई एक पटक पनि सोधेनन् । अहिले आएर दोष हामीलाई दिन्छन् । यहाँसम्म आइपुग्दा करिब करिब सबै कुरा थाहा भयो । संविधान संशोधनदेखि लिएर विकासका काममा जति पनि समस्या छन्, नेपाली जनताको हित बाहेक अन्य कुराहरू हुने छैन । संविधानका कुन–कुन धारामा संशोधन गर्नुपर्ने हुन्छ त्यसमा छलफल गरेर हामी अगाडी बढ्नेछौं ।
सिमांकनको कुरा गर्ने हो भने कहाँबाट कहाँसम्म हो ? पूर्व मेचीदखि पश्चिम महाकालीसम्म त हाम्रो पार्टीले आफ्नो स्पष्ट धारणा राखिसकेको छ । अहिले आएर हामीलाई पनि के महशुस भयो भने जानकी मन्दिरको भेटीले मात्रै त प्रदेश चल्दैन, त्यसका लागि त प्राकृतिक स्रोत पनि आवश्यक पर्दछ । जनताको चाहना नभई त कुनै पनि निर्णय गर्न मिल्दैन । त्यसकारण सबै जनताको चाहना हुनुपर्छ, प्रदेश नं. २ को जनताको चाहनाले मात्र त हुँदैन । मधेश दर्पण फिचर सेवा)
मिथिला चित्रकलाको वर्तमान अवस्था र भविष्य
सुनैना ठाकुर
मिथिला चित्रकलालाई परिभाषित गर्न जरूरी नै छैन । किनभने मिथिला चित्रकला आफैमा परिभाषित छ । म सानै छँदा मिथिला कलाप्रति प्रेरणा मिलेको हो । सानैमा आमा, हजुरआमाले माटोले घरको भित्तामा विभिन्न प्रकारको चित्रकला बनाएको देख्थें । त्यसबखत म उहाँहरूलाई यो के बनाउनु भएको भनेर सोध्थें । त्यस बेला उहाँहरूले यो घरको सजावटको लागि बनाएको भन्नुहुन्थ्यो । त्यसपछि मैले पनि त्यही चित्रलाई आफ्नो कापीमा कोर्न थालें र विद्यालय तहको पढाईमा पनि त्यस्तै हजुरआमाले बनाएको जस्तो चित्रहरू बनाएर प्रथम हुन थालें । यसरी नै मैले चित्र बनाउँदै जाने कामको सुरूवात भयो । तर पछि जब मेरो विवाह भयो, मबाट चित्रकालकारितो एक प्रकारले हराउँदै गयो । केही समयपछि जनकपुरमा चित्रकला प्रदर्शनी भयो । त्यसमा ३६० महिला सहभागि थिए । त्यसमा म पनि सहभागी भएा र प्रथम हुन सफल भएँ । त्यसबाट मलाई हौसला मिल्यो । ३६० जनामा म प्रथम हुन सक्छु भने मैले अझ धेरै राम्रो गर्न सक्छु भन्ने लाग्यो । यस्तैमा चित्रकलामा रूची भएको २ जना महिलालाई तालिम दिने भन्ने कुरा थाहा पाएँ । त्यसमा पनि मेरो नाम परेछ । त्यस तालिमको समयमा पनि आफ्नो क्षमतालाई बाहिर ल्याउने अवसर मिल्यो । यसबाट पनि मलाई प्रेरणा मिल्दै गयो । यसको साथसाथै घर परिवारको पनि सहयोग मिल्यो ।
सुरूमा त मलाई कठिनाई नै भयो । किनभने तालिमको अवधिमा मैले घरको सदस्यहरूलाइ मनाउनको लागि धेरै मेहनत गर्नुप¥यो । कठिनाई भए पनि परिवारका सदस्यहरूलाई मनाएर म त्यस तालिममा गएँ । विशेष गरी यसमा मेरो श्रीमानको ठूलो सहयोग छ ।
यो १२÷१३ वर्षको अवधिमा धेरै चुनौतीको सामना गर्नुप¥यो । घरबाट खुट्टा अगाडी बढायो भने हरेक पाइलामा चुनौती नै छ । त्यो चुनौती पार गर्दा–गर्दा यो अवस्थासम्म आइपुगेको छु । एक त महिलाको विवाह भइसकेपछि परिवार, बालबच्चामै सिमित हुनुपर्ने बाध्यता छ । एक विवाहित महिलाले घरको काम भ्याउनै पर्ने हुन्छ । त्यसमा पनि बाहिरको काम ग¥यो भने अर्को समस्या आउँछ । मैले कसरी समय मिलाउने त यसमा विशेष ध्यान दिन थालें । त्यसमाथि समाजको बाधा त हुने नै भयो । त्यस किसिमका थुप्रै बाधाहरू मैले पक्कै भोगेको छु ।
महिलालाई घरबाहिर निस्केर काम गर्नका लागि आफ्नो परिवारको सहयोग अवश्य चाहिन्छ । परिवारको सहयोग बिना कुनै पनि मानिस अगाडि बढ्न नै सक्दैन । त्यो चाहे पुरूष होस् या महिला । म बाहिर भएकोे समयमा घरको काममा श्रीमानले सहयोग गरिदिने, बच्चाको हेरविचार गरिदिने, म कता जानुपर्ने हो त्यो ठाउँ पत्ता लगाएर त्यहाँसम्म पु¥याइ दिने जस्ता थुप्रै सहयोग पाएको छु ।
मैले यो मिथिला चित्रकला सुरू गर्दा कहिले काहिँ आफैलाई आत्मग्लानी हुन्थ्यो र छोडिदिउँ जस्तो लाग्दथ्यो । तर अहिले आएर यसको भविष्य एकदम राम्रो देखेको छु । यो सीता जन्मेको भूमि हो । यसलाई मिथिला राज्य भने पनि हुन्छ । पहिला धारणा के थियो भने मिथिला चित्रकला मधेशको हो र मधेशको मान्छेले मात्र बनाउँछ तर यो सत्यता होइन । हामी सबै यहि धर्तीमा जन्म लियौँ, यो चित्रमा कुनै जात छुट्टयाउन मिल्दैन । पहाड तराई भनेर छुट्टयाउन मिल्दैन । त्यसकारण यसको भविष्य म राम्रो देख्छु । पछि गएर विद्यार्थीले एसएलसी. दिएपछि अरू विषय पढे जस्तै मिथिला कला पनि पढ्न सकुन् । अहिले नै यस्तो समय नआए पनि केही समय पछि पक्कै पनि हुनेछ । यसमा प्रचारप्रसारको पनि जरूरी छ । केही समय अघि नै मैले ‘समानता’ शीर्षक राखेर चित्रकला प्रदर्शनी गरें । त्यसमा समानताका साथसाथै अन्य सामाजिक परिवेश पनि देखाइएको थियो । बिना समानताले एउटा परिवार, समाज, देश अगाडि बढन सक्दैन । त्यस चित्रमा पनि मैले धर्मनिरपेक्ष नेपाल भनेर बनाएको थिएँ । त्यसपछि नारी शक्ति भन्ने थियो । यस्ता चित्रहरू धेरै थिए । एक जना मानिसले १०० जनाको आवाज बोल्न सक्दैन तर एउटा चित्र ती सय जनाको आवाज बोल्न सक्छ । त्यसकारण पनि मलाई लाग्छ यसको भविष्य राम्रो छ ।
समाजमा महिलालाई के कस्ता समस्या छन्, ती समस्याहरू कसरी भइरहेको छ, महिलालाई के आवश्यक छ र त्यसलाई कसरी परिपूर्ति गरिरहेका छन् जस्ता सन्देश मैले आफ्नो चित्रमार्फत समाजलाई दिन खोजिरहेको छु । महिला के हो र महिलालाई यति हेला किन ? लिखित रूपमा अधिकार दिएको भए पनि त्यो कागजमा मात्र सिमित छ ।
सुरूवात त मैले आफ्नो गाउँबाट नै प्रदर्शनी सुरू गरेको थिएँ । त्यपछि नगरपालिका, राजधानी काठमाडौं, पोखरामा गरें । त्यसपछि यूएईमा पनि मैले प्रदशनी गर्ने मौका पाएँ । त्यहाँ मैले प्रदर्शनीका साथै सम्मान पनि पाएँ । यससँगै भारत, यूरोपमा पनि प्रदर्शनी भयो । अहिले भर्खरै पछिल्लो पटक काठमाडौंमा प्रदर्शनी सम्पन्न भएको छ ।
सुरूमा त मलाई पनि लाग्थ्यो कि यसबाट जिविकोपार्जन हुन सक्दैन तर अहिले म आफै भन्छु कि यसबाट जिविकोपार्जन गर्न सकिन्छ । मिथिला चित्रकलाबाट नामका साथसाथै आयआर्जन पनि गर्न सकिन्छ । चित्रकला आफैमा मूल्य नभएको वस्तु हो तर विदेशी पर्यटकले आफ्नो देश फर्कने क्रममा नेपालको मायाको चिनो लैजान खोज्छन् । त्यसमा पनि मिथिला चित्रकला अत्याधिक खोजि रहेका छन् । यो त विदेशी पर्यटकले लैजाने चित्रको माध्यमबाट भयो । चित्रको साथसाथै मैले टिर्सट, साडी, कुर्ता, व्याग आदिमा पनि पेन्टिङ गरिरहेको हुन्छु । यस्ता सामानहरू त देशभित्र पनि बिक्री भइरहेको छ । म लगायत मैले ८ जना महिलालाई काम दिइरहेको छु । उनीहरूले पनि त्यसबाट भएको आम्दानीले राम्ररी परिवार चलाइ रहेका छन् ।
मिथिला चित्रकलालाई व्यवसायीकरण गर्नका लागि पहिला यसको प्रचार प्रसार जरूरी छ । अर्को कुरा, यसको बजारीकरण पनि आवश्यक छ । सरकारले पनि यसमा ध्यान दिनुपर्ने छ । बजारमा कस्तो किसिमको माग छ त्यसमा पनि निर्भर रहनुपर्छ । मिथिला चित्रकला गर्न इच्छुक हुनेहरूका लागि पनि तालिम केन्द्रहरू खोल्नुपर्छ । यसको लागि सरकारलाई त घच्घच्याउनु त पर्छ । (कुराकानीको आधारमा) ( मधेश दर्पण फिचर सेवा

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला