रेशम चौधरीलाई तत्काल संसदमा उपस्थित गराउन माग

ZEN Travels

काठमाडौं –

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई संसदमा उपस्थित गराउन माग गरेको छ।

आइतबारको संघीय संसदको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले कैलाली १ बाट निर्वाचित चौधरीलाई यथाशिघ्र संसदमा उपस्थित गराउन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएका हुन्।

‘प्रधानमन्त्रीले विश्वासको मत लिने बेला एउटा सदस्यले सपथ लिन नपाउनु  दुर्भाग्य हो’, उनले भने– ‘रेशम चौधरीको अवस्था गम्भीर छ, उचित उपचार र यथाशीघ्र चाँडो सदनमा उपस्थित गराइयोस।’

उनले आफूहरूले कानूनी राज्यको सम्मान गर्ने भन्दै चौधरीलाई उपस्थित गराएर निर्णय लिन सभामुखलाई आग्रह गरेका थिए। चौधरीको विषयमा पहल गर्न उनले सरकारको पनि ध्यानाकर्षण गराए।

टीकापुरमा वरिष्ठ प्रहरी अधिकारीको ज्यान जानेगरी भएको हिंसात्मक घटनापछि फरार चौधरीले केही दिनअघि जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। अदालतको आदेशसँगै कारागार चलान भएका चौधरीको समूहले रिहाई र सांसद पदको सपथको माग गर्दै कारागारभित्रै आमरण अनसन थालेको थियो। अनसनले स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई थप उपचारका लागि काठमाडौै ल्याइएको छ। शनिबारमात्रै राजपा अध्यक्ष मण्डलले गृहमन्त्री रामबहादुर थापालाई भेटी चौधरीलाई रिहा गर्न माग गरेको थियो।

बैठकमा बोल्दै नेता भण्डारीले शून्य समयमा उठेका विषयलाई तत्काल सम्बन्धित निकायसँग पुग्नेगरी संसदलाई प्रभावकारी बनाउन समेत सभामुखलाई सुझाव दिए। ‘संसदलाई जिम्मेवार बनाइयो भने हामीप्रति र यो सदनप्रति जनताको विश्वास रहन्छ’, उनले भने।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला