राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना बनाउने एमालेको निर्णय

ZEN Travels

काठमाडौं।

एमालेले सांसद गणेश तिमल्सिनालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने निर्णय गरेको छ। एमालेको भागमा परेको राष्ट्रियसभा अध्यक्षमा तिमल्सिनालाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको हो।

सोमबार एमाले नेताहरुबीच भएको छलफलले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो। तिमल्सिना एमालेका पुराना नेता तिमल्सिना एमाले पोलिट्व्युरो सदस्य र चार नम्बर प्रदेशका सहसंयोजकसमेत हुन्।

यसअघि राष्ट्रियसभा अध्यक्षमा एमालेकै अर्का नेता परशुराम मेघी गुरुङले पनि दाबी गर्दै आएका थिए। उनलाई राष्ट्रियसभाका दलको नेता बनाउने गरी सहमति भएको एमालेले जनाएको छ।

राष्ट्रयसभाको अध्यक्ष एमालेको भागमा परेको थियाे। प्रतिनिधिसभाको सभामुख र उपराष्ट्रपति माओवादी केन्द्रलाई छोडेको एमालेले राष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष लिने सहमति गरेको थियो।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन बुधबार हुने संसद सचिवालयले जनाएको छ। यसैगरी सरकारले मनोनयन गरेको तीन जना सांसदले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न नपाउने भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका डा. युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडलले राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्।

उनीहरुले शपथ लिनुअघि नै मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेकाले उनीहरुले मतदान गर्न नपाउने भएका हुन्। राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २-२ जना सांसद छन्।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला