मोदीवेणी जेष्ठ नागरिक आश्रय स्थलका लागि आर्थीक सहयोग

ZEN Travels

पर्वत ।
निर्माणाधिन मोदीवेणी जेष्ठ नागरिक आश्रय स्थलका लागि अमेरिकामा बसोबास गर्ने नेपालीहरुले सहयोग गरेका छन् । निर्माणधिन आश्रय स्थलका लागि ४ लाख ५४ हजार ३ सय ३६ रुपैयाँ सहयोग प्राप्त भएको हो । बागलुङ नगरपालिका १४ बलेवाका पुर्णप्रसाद ढकालको पहलमा अमेरिकामा रहेका आफन्त मार्फत उक्त सहयोग जुटेको हो । सोमबार प्रबासीले उपलव्ध गराएको रकम आश्रय स्थल निर्माण समितिलाई हस्तान्तरण गरिएको छ । सहयोग संकलक पुर्णप्रसाद ढकाल र वागलुङ नगरपालिका १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले मोदीबेणी जेष्ठ नागरिक आश्रय स्थल निर्माण समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठलाई चेक हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दै सहयोग संकलक पुर्णप्रसाद ढकालले आश्रयस्थल निर्माणका लागि गरेको सहयोगको सदुपयोग गर्न आग्रह गरे । उनले मोदीवेणीमा जेष्ठ नागरिक आश्रय स्थल निर्माण गर्ने धोको लिएर देशबिदेशमा थप सहयोगको खोजी गर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष चक्रबहादुर खत्रीले मोदीवेणी दिव्यधाम देशभरिका सबै नागरिकहरुको साझा थलो रहेकाले यसको बिकास र प्रचारमा सबै समुदायले सहयोग गर्नुपर्ने बताए । उनले वडाले मोदीवेणी सम्म जाने बाटो बनाउन थालेको जानकारी दिए । आश्रय स्थm निर्माणको हाल सम्म भएका प्रगतीको बारेमा आश्रय स्थल निर्माण समितिका सचिव कमलवहादुर जिसीले जानकारी गराएका थिए । जिसीका अनुसार आश्रयस्थलको निर्माण कार्य २०६४ जेठबाट शुरु गरिएको र हालसम्म ९० प्रतिशत काम सकिएको छ । ४१ लाख रुपैयाँ खर्च भैसकेको आश्रयस्थलको काम अवको एक महिनामा सकिने उनले बताए । सहयोगदाताहरुकै आर्थिक सहायताले निर्माण कार्य भैरहेको जिसीले बताए । निर्माण समितिका सदस्य केशवदास वैरागीले आश्रय स्थल संगै मोदीवेणीमा गौशाला निर्माण गर्ने, पर्वत क्षेत्र बाट वागलुङ क्षेत्र जोड्ने गरि मोदीवेणीमा पुल बनाउने योजना अगाडी बढेको बताए । उक्त कार्यक्रममा मोदीवेणी आश्रय स्थल निर्माण समितिका सल्लाहाकार कृष्णप्रसाद ढकालले मोदीवेणीको महत्व वुझेर यहाँ पूर्वाधार बिकास गर्न स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । गरिब, असहाय, एकल नागरिकहरुलाई आश्रय दिन आश्रयस्थल निर्माण गर्न थालिएको हो । १२ कोठा रहेको आश्रयस्थल निर्माणका लागि २०६८ सालको फागुन २६ देखि चैत्र ६ सम्म आयोजित शालग्राम महायज्ञ मार्फत सबैभन्दा धेरै १९ लाख रुपैयाँ प्राप्त भएको छ । नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयले १४ लाख ,शहरी बिकास मन्त्रालयले ९४ हजार, गैह्र आवासीय नेपाली संघले ५ लाख ५७ हजार, वेल्जियममा रहेका नेपालीले २ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । हालसम्म ४१ लाख रुपैयाँ भवन निर्माणमै सकिएको छ । निर्माण समितिका अध्यक्ष श्रेष्ठले आश्रयस्थलको निर्माण कार्य सकिनै लागेको र अव झ्याल ढोका राख्ने, पर्खाल लगाउने, रंगरोगन गर्ने, वाईरिङ गर्ने काम बाँकि रहेको जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला