सबै दल ३३ प्रतिशतमा चुके

ZEN Travels

काठमाडौं –

राजनीतिक दलसम्बन्धी ऐनले दलका सबै तहमा महिला प्रतिनिधित्व एकतिहाइ हुनुपर्ने व्यवस्था गरे पनि दलहरूले यो प्रावधान लत्याएको पाइएको छ। जेठ ३ मा एकीकृत भएको एमाले र माओवादी केन्द्रको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि यो प्रावधान लत्याएको छ। ऐनका प्रावधान लत्याउने दलमा भर्खर जन्मिएको नेकपा मात्रै एक्लो भने होइन, संसद्मा प्रतिनिधित्व गरिरहेका कांग्रेस, राजपा तथा संघीय फोरमले पनि केन्द्रीय समितिमा ३३ प्रतिशत महिला नेतृत्व हुनुपर्ने प्रावधानलाई ठाडै अस्वीकार गरेका छन्।

एकीकृत पार्टीको केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३३ प्रतिशत नभएको भन्दै नेकपाकी सांसद बिन्दा पाण्डेलगायत नेत्रीहरूले लबिङ गरेका थिए। उनीहरूको लबिङले पार्टीलाई अप्ठ्यारो पर्ने भन्दै नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले उनीहरूलाई सम्झाउनुपरेको थियो।

महिला नेत्रीहरूको आवाज मत्थर भएपछि बुधबार पार्टी दर्ताका लागि गएको नेकपालाई आयोगले बिहीबार दल दर्ताको औपचारिक प्रमाणपत्र उपलब्ध गराएको हो।

केन्द्रीय समितिमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्वबारे जिज्ञासा राख्दा नेकपाका नेता सुवास नेम्वाङले भने, ‘महाधिवेशनपछि कानुनी प्रक्रियाअनुसार केन्द्र, निर्वाचित निकायलगायत सबै स्थानमा महिलालाई ३३ प्रतिशत सहभागी गराउन हामी प्रतिबद्ध छौं।’

दल दर्ता ऐनमा पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ। अयोगले नेकपालाई ऐनको व्यवस्थाबमोजिम केन्द्रीय समिति बनाउन निर्देशन दिएको छ। ४ सय ४१ केन्द्रीय समितिमा केन्द्रीय समितिमा सय १४६ जना महिला सहभागी हुनुपर्नेमा अहिले ७५ जना मात्रैको प्रतिनिधित्व छ। महाधिवेशनपछि ऐनको प्रावधानअनुसार प्रतिनिधित्व गराइने नेता नेम्वाङले बताए।

नेकपाका महिला नेत्रीले पार्टी अध्यक्षद्वय ओली र दाहाललाई महिला प्रतिनिधित्व बढाउन दबाब दिएका थिए। दुई अध्यक्षले महाधिवेशनपछि बन्ने समितिमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

संसद्मा दोस्रो ठूलो दल कांग्रेस केन्द्रीय समितिमा पदेन सदस्यबाहेक ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा २८ जना हुनुपर्नेमा १७ जना मात्र महिला प्रतिनिधित्व छ। महाधिवशेनपछि ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने हो भने नेकपाको दुई वर्षपछि, कांग्रेसको तीन वर्षपछि र राजपा एवं फोरमको त समय नै किटान गरिएको छैन। अन्नपूर्ण पोष्टबाट

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला