पर्वतमै पहिलोपटक सोलारबाट खानेपानी घरघरमा |Merojilla.Com|

ZEN Travels

पर्वत ।
जिल्लामै पहिलो पटक सौर्य ऊर्जाको प्रयोगबाट खानेपानी आयोजना सञ्चालन गरिएको छ । कुश्मा नगरपालिका–१२ स्थित ठूलीपोखरीमा ग्रामीण सौर्य खानेपानी आयोजना निर्माण भएको हो । २ सय मिटर उचाइमा रहने पानी ट् यांकीमा सोलारबाट पम्पिङगरी पानी सञ्चालनमा ल्याएको छ । आयोजनाबाट ठूलीपोखरी गाउँका स्थानीय क्षेत्रका ९० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । आयोजना निर्माणपछि स्थानीय वासिन्दाले घन्टौँ टाढाबाट डोकाका माध्यमबाट पानी बोक्ने समस्या हटेको छ ।
१ करोड ३५ लाखको लागतमा गत वर्ष पम्पिङ प्रयोगबाट खानेपानी आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिए । उनले विद्युत नहँुदा खानेपानी सेवा पम्पिङ सिस्टम मार्फत वितरण गर्न नसकिने बताएका छन् । केन्द्रीय आयोजनालाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतले २६ लाख रुपैयाँ विनियोजन गरेपछि २६ वटा सोलार प्यानल खरिद सहित आयोजना सुरु भएको थियो । खानेपानी उपभोक्ता समतिका अध्यक्ष नीलकण्ठ लामिछानेले कालिका भगवती मन्दिरमा रहेको रिजर्भ ट्यांकीमा पानी तान्न ३१५ वाट क्षमताको २६ वटा सोलार प्यानल जडान गरिएको जानकारी दिए । सोलार प्यानलबाट उत्पादन हुने विद्युतको प्रयोग गरेर पानी तान्ने व्यवस्था मिलाइएको छ । घाम लाग्नेबित्तिकै २ सय मिटर तल सोलारबाट गएको करेन्टले मोटर चलेपछि पानी तानिन्छ ।
मुहानदेखि तानिएको पानी कालिका मन्दिरमा राखिएको १४ हजार लिटर क्षमताको ट्यांकीमा संकलन गरिन्छ । त्यसपछि सोलार मोटरले पाइपको माध्यमबाट माथिल्लो भेगमा बनाइएको अर्काे १४ हजार लिटर क्षमताको ट्यांकीमा झारिने व्यवस्था मिलाइएको अध्यक्ष लामिछानेले जानकारी दिए । यसअघि यहाँका बासिन्दाले १–२ किलोमिटर टाढासम्म स्थानीय कुवा र खोलाबाट पानी लिएर आउनुपर्ने बाध्यता थियो । मानिसलाई खानका लागि मात्र नभइ पशु चौपाय र तरकारी खेतीमा समेत टेवा पुगेको समाजसेवी अर्जुन पौडेलले जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला