अन्तर्घातीहरुलाई सफाया गरिन्छ, ओली सरकार भारतीय लम्पसारवादी : देउवा

ZEN Travels

कैलाली । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका क्रियाशील सदस्यहरुलेसमेत अन्तर्घात गर्दा कांग्रेस तेस्रो हुन पुगेको बताएका छन् ।

शुक्रबार धनगढीमा नेपाली कांग्रेसकोे १३औं राष्ट्रिय महाधिवेशनपछिको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले अन्तर्घात गर्नेलाई कुनैपनि हालतमा माफ नगर्ने बताए ।

पार्टीभित्रको अन्तर्घातका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नुपरेको भन्दै उनले अब नेपाली कांग्रेसले पार्टी शुद्धिकरण गर्दै अन्तर्घातीहरुलाई ‘सफाया’ गर्ने बताए ।

पार्टीभित्रको अन्तर्घातलाई अन्त्य गरी नेपाली कांग्रेसलाई पुरानैरुपमा फर्काएरमात्र आफूले विश्राम लिने उनको भनाइ थियो ।

वर्तमान सरकारलाई ‘भारतीय लम्पसारवादी’को संज्ञा दिँदै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अकर्मन्यताको बन्दी बनाएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपालमा नाकाबन्दी हुँदा पुरै नेपालका लागि खाद्य सामग्री आयात गर्ने कैलालीको एउटैमात्र नाका गौरीफन्टा नाकालाई ओलीले आफू सरकारमा गएपछि बन्द गर्न खाजेको आरोपसमेत लगाए ।

गौरीफन्टा नाकाको स्तरोन्नति गरी सुचारु गर्न आफूले भूमिका खेल्ने उनले उल्लेख गरे ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले पार्टीभित्रबाटै अन्तर्घात हुँदा चुनाव हार्नुपरेको जिकिर गरेका थिए ।

सो सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला