प्रदेश ४ को नाम गण्डकी राख्न माग

ZEN Travels

पोखरा।

प्रदेश ४ को नाम ‘गण्डकी’ राख्न विश्व हिन्दू महासंघ लगायतका ६ संघ संस्थाले सोमबार प्रदेश ४ का सभामुखसमक्ष ज्ञापनपत्र बुझाएका छन् । महासंघसहित क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी संगम परिवार, नेपाल दशनामी समाज र रानाभाट समाजले संयुक्त ज्ञापनपत्र बुझाएका हुन् । प्रदेशको नाम जाति या समुदाय विशेष नराखी साझा नाम राख्न उनीहरुले आग्रह गरे ।

विभिन्न राजनीतिक दल तथा जनअभिमतको आधार पनि गण्डकी पक्षमै बढी भएका कारण पनि नाम गण्डकी नै राख्नुपर्ने महासंघका अध्यक्ष शंकर खनालले जिकिर गरे । ‘राजनीतिक दल तथा जनअभिमतमा पनि प्रदेशको राजधानी पोखरा र नाम गण्डकी राख्ने स्पष्ट राय छ,’ उनले भने ।
गण्डकी एउटा नदीको नाम मात्र नभएर सम्पदाकै नाम भएको ज्ञापनपत्रमा उल्लेख छ । गण्डकी पुराणमा पनि उल्लेख भएकाले त्यही नाम नै उपयुक्त हुने रानाभाट समाजका क्षेत्रीय संयोजक
चन्द्रबहादुर रानाभाटले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला