दाना–खुर्कोट लाइन प्रभावितले पाए ४ करोड

ZEN Travels

म्याग्दी ।

दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई ४ करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटसम्ममा टावर रहने जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गरेको हो ।

करिब ३९ किलोमिटर दूरीको प्रसारण लाइनको ११४ वटा टावरबाट प्रभावित १७५ घरधुरीलाई७ करोड ८६ लाख मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ९९ जनालाई ४ करोड ६३ लाख वितरण गरिएको आयोजनाका लेखापाल गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

म्याग्दीका ४२ जनालाई २ करोड ६० लाख र पर्वतका ५७ जनालाई १ करोड ४ लाख मुआब्जा उपलब्ध गराएको छ । थप ७६ घरधुरीलाई ३ करोड २३ लाख मुआब्जा वितरण गर्न बाँकी छ । आयोजनाका अनुसार ९३ रोपनी जग्गा अधिग्रहण गरिनेछ ।

जग्गाधनी सम्पर्कमा नआउनु र वनको समस्याका कारण जग्गा अधिग्रहण तथा मुआब्जा वितरणमा समस्या भएको लेखापाल सुवेदीले बताउनुभयो । बेनी र कुश्मास्थित जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण भइरहेको छ ।

सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित २०१६ मे ३० मा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग २ अरब ९० करोडमा ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाको प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले बताउनुभयो ।

म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि दाना र कुश्मामा सबस्टेशनका साथै प्रसारण लाइन निर्माण हुन लागेको हो । एशियाली विकास बैंकको सहयोगमा विद्युत् प्राधिकरणले खुर्कोट हुँदै नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा कालीगण्डकी करिडोर प्रसारण लाइन बनाउने तयारी गरेको छ ।

सबस्टेशनमा पूर्वाधार निर्माण, उपकरण खरिदका साथै प्रसारण लाइनको टावर बनाउने काम तीव्र गतिमा अघि बढेको फुयाँलले बताउनुभयो । अहिलेसम्म २७ वटा टावर निर्माण भइसकेको छ । सतसट्ठीवटा टावरको फाउण्डेशन खनिएको छ । तार तान्ने काम पनि शुरु गर्ने तयारी भएको छ ।

आयोजनाका प्रमुख चन्दनकुमार घोषले विद्युत् प्राधिकरणमार्फत सञ्चालित प्रसारण लाइन आयोजनामध्ये कालीगण्डकी करिडोरको खुर्कोट दानाखण्डको काम तीव्र रुपमा भइरहेको बताउनुभयो । उक्त प्रसारण लाइनअन्तर्गत हाल नौवटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । प्रसारण लाइन र सबस्टेशनसँगै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला