कुश्मा ७ का महिलालाई अचार बनाउने तालिम

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका वडा नम्बर ७ ले महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ । सीप विकास तालिम केन्द्रको आर्थिक सहयोगमा वडा कार्यालयले २६ जना महिलालाई अचार बनाउने तालिम दिएको हो ।
घर वरपर सहजै पाईने लप्सी, काक्रो, करेला, बाँसको तामा, गाजर लगायतका आचार बनाउने तालिम दिइएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । महिलाहरुलाई एक महिना सम्म दिइएको तालिमले उनीहरुले अचार बनाउन सिकेको पौडेलले बताए । तालिम मार्फत सबै खाले तरकारीको पिक्कल, लप्सीको माडा, धुलो अचार, टिमुरको छोप बनाउने तरिका सिकेको तालिम लिएकी मिठु आचार्यले बताईन ।
तालिममा आफ्नै हातले अचार बनाउने अभ्यास गरिएकाले घरमै अव जुनसुकै प्रकारको पनि अचार बनाउन सक्ने भएको आचार्यले बताईन । तालिममा स्वादका लागि विभिन्न खालका मसलाको मात्रा राख्ने तरिका, अचारका लागि तरकारीको कटान गर्ने तरिका, अचारको गुण गुम्न नदिन अपनाउने तरिकाका बारेमा समेत सिकाइएकाले महिलाहरुले यसलाई व्यवसायिक रुपमा समेत सञ्चालन गर्न सक्षम भएको वडा सदस्य पर्शुराम पुरीले बताए ।
उनले तालिम सिकेका महिलाहरुलाई व्यवसायिक बन्न सुझाए । तालिमको बुधबार समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष सुवासचन्द्र पौडेलले तालिम पश्चात महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न चाहे वडाको तर्फबाट आवश्यक सहयोग समेत गर्ने बताए ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख किरण चन्द्र सुबेदीले कार्यलयले माग र आवश्यकताका आधारमा विभिन्न थरिका तालिम सञ्चालन गर्ने जानकारी दिँदै कुश्मा ७ का महिलाहरुलाई अन्य तालिम आवश्यक परेमा माग गर्न आग्रह गरेका छन् । अहिले सीप नभएर धेरै महिलाहरु खाली हात बस्नुपरेको भन्दै सुबेदीले सीप सिकेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गर्न सुझाए ।
उक्त तालिम समापन कार्यक्रममा कुश्मा नगरपालिकाका कार्यपालिका सदस्य डम्बर नेपाली, वडा सदस्य निलराज पुरी, तालिमका प्रशिक्षक थानेश्वर भुसालले पनि बालेको थियो । कुश्मा नगरपालिका ७ ले ३ महिने प्लम्विङ तालिमको पनि बिहिबार नै समापन गरेको छ । उक्त तालिम पनि व्यवसायिक तथा सीप बिकास तालिम केन्द्रको सहयोगमा सञ्चालन गरिएको थियो । बेरोजगार यूवाहरुलाई विद्युत जडान सम्बन्धी तालिम दिएर सक्षम बनाउन कार्यालयले वडाको समन्वयमा तालिमको आयोजना गरेको जनाएको छ ।
त्यस्तै वडा भित्र रहेका यूवा वर्ष र खरेया प्राविलाई बिद्यार्थीहरुलाई खाजा ख्वाउने प्रयोजनका लागि आवश्यक सामाग्री खरिद गर्नका लागि जनही ३२ हजार रुपैयाँ समेत प्रदान गरिएको छ । वडाध्यक्ष सुवासचन्द्र पौडेलका अनुसार वडाले लोकल कुखुरापालक कृषक नन्दबहादुर थापालाई अनुदान बितरण गरिएको छ भने १४ जना कृषकहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । कार्यक्रममा वडा सदस्य पर्शुराम पुरी वडा सचिव बिन्दुकुमारी रेग्मीलेबोलेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला