विज्ञान विषय पढ्ने विद्यार्थीले गणित पढ्न पाउने, यस्तो छ पाठ्यक्रमको प्रारुप

ZEN Travels

काठमाडौं ।

कक्षा–११ र १२ मा विज्ञान विषय पढ्ने विद्यार्थीले गणित विषय पढ्न नपाउने गरी पाठ्यक्रमको प्रारुप ल्याइएको भन्दै सर्वत्र विरोध भएपछि पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमको प्रारुप परिवर्तन गरेको छ ।

जीवनोपयोगी शिक्षामा गणित विषय लगेर राखेकाले अब विज्ञान पढ्ने विद्यार्थीले गणित विषय पढ्न पाउने व्यवस्था सुनिश्चित गरिएको हो ।

विज्ञान विषय पढ्ने विद्यार्थीले गणित विषय पढ्न पाउने व्यवस्था सुनिश्चित गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

गत जेठ १८ गते राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट पारित गरिएको पाठ्यक्रमको प्रारुप विज्ञान विषय पढ्ने विद्यार्थीले गणित विषय पढ्न नपाउने गरी तयार पारिएको थियो । जसको सर्वत्र विरोध भएपछि पाठ्यक्रम सच्चाइएको हो ।

कक्षा–११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ ।

जसमा अब विज्ञान विषय पढ्न चाहने विद्यार्थीले भने जीवनोपयोगी शिक्षाको साटो गणित विषय पढ्न पाउनेछन् ।

नयाँ पाठ्यक्रमको प्रारुपले बायोलोजी र गणितलाई एउटै ऐच्छिक विषयमा राखेको थियो । जसका कारण बायोलोजी पढ्ने विद्यार्थीले गणित पढ्न नपाउने भएका थिए ।

तर, अब भने विज्ञान विषय पढ्न चाहने विद्यार्थीले गणित विषय पढ्न पाउने सुनिश्चित गरिएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले जानकारी दिए ।

शिक्षाविद् राजेन्द्रध्वज जोशीले एकपटक परिमार्जन गरिएको पाठ्क्रम १० वर्षसम्म लागू हुने भएकाले विद्यार्थीलाई पढ्नका लागि धेरै विकल्प दिनुपर्ने बताए । विज्ञान विषय पढ्ने विद्यार्थीलाई गणित विषय पढ्न अनिवार्य नै भएको उनले बताए ।

कक्षा–१२ सम्मलाई माध्यामिक शिक्षा बनाइएकाले पनि सरकारले पाठ्यक्रमलाई परिमार्जन गरेको हो ।

कक्षा–११ र १२ मा ३२ ‘क्रेडिट आवर’ दिइएको छ । जसमा अंग्रेजी, सामाजिक र नेपाली विषयलाई तीन क्रेडिट आवर छुटाइएको छ भने जीवनोपयोगी शिक्षा र ऐच्छिक तीन विषयलाई पाँच/पाँच क्रेडिट आवर छुटाइएको छ । सूचना र प्रविधिका लागि दुई क्रेडिट आवर दिइएको छ ।

प्रारम्भिक बालविकास तहदेखि कक्षा–१२ सम्मकै परिमार्जित पाठ्यक्रम आगामी वर्षदेखि लागू गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट पारित भएको पाठ्यक्रमको प्रारुप शिक्षा मन्त्रालयबाट भने स्वीकृत हुन बाँकी रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला