चालू आवमा आमा सुरक्षा कार्यक्रमका लागि थप २० करोड रकम अपुग

ZEN Travels

काठमाडौँ-

आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ ।

चालू आवको अन्तिम साता हुनै लाग्दा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखामा सयभन्दा बढी स्थानीय तहले रकम अपुग भएको भन्दै निवेदन पठाएका छन् । स्वास्थ्यमा सुत्केरी हुने, आमा, नवजात शिशुको मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम लागू गरिएको हो । सरकारले चालू आवमा आमा सुरक्षा कार्यक्रमका लागि रु एक अर्ब ३१ लाख रकम विनियोजन गरेको थियो । अहिले पनि सयभन्दा बढी स्वास्थ्य संस्थाले बजेट सकिएपछि पनि पछि दिने भन्दै सुत्केरीलाई घर पठाइरहेको बताएका छन् ।

परिवार स्वास्थ्य महाशाखाले ती स्वास्थ्य संस्थालाई थप २० करोडभन्दा बढी रकम आवश्यक भएको बताएको छ । परिवार स्वास्थ्य महाशाखा निर्देशक डा तारानाथ पोखरेलले सरकारले आगामी आर्थिक वर्षदेखि गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात रकम दोब्बरले वृद्धि गरेपछि यो समस्या बढेको बताउनुभयो ।

हाल सरकारले गर्भवती उत्प्रेरणा सेवाबापत रु ४००, सुत्केरीलाई यातायातबापत हिमालमा रु एक हजार ५००, पहाडमा एक हजार र तराईमा रु ५०० दिँदै आएको छ । परिवार स्वास्थ्यले आगामी आवमा चार लाख २५ हजार महिला सुत्केरी हुने अनुमान गर्दै बजेट अनुमान गरी कार्यक्रम बनाएको थियो । सरकारको ०७५÷७६ को बजेट भाषणपछि अनुमान गरेको बजेटमा थप रु ४२ करोड आवश्यक पर्ने बताइएको छ ।

निर्देशक पोखरेलले परिवार स्वास्थ्यमा आउने बजेटको ४० प्रतिशत रकम आमा सुरक्षा कार्यक्रममा खर्च हुने जानकारी दिनुभयो । उहाँले चालू आवको अपुग रकम निकासा नभए आगामी आवमा आर्थिक भार थपिने बताउनुभयो । हामीलाई निकासा हुने आश्वासन दिएको महाशाखाको भनाइ छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला