छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने

ZEN Travels

बच्चा छोडेको पल

पहिले घर नजिकै प्रहरी थियो । २०५६ मा पुलिस गाउँबाटै हटिसकेको थियो । बच्चालाई आमाको जिम्मा लाएँ । काठमाडौंबाट फर्केलगत्तै आमालाई मैले बच्चा युद्धमा लैजान सक्दिन भनेको थिएँ ।

नौ महिना पछि छोरी छोडेर हिडें । बच्चा आफूले राख्न नसकेकोमा पीडा भयो । उसको कारण म मर्ने र मेरो कारण उ मर्ने । नछोडी सुखै थिएन । युद्धमा उसले राम्ररी खान पनि पाउँथिन ।

छिवाङमा कार्य क्षेत्र थियो । छिवाङका कतिपय मान्छे यस्ता थिए, माओवादी भनेपछि दुध पनि नबेच्ने । खाना दिनु प¥यो भने भैंसीलाई दिने कुहिएको दानाकोे रोटी बनाएर दिने । दुध नआएर छोरी रुने । छोरीको बाल अधिकार हनन् भएको भन्ने लाग्थ्यो । कहिले बिरामी भएर एक्कासी राती रुन्थ्यो । माओवादी बसेको भनेर गाउँभरि थाहा हुने ।

छोरीलाई आमासँग छाडेर आएको दिन घर भन्दा माथिको गाउँमा बास बसें । बुहारी म संगै सुत्केरी भएकी थिइन् । उनले छोरीलाई दुध खुवाउन खोज्दा नि नखाने रे । खाट मुनि, ढोकातिर, यता उता हेरीराख्थ्यो रे । यस्तो कुरा सुनेर म रातभरी निदाउन सक्दिनथें । बच्चालाई दुध खुवाउन नपाएर मैले निचोरेर फाल्नुपर्ने । उता छोरी दुध खान नपाएर, आमाको साथ नपाएर तड्पिने ।

छोरीले बोल्न सिकेकै थिइन । एकदिन गरायला गाविसको ज्यामिरे जानु थियो । भेट्छु भनेर घरको बाटो गएँ । भेटेर त्यहाँबाट हिंड्न लाग्दा छोरीले मलाई हेर्न पनि सकिन । घोप्टो परिरही । आमा सगँ कहिल्यै रुदैनथें । त्यसबेला आफूलाई रोक्न सकिन ।

माथि डाँडामा बसेर एउटा कविता लेखेको छु त्यस दिन छोरीको नाममा ।

उर्जा दिने श्रीमान्को चिठ्ठी

म काठमाडौंबाट छोरी लिएर फर्कंदै गर्दा श्रीमान् लिन आउनु भएको थियो ।

आउँदैछु भनेर खबर गरेको थिएँ तर भेट नहुन पनि सक्थ्यो । फोन पनि थिएन । संयोगले बाटोमा भेट भयो । खुशी भएँ । छोरीप्रति जिम्मेवार हुनुहुँदो रहेछ भन्ने लाग्यो ।

विभिन्न नाका हुँदै संगै घर पुग्यौं । त्यसपछि आ–आफ्नो कार्यक्षेत्र । कहिलेकाहीं मात्रै भेट हुन्थ्यो ।

त्यति बेलाको उर्जा भनेको श्रीमान्को चिट्ठी हो । दुवैजनाका डेढ सय भन्दा बढी चिट्ठीहरु अहिले पनि सुरक्षित छन् । संगालो निकाल्ने सोचमा छौं । वैचारिक, सैद्धान्तिक कुरा अनि कमजोरीलाई कसरी हटाउने भन्ने चिट्ठीमा हुन्थे । शहीद भएको खबर पनि आउन सक्थ्यो एक अर्काको । तर चिट्ठी आयो कि औधी खुशी लाग्ने ।

माओवादीको छोरी

छोरीलाई संगै राख्दा पनि पुलिसको डर थियो । चौकी त हटेको थियो तर खलंगाको पुलिस आइराख्थ्यो । माओवादीको छोरी भनेर मारिदिन सक्थे । त्यसैले आमा कहिल्यै घरमा बस्नु भएन ।

५८ सालमा संकटकाल शुरु भयो । त्यसपछि भन् कडाइ गरेको थियो । आमा सधैं एक दुई घण्टा हिंडेर अरुका घरमा गएर सुत्ने गर्नुहुन्थ्यो । कतिले आमालाई अपहेलना गरे । तेरो कारणले हामी पनि मर्नुपर्ने हुन्छ भनेर कतिले बास दिएनन् । आमाले त्यो सबै मेरा निम्ति सहनुभयो ।

डेढ वर्षको छोरीलाई बोकेर हिंडिरहेको बेला एकदिन आमाले सोध्नु भएछ– नानी हामी कहाँ जाने हो ? उसले भनिछ– म किन जन्मेहुँला ? बिचरा त्यसलाई के फिलिङ भयो कुन्नी ?

स्कूल पढ्ने भएपछि माओवादीको छोरी सेना पुलिस आए भन्दिन्छु भनेछन् । साथीहरुले नै त्रसित पार्ने । छोरी ‘आयो! आयो!’ भनेर कराउने, डराउने अनि बेहोश हुन थाली ।

पार्टीका नेताहरुसगँ सल्लाह गरें । मानसिक समस्याले ठूलो रुप लियो भने तनाव हुन्छ भनें । छोरीलाई दाङमा लगेर पढाउँछु भन्ने सोच आयो । कसैले खोज तलास पनि नगर्ला । बोर्डिङ नै पढाउँछु भन्ने भो । पार्टीमा सल्लाह गरें ।

नेताले छोरी बोर्डिङमा पढाउन थाली भनेर कुरा गर्नेहरुको कमी भएन । बोर्डिङमा पढाए अपराध जस्तो हुने समय थियो त्यो । दाङ ल्याएपछि छोरीको समस्या हटेर गयो ।

अर्को बच्चा

अर्को बच्चा ६७ मा सविंधान सभामा गइसकेपछि जन्म्यो । छोरी र छोराको ११ वर्षको फरक छ । संयोगबस जन्म दिन दुबैको माघ १३ गते बिहिबार बिहान ।

ओम अस्पतालमा डा. भोलाले नै अप्रेशन गर्नुभयो । पहिले कमला गौतम, अहिले बिमला केसीको नाममा । भूमिगत समयमा नाम सत्य भनिंदैनथ्यो ।

प्रत्यक्ष लड्न पाइन

एमाओवादीको पोलिटब्युरो सदस्य थिएँ । महिला संगठनको उपाध्यक्ष र कर्णाली प्रदेशको इन्र्चाज पनि हो ।

प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षमा लड्ने अवसर पाइन्छ भन्ने आशामा थिएँ । सबै वातावरण हुँदा पनि पछि हट्ने बाध्यात्मक अवस्था आयो ।

समानुपातिकबाट निर्वाचित भएपनि कार्यकारी जिम्मेवारी लिने सोचमा थिएँ । महिलाहरुले पनि कार्यकारीको जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने सावित गर्न चाहन्थें ।

मेरो सपना

अहिले मैले गरिबी निवारण, भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मा पाएको छु । मेरो कार्यकालमा कर्णालीमा रहेको गरिबी धेरै हदसम्म कम गर्छु । यसका लागि पञ्चवर्षीय योजना बनाउँदै छु ।

गरिबी निवारण गर्न युवाहरुलाई रोजगारी दिनुपर्छ । त्यसनिम्ति एकीकृत कार्यक्रम बनाउनु पर्छ । दोस्रो कुरा भूमिसम्बन्धी धेरै समस्या छन् । भूमिको प्रयोग र स्वामित्वमा समस्या छ । यसका लागि क्रान्तिकारी भूमिसुधार गर्ने तयारी छ ।

कम्तीमा कोही पनि भूमिहीन नहोउन् । आवासविहीन नहोउन् भन्ने हो । बाढी पीडितको समस्या समाधान आन्तरिक मामिला मन्त्रालयले गर्छ तर जमिनका समस्या म हेर्छु । उनीहरुको पनि उचित व्यवस्था होस् भन्ने छ ।

जनयुद्धकालमा जनसत्ताले पास गरेका जग्गाहरुको छुट्टै समस्या छ । रुकुम, सल्यान, जाजरकोटमा त्यस्ता समस्या छन् । तिनको पनि उचित समाधान खोज्नुछ । यी सबै समस्याको समाधान आयोग बनाएर त्यो मार्फत् गर्छु ।

धेरै नसके पनि कृषि पेशाप्रति सबैले गर्व गर्ने अवस्था सिर्जना गर्छु । किसानलाई हेर्ने दृष्टिकोण राम्रो छैन । काम नपाउनेले खेती गर्ने हो भन्ने बुझाई छ । उत्पादनकै क्षेत्रबाट जनतालाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने हो । त्यसपछि धेरै कुरा ठीह हुन्छ ।

(विमला केसी-तत्कालिन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वमा होमिएकी रुकुमकी विमला केसी, जो हाल राज्य पुनःर्संरचनापश्चात् निर्मित कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन्,)

सेराेफेराेबाट

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला