दुई तिहाई बहमुतको दम्भमा सरकारले राज्य आतंक सुरु गर्योः सिटौला

ZEN Travels

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुई तिहाई बहुमतको समर्थनमा बनेको लोकतान्त्रिक सरकारले सुरुवाती दिनमा नै राज्य आतंक (स्टेट टेरोरिज्म)को सुरुवात गरेको आरोप लगाएका छन्।

विभिन्न संचारमाध्यमका प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलमा मंगलबार नेता सिटौलाले सरकारको खास मूल्यांकन एक वर्षपछिमात्रै हुने भएपनि सुरुवातका दिन त्यति राम्रो नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

‘दुई तिहाई भन्दाबडि बहुमतको समर्थनमा शक्तिशाली सरकार बनेको छ। हामीले बनाएको संविधानको सफल कार्यान्वयन र मुलुकमा प्राप्त राजनीतिक परिवर्तनका उपलब्धिहरु बचाउने हो भने शक्तिशाली लोकतान्त्रिक सरकारले सकेसम्म कम बल प्रयोग गर्नु पर्छ,’ उनले भने।

लोकतान्त्रिक सरकारले कम भन्दा कम बल प्रयोग गर्ने र आफूँले संविधान र कानुनको अक्षरस पालना गर्नु पर्नेमा अहिले ठेकदारहरुलाई ऐन नियमभन्दा बाहिर गएर पक्राउ गर्ने र धम्क्याउने तथा विश्वविद्यालयका उपकुलपतिलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्ने जस्ता कार्य गरेर स्टेट टेरोरिज्मको सुरुवात गरेको आरोप सिटौलाले लगाए।

सरकारले ठिक ढंगले काम गर्ने र हिड्ने काम नगरेको अवस्थामा प्रमुख प्रतिपक्षी दल तथा राज्यको चौथो अंगका रुपमा स्थापित आम संचार माध्यमले सकरात्मक आलोचना गर्न सकेन भने सत्तामा बस्ने व्यक्ति अन्धो हुन सक्ने खतराप्रति पनि उनले सजग रहन मिडिया जगतलाई आग्रह गरे।

छलफलका क्रममा संचारकर्मीहरुले लोकतान्त्रिक शासन प्रणालीका लागि लामो संघर्ष गरेको नेपाली कांग्रेसको आन्तरिक कमजोरी तथा राष्ट्रिय मुद्दाको विषयमा देखिएकोे अलमलका कारण पनि सरकारको दम्भ बढेर जाने खतराका संकेतहरु देखा परेको भन्दै कांग्रेसको भूमिका प्रभावकारी बनाउन सुझाव दिएका थिए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला