सत्यकाे पक्षमा एक जना भए पुग्छ- गगन थापा

ZEN Travels

काठमाडौं-

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीको मागप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका विचारहरु तत्कालिन राजा ज्ञानेन्द्र शाहले संसद पुर्नस्थापनाको माग राख्नेप्रति व्यक्त गरेकै सरह भएको आरोप लगाएका छन्।

केसीको माग सम्बोधन गर्न कांग्रेसले प्रतिनिधि सभामा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रखर वक्ता थापाले प्रधानमन्त्री ओलीको कार्यशैली ज्ञानेन्द्रसँग तुलनामात्र गरेनन् लोकतन्त्र स्थापनाका लागि भएको दोस्रो जनआन्दोलनमा ओलीको कुनै सक्रिय सहभागिता समेत नभएको स्पष्ट सन्देश दिए।

गोविन्द केसीको मागको विषयमा चिकित्सक संघका प्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले व्यक्त गरेका विचारहरु तत्कालिन राजा ज्ञानेन्द्रले संसदको पुर्नस्थापनाको माग राख्दै रत्नपार्कमा भेला भएर आन्दोलन गर्ने तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले नेता माधवकुमार नेपाल, भरतविमल यादव र नारायणकाजी श्रेष्ठहरुप्रति गर्ने गरेको टिप्पणी जस्तै भएको बताए।

त्यतिबेलाको आन्दोलनमा विभिन्न पार्टीका नेताहरु सडक आन्दोलनमा आएर दिनहुँ नारा जुलुस र विरोध गरेपनि त्यी नेताहरुकोे सूचिमा प्रधानमन्त्री ओलीको नाम नरहेको घुमाउरो अभिव्यक्ति थापाले दिए।

प्रस्तुत छ थापाले व्यक्त गरेका विचारहरुको अंशः

म अहिले माननीय दिलेन्द्रप्रसाद बडुले राखेको प्रस्तावको समर्थन गर्दछु। चिकित्सा शिक्षा विधेयकको अन्तरवस्तुकाबारेमा पछि छलफल हुने नै छ।

गोविन्द केसीको विषयलाई लिएर चिकित्सक संघका साथीहरु सम्माननीय प्रधानमन्त्री ज्यूलाई भेट्न जानु भएको रहेछ। प्रधानमन्त्रीले भेटमा भन्नु भएछ, एउटा व्यक्तिले भन्दैमा डराउने मान्छे म होइन। स्वास्थ्य क्षेत्रमा के गर्दा हुन्छ भनि कसैले मलाई सिकाउनु पर्दैन।

२०५९ सालमा महाराज ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिइबक्स्यो। संसद पुनस्थापनाको माग लिएर रत्नपार्कमा केहि मानिसहरु सडकमा बसेका रहेछन्। महाराजका शुभचिन्तकले गएर महाराजलाई भनेछन्ः रत्नपार्कमा केहि मानिसहरु कराइरहेका छन्। के भनिरहेका छन् भनेर महाराजले सोधिबक्सेछ।

महाराजले गरेको कामले देशको भलो हुदैन भनेका छन्। महाराजले भनिबक्सेछः पृथ्वीनारायण शाहको वंशज म ज्ञानेन्द्र शाहलाई सिकाउने? सिकाउने मानिसहरु को हुन? उनले भनेछन्ः गिरिजाप्रसाद, माधव नेपाल भरतविमल यादव, नारायणकाजी श्रेष्ठ लगायत चार पाँच सय मानिसहरु बसेका छन्। चार पाँच सय मान्छेको झुण्डले महाराजलाई सिकाउने?

आज समय बदलिएको छ। पात्रहरु बदलिएका छन्। कर्णालीमा एक चिकित्सक अनसन बसेका छन्। केहि शुभचिन्तकहरु सम्माननीय प्रधानमन्त्रीलाई भन्न गएछन्ः कि डाक्टर भन्दैछन यसो गर्यो भने देशको स्वास्थ्य क्षेत्रको भलो हुँदैन।

सम्माननीय प्रधानमन्त्रीले भन्नु भएछः दुई तिहाई बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई एउटा चिकित्सकले सिकाउने कि देशको भलो के गर्दा हुन्छ भनेर? उनको समर्थनमा को छ भनेर सोध्दा केहि थान कांग्रेसहरु संसदमा हल्ला गर्दैछन् र केहि थान मानिसहरु माइतीघर मण्डलामा हल्ला गर्दैछन्। केहि थान मानिसहरुको भरमा दुई तिहाइ शक्ति भएको प्रधानमन्त्रीलाई सिकाउने?

मलााइ बडो दुःख लागेको छ, सम्माननीय सभामुख महोदय, मलाई चिन्ता पनि लागेको छ। महाराज झुकिबस्यो, संख्या हेरेर, टाउको गनेर। सत्यको पक्षमा उभिदै गर्दा फगत एक जना भएपनि पुग्छ। आज त डाक्टर गोविन्द केसी सत्यको पक्षमा उभिनु भएको छ। त्यो उभिदै गर्दाखेरि मान्छे कति छन् नहेर्नुहोस सम्माननीय प्रधानमन्त्री ज्यू। टाउको कति छन् नहेर्नुहोस्। सदनको टाउको पनि नगन्नुहोस्। म यो बेलामा सम्माननीय प्रधानमन्त्री ज्यूलाई शुभकामना दिन चाहन्छु, म चिन्ता व्यक्त गर्न चाहन्छु, मैले आजै मात्र बुझ्ने प्रयास गरेँ डाक्टर गोविन्द केसीको स्वास्थ्यस्थिति विग्रीएको छ। म विनित भएर सम्माननीय सभामुखमार्फत प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, उहाँलाई चिन्नुहोस्। कुनै झण्डा उहाँसँग छैन, कुनै लोभ, स्वार्थ छैन। केबल नशा छ नेपालको चिकित्सा क्षेत्रको सुधार गर्ने नशा छ। त्यो नशा कसैले नजरअन्दाज गरेर उत्रदैन। कसैले तर्र्साएर पनि उत्रदैन। उहाँको माग सम्बोधन गरौँ। नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न तयार छ। यसलाई हाम्रो बिचको छलफलको विषय नबनाउँ। हामी पनि भन्छौँ चिकित्सा शिक्षा विधेयक हिजो हामी सँगै बसेर ल्याएको विधेयक हो। यसका एउटा एउटा अन्तरवस्तुमा बसेर छलफल गर्न तयार छौँ। चिकित्सा शिक्षा विधेयक आज सम्माननीय प्रधानमन्त्रीज्यू, शिक्षामन्त्रीज्यूले एउटा दुईटा व्यक्तिको स्वार्थलाई छोडेरमात्रै हेर्ने हो भने हामी सँगै बसेर डाक्टर गोविन्द केसीको अनसनलाई सम्बोधन गरेर एक ठाउँमा उभिएर पारित गर्ने अवस्था छ। यसतर्फ सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला