नेकपा : पार्टी मिल्यो तर मिलेन मन

ZEN Travels

काठमाडौँ–

देशभर आफ्नै पार्टीका धेरै नेता–कार्यकर्तालाई आश्चर्यमा पार्दै तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले जेठ ३ गते पार्टी एकता गरे । कैयौँ नेताको असन्तुष्टिबीच जब ओली र प्रचण्डले दुई पार्टीलाई एकतामा धकेले, त्यसबेला बहस भएको थियो– पार्टी एकता त भयो, अब तत्कालीन एमाले र माओवादीका नेता–कार्यकर्ताको मन चाहिँ कहिले मिल्छ ?

पार्टी एकताका दुई महिना पुग्न थालेको छ । एकता गर्दा तीन महिनाभित्र सबै तहका सङ्गठनको एकता गर्ने नेकपाको कार्यसूची थियो । यसका लागि विभिन्न कार्यदल पनि बनेका छन् । यद्यपि आजसम्म केन्द्रमा बाहेक अन्य कुनै पनि कमिटीको एकता चाहिँ भएको छैन ।

पार्टी सङ्गठनभित्र एकताका लागि भैरहेको यो ढिलाइले साङ्गठनिक एकता त्यति सहज छैन भन्ने त बुझिन्छ नै, यसबाहेक दुवै पार्टीका नेता–कार्यकर्ताको मन अझै मिलेको छैन भन्ने सङ्केत पनि पाइन्छ ।

दुई पार्टीका नेता–कार्यकर्ताको विगतले उनीहरूको मन सजिलै मिल्दैन भन्न सक्ने ठाउँ पनि दिएको छ । कुनै बेला एकले अर्कालाई समाप्त पार्दा मात्र आफ्नो राजनीतिक भविष्य सुरक्षित ठान्ने तत्कालीन एमाले र माओवादीका नेता कायकर्ताबीच राजनीतिक–वैचारिक मात्रै होइन धेरै पटक सङ्गठनात्मक तनाव पनि भएको थियो ।

एमाले र माओवादी कार्यकर्तावीच कहीँ न कहीँ भावनात्मक एकतामा समस्या छ भन्ने उदाहरण असार ९ गते ४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिमा झल्कन्थ्यो । नेपाल कम्युनिस्ट पार्टी नेकपा लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै नेता गुरुङले पार्टीको साङ्गठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक नहुने बताएका थिए ।

‘हिंसात्मक सङ्घर्षबाट माओवादी आएको छ, शान्तिपूर्ण आन्दोलनबाट एमाले आएको छ । अब पार्टी सङ्गठन एउटै भयो । दुवै पक्षका कम्युनिस्टले विचारलाई पनि एउटै बनाउनुपर्छ । पार्टीको साङ्गठनिक एकतासँगै वैचारिक र भावनात्मक एकता हुन नसके एकीकरण उपलब्धिमूलक हुँदैन ।’ मुख्यमन्त्री गुरुङले दुवैपक्षका नेता–कार्यकर्ताका बीच भनेका थिए ।

हुन त कतिपय नेता एमाले–माओवादीबीचको एकतालाई भावनात्मक एकताकै उपज पनि ठान्छन् । बामगठबन्धन भएपछि धेरैजसो नेताहरूले चुनावमा एकअर्का पार्टीका कार्यकर्तालाई विश्वासमा ल्याउन र भोट तान्न आफूहरूबीच भावनात्मक एकता भैसकेको पनि बताएका थिए । यद्यपि यस्तो अभिव्यक्ति उनीहरूका लागि चुनाव जित्ने एउटा ‘हतियार’ थियो ।

उता नेकपाका महासचिव विष्णु पौडेल एकीकृत पार्टीका तत्कालीन एमाले र माओवादीका नेता–कार्यकर्ताको मन मिलाउने प्रश्न जटिल र कठिन विषय भएको मान्छन् । तर उनी गठबन्धन निर्माणदेखि चुनावसम्म आउँदा भावनात्मकपक्ष मिलेपछि एकताको बाटो खुला भएको ठान्छन् ।

महासचिव पौडेल भन्छन्, ‘निःसन्देह मन मिलाउने प्रश्न जटिल र कठिन विषय नै हो । खासगरी असोज १७ गतेपछि हामी जसरी राष्ट्रिय राजनीतिमा प्रस्तुत भयौँ । साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवार लिएर जनताका माझमा जाने हामीले जुन अभ्यास ग¥यौँ, त्यसदेखि यता हाम्राबीचमा मन मिलाउनका लागि त्यति धेरै कठिनाइ उत्पन्न भएन ।

स्थानीय तहमा भएका निषेधपूर्ण गतिविधि र कतिपय अवस्थामा उत्पन्न हिंसापूर्ण तनावले तत्कालीन एमाले र माओवादीका कार्यकर्ताबीच मन मिलाउन समय पनि लाग्न सक्छ । यद्यपि राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने सैद्धान्तिकपक्षलाई आधार मान्ने हो भने सबै तहका सङ्गठनात्मक एकतासँग नेकपा नेता–कार्यकर्ताको मनको पनि एकता हुनेछ । तत्काल चुनाव पनि छैन र लाभको पद लिने धेरै अवसर पनि नभएकाले अहिले ठूलो बहस नहुन पनि सक्छ । यो नेपकाका लागि सकरात्मक पक्ष हुन सक्छ ।

नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटा आश्र्चयजनक ढङ्गले भावनात्मक एकताको विकास भएको बताउँछन् । ‘हिजो एकअर्कालाई निषेध नै गर्नेगरी बहसमा उत्रेका दुई ठूला पार्टीमा अहिले नै पूरै तुष समाप्त भइसक्यो भनेर त म भन्दिनँ । तर आश्र्चयजनक ढङ्गले भावनात्मक एकताको विकास भएको छ । चाहे त्यो नेताकार्यकर्तामा, चाहे त्यो हाम्रा समर्थक शुभचिन्तकमा होस् ।’ सापकोटा भन्छन्, ‘बरु सबैले तल्लो तहका कमिटीको एकीकरण किन ढिला भैरहेको छ भनेर प्रश्न पनि उठाइरहेका छन् । सबैतिर उत्साहको वातावरण छ । सबै तहका एकीकरण तीव्र गतिमा जाओस् भन्ने आम चाहना छ । छिटफुट कहीँकतै तित्तता देखिनु त त्यो अस्वभाविक होइन । सबैको मन भावना ग्यारेन्टी मिल्छ । पुराना कुरामा कोही अल्झिँदैन ।’

नेकपाका केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल नेताहरूबीच खुबै मन मिलेको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा सबै नेताहरूको ट्याप्प मन मिलेको छ । अहिले कतै कुनै नेताहरूमा मनमुटाव छैन । सबै नेताबाट एउटै आवाज आएको छ । तल्ला कमिटीमा अहिले मन नमिले पनि एकीकरण भएपछि सबैको मन मिल्छ र एक ढिक्का  भएर अघि बढ्छन् ।’

जब–जब तल्ला कमिटीको एकता प्रक्रिया अगाडि बढ्छ, आकाङ्क्षीको सङ्ख्या बढ्दै जान्छ । त्यस्तो बेला भावनात्मक चोट पुग्ने गतिविधि र अभिव्यक्ति आउन सक्ने खतरा पनि उत्तिकै छ । तत्कालीन एमाले बागलुङका जिल्ला सचिवालय सदस्य सञ्जय श्रेष्ठ यसको सङ्केत गर्छन् । श्रेष्ठका अनुसार विगतमा जस्तो मनमुटाव छैन ।

पार्टी एकतापछि जिल्लामा भएका कार्यक्रम संयुक्त हुने गरेका छन् । तर अहिलेसम्म सङ्गठन एकीकरण नहुँदा भने अन्योलता कायमै छ । दुवै तर्फका नेताहरू आ–आफ्नो ठाउँमा नेतृत्वको दाबी गरिरहेका छन् । श्रेष्ठ भन्छन्, ‘कुनै औपचारिक निर्णय भैसकेको छैन । दुवैतर्फका नेताहरू आफ्नो भागमा कुन पद पर्छ भन्ने पर्खाइमा छन् । एकीकरणको प्रक्रियामा गएपछि भने केही मनमुटाव आउन पनि सक्ला ।’

नेकपाले सरकार चलाउँछ कि सरकारले नेकपा ?​

१७ असोजमा प्रदेश र सङ्घीय चुनावका लागि बामगठबन्धन बनाएपछि तत्कालीन एमाले र माओवादी कार्यकर्ताबीच निकटता सुरु भएको थियो । त्यसपछि उनीहरू एकअर्काका पार्टीका गतिविधिसँग नजिक भएर ‘भावना’ जोड्ने काम थालेका थिए । चुनावमा बामगठबन्धनलाई सफलता मिलेपछि जेठ ३ मा पार्टी एकता गरेका थिए, जुन घटना कतिपयका लागि कल्पनाभन्दा बाहिरको थियो ।

कार्यकर्ता तहमा मात्र किन ? नेकपाका हालका दुई अध्यक्ष ओली र प्रचण्डबीचको विगत पनि त्यति समुधर सम्बन्धले भरिपूर्ण होइन् । बरु, उनीहरूको विगतको सम्बन्धमा मिठाभन्दा तीता अनुभव धेरै छन् । तर अहिले यी दुई नेताबीचको सम्बन्ध हालसम्मकै सुमधुर रहेको निकट नेताहरू बताउँदै आएका छन् । विगतमा पार्टीभित्र एकल नेतृत्व गर्ने शैली बनाएका ओली र प्रचण्डले संयुक्त नेतृत्व कसरी  दिन्छन् ? यो चाहिँ निरन्तर उठिरहने प्रश्न हुन सक्छ ।

उदाहरण २– पार्टी कार्यालयमा आवत जावत पातलो

३० असारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमलाई प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जलि दिए । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिवंगत नेता आलमको पार्थिव शरीरमा उहाँहरूले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलिका लागि नेता आलमको पार्थिव शरीरलाई शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । नेता आलमलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका नेता तथा कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए ।

पार्टी एकतापछि यति धेरै नेता–कार्यकर्ता पार्टी कार्यालय पुगेको पहिलो पटक हो । तर अरू समयमा नेकपाको मुख्यालय रहने भनिएको तत्कालीन एमालेको धुम्बाराहीमा रहेको पार्टी कार्यालय सुनसान जस्तै हुन्छ । त्यस्तै तत्कालीन मओवादीको पार्टी कार्यालय भएको पेरिसडाँडा पनि सुनसान नै छ । तत्कालीन पार्टीका दुवै कार्यालयलाई नेकपाको कार्यालय बनाइएको छ । विगतमा आ–आफ्ना पार्टीका कार्यालयमा जाने गरेका नेताकार्यकर्ता अहिले पनि त्यसैलाई निरन्तरता दिएका छन् ।

विपक्षीका ‘पपुलिस्ट’ मुद्दा : काङ्ग्रेसलाई फाइदा होला त ?

दुवैतर्फका सचिवालयका अनुसार तत्कालीन एमालेको कार्यालयमा एमालेका मात्रै नेता कार्यकर्ता जाने गरेका छन् । त्यस्तै माओवादीको कार्यालयमा माओवादीका नेता कार्यकर्ता मात्रै जाने गरेका छन् । तर जसका केही वैठकहरू भने दुवै कार्यालयमा भए । अहिलेसम्म नेकपाले पार्टी वैठक दुवै कार्यालयमा गरेको छैन ।

एकतापछि पार्टीका ठूला कार्यक्रम भएका छैनन् । पेरिसडाँडा पार्टी कार्यालयका मुख्य सचिव प्रल्लाद बुढाथोकीका अनुसार अध्यक्ष ओली एक पटक पेरिसडाँडा पुगेका छन् । अन्य नेताहरूमा माधवकुमार नेपाल र विष्णु पौडेल भने दुई तीन पटक कार्यालय पुगेका छन् ।

दुवैतर्फका कार्यालयमा अध्यक्ष महासचिवका कार्यकक्ष छन् । मुख्य नेताहरू नै कार्यालय नपुग्दा अन्य कार्यकर्ता पनि नआउने गरेको बुढाथोकी बताउँछन् । धुम्बाराही पार्टी कार्यालयमा पनि तत्कालीन माओवादीका नेताहरू कमै जाने गरेका छन् ।

नेकपा राजनीतिक पार्टी कि ‘कम्पनी’ ?

अहिले मुख्य कामहरू धुम्बाराहीबाट हुने गरेका छन् । नेकपाका चिठीपत्र धुम्बाराही पार्टी कार्यालयबाट तयार भए पनि तत्कालीन माओवादी सर्कलका नेताहरू लागि वितरण गर्ने जिम्मा पेरिसडाँडाको भागमा पर्छ । एमाले सर्कलका नेताहरूको जिम्मा धुम्बाराही आफैँ गर्ने गर्छ ।

उदाहरण ३– संसदीय दलको कार्यालयमा नाम नेकपा तर काम पुरानै पार्टीका

तत्कालीन पार्टी हँुदा जहाँ–जहाँ संददीय दलको कार्यालय थिए, अहिले पनि त्यही छन् । ती कार्यालयमा नाम मात्र परिवतर्नन भएको छ । कर्मचारी पुरानै छन् । काम पनि पहिलाकै जस्तै छ । तत्कालीन माओवादीको संसदीय दलको कार्यलयकामा रहेका शाखा अधिकृत सिंहराज रुम्बाका अनुुसार दुवै पाटीका सांसदहरू कार्यालयमा आउने गरेका छन् । तर कार्यालयमा रहने अन्य कर्मचारीका अनुसार माओवादीका सांसदहरू मात्र आउने गरेका छन् । कहिलेकाहीँ संयुक्त बैठक भने त्यहाँ हुने गरेको छ । तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा पनि एमालेका सांसदहरू मात्र पुग्ने गरेका छन् । सासंदहरूलाई भेट्न आउने कायकर्ता तत्कालीन आ–आफ्ना कार्यालयमा आउने गरेका छन् ।

यी पाँच घटना जसले सरकारको छवि धमिल्यायो

के भन्छन् नेता ?
राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा चलिरहँदाभित्र र बाहिर कार्यकर्ताको उपस्थिति बाक्लो थियो । उपस्थित कार्यकर्ता उत्साहित थिए । तर विगतका दुई फरक स्कुलिङबाट आएका कार्यकर्ताबीच भावनात्मक एकताका लागि केही समय लाग्न सक्छ । तर,  नेताहरू भावनात्मक एकता भैसकेको दाबी गर्छन् । तर नेताका भाषण र व्यवहार भने अलि फरक देखिन्छन् ।

नेकपाका केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल भन्छन्– सबैको मन ट्याप्प मिलेको छ

हाम्रो पार्टी मिल्यो । त्यसपछि केन्द्रमा ३ तहका कमिटीहरू बनेका छन् । त्यहाँ कतै विवाद भएन । तलका कमिटीको एकीकरणमा गएका छैनाँै । त्यो भएर मन नमिलेको जस्तो देखिएको हो । जब सबै तहका कमिटी एकीकरण हुन्छन्, अनि सबैका मन मिल्छन् । केन्द्रमा सबै नेताहरूको ट्याप्प मन मिलेको छ । तपाईंहरू देखिरहनुभएको छ । अहिले कतै कुनै नेताहरूमा मनमुटाव छैन । सबै नेताबाट एउटै आवाज आएको छ । कुनै नेताको फरक छैन । सबै नेता एक साथ हिँड्नु भएको छ । सायदै यो कम्युनिस्ट आन्दोलनको ठूलो उपलब्धि हो । तल्ला कमिटीमा अहिले मन नमिले पनि एकीकरण भएपछि सबैको मन मिल्छ र एक ढिक्का  भएर अघि बढ्छन् ।-ratopati.com

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला