बाघको संरक्षण चुनौतीपूर्ण बन्दै

ZEN Travels

नारायण अधिकारी ,चितवन –

मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरुमा मानवीय अतिक्रमण बढ्दै गएपछि बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल पछिल्लो समय बढ्दो जनसंख्याका कारण विभिन्न नाममा गरिएका वन क्षेत्रको अतिक्रमणका कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताउनुहुन्छ ।

माछा मार्ने, न्यूरो टिप्ने, तामा काट्ने नाममा मध्यवर्तीका स्थानीय बासिन्दा वन क्षेत्र पस्ने, पर्यटकलाई सबै जसो क्षेत्रमा पु¥याउन खोज्ने, पानीका मुहानहरु सुक्दै जाँदा आहारा प्रजातिका जनावर घट्दै जाने, माइकेनिया जस्ता झारले घाँसे मैदान अतिक्रमण गर्दै जानेजस्ता कारणले बाघ संरक्षण चुनौतीपूर्ण भएको उहाँको भनाइ छ ।

वर्षाको समयमा नदीहरुमा आउने बाढीले घाँसे मैदानमा क्षति पु¥याउँदा र बाघ एवं आहारा प्रजातिका जनावर बगाएर एक ठाउँबाट अर्काे ठाउँमा पु¥याउने, मर्नेजस्ता कारण पनि बाघका लागि चुनौतीपूर्ण बनेको ढकालको ठम्याई छ ।
चितवन राष्ट्रिय निकुञ्ज सानो भएकाले बाघ पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भसम्म पनि पुग्ने गरेको उहाँ बताउनुहुन्छ । मध्यवर्तीसमेत गरी चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्र एक हजार तीन सय वर्गकिलोमिटर हाराहारी रहेको छ ।


राष्ट्रिय प्रकृति संरक्षण कोष सदरचिडिया खानामा कार्यरत बाघ विज्ञ डा चिरञ्जीवी पोखरेलले बासस्थान घट्दै जानु, चोरी शिकारी एवं अवैध व्यापार बढ्नु, आहारा घट्दै जानुजस्ता कारण बाघ संरक्षण चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । विश्वका १३ वटा देशमा पाटेबाघ पाइने बताउँदै उहाँले त्यसको नौ प्रजातिमध्ये तीन प्रजाति लोप भइसकेको बताउनुभयो । नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइने पोखरेलले बताउनुभयो । आउँदो दिनमा सबैले आ–आफ्नो ठाउँबाट बाघ संरक्षणमा टेवा पु¥याउनुपर्ने उहाँको भनाइ छ ।

विश्वमा ७० वर्षअघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको छ । बाघको संख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा राष्ट्रिय निकुञ्जमा सात र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ रहेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाघका आहारा मुख्य रुपमा ठूला जनावर चित्तल, जरायो, गौरीगाई, निलगाईलगायत हुन् । भोकाएको बाघले करिब २२ पटकसम्म शिकारको प्रयासपछि जनावरको शिकार गर्ने गर्दछ । जसका कारण सानो जनावरले बाघलाई आहार पुग्दैन । कँडेलले भन्नुभयो “ बाघले एकैपटक ८८ किलोसम्म खान सक्छ र सात देखि १० दिनसम्म आराम गर्दछ ।” जसका लागि निकुञ्जमा प्रशस्त ठूला जनावर चाहिन्छ ।

उहाँका अनुसार एउटा भाले बाघका लागि १० देखि १२ वर्ग किलोमिटर क्षेत्रफल चाहिन्छ । एक क्षेत्रमा एउटा मात्रै भाले बाघ बस्ने गर्दछ । बाघको बासस्थान संकुचन, वनको खण्डीकरण, चोरी शिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमासम्बन्धी समस्याहरु पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएको निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत शिवराज भट्ट बताउनुहुन्छ ।

निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका जंगली जनावर पाइन्छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल निकुञ्ज स्थापनाताका २०२९ सालमा २० प्रतिशत घाँसे मैदान रहेकोमा अहिले घटेर १० प्रतिशतमा झरेको बताउनुहुन्छ । जसका कारण बाघको आहारा प्रजाति संकटमा पर्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव बाघमा पर्ने उहाँले बताउनुभयो । निकुञ्ज हुँदै बनाइएका सडकका कारण बाघको बासस्थान खण्डीकरण भएको भन्दै उहाँले बाघको अंग प्रत्यंगको व्यापार, चोरी शिकार, मानव बाघबीचको द्वन्द्व पनि बाघ संरक्षणका लागि चुनौतीपूर्ण भएको बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै निकुञ्जमा विभिन्न कारणले छ वटा बाघ मरेका छन् । जसमध्ये एउटा बाघ प्रतिशोधका कारण मानिसले विष हालेर मारेको उहाँले बताउनुभयो । अन्य बाघ जुधेर मरेको तथ्यांक छ । निकुञ्जभित्र उपयुक्त बासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव बस्तीभित्र पस्दा बाघ र मानवबीच द्वन्द्व बढ्दै जाने गरेको छ । गत आर्थिक वर्षमा बाघकै आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला