सरकार विरुद्ध काँग्रेसका १० मुद्दा र ३ आरोप, आज देश–विदेशबाट खवरदारी

ZEN Travels

काठमाडौं |

सरकार गलत बाटो तर्फ लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देश विदेशमा खवरदारी कार्यक्रम गर्न लागेको छ ।
काँग्रेसले आज सवै जिल्ला र ३० भन्दा बढी देशहरुमा सरकारका गलत कामका विरुद्धमा खवरदारी गर्ने जनाएको छ ।
काँग्रेसले आन्दोलनका लागि नौ मुद्धा र तीन आरोप अगाडी सारेको नेताहरुले जानकारी दिएका छन् ।

संबैधानिक व्यबस्था अनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने, अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनु पर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने मुद्धा उठाउन थालेको छ ।

त्यसैगरी पुर्ववर्ती देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने माग पनि काँग्रेसले गरेको छ ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा तत्कालीन सरकारले जारी गरेको अध्यादेशमा भएको व्यवस्थालाई समावेश गर्न दवाव दिन काँग्रेसले खवरदारी गर्न लागेको जनाएको छ ।
त्यसैगरी प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बारेमा तत्काल निर्णय गर्न पनि काँग्रेसले सडक र सवै प्रदेश सभाबाट दवाव दिने भएको छ ।

काँग्रेसले सरकारलाई मुख्य तीन आरोप लगाएको छ । हरेक क्षेत्रमा करको आतंक मच्चाएको तर मूल्यवृद्धिप्रति गम्भीर नभएको, नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न थालेको, बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेको काँग्रेसको आरोप छ ।

यीनै आरोप र मुद्धालाई जनता समक्ष लगेर सरकार विरुद्ध जनदवाव सृजना गर्न खवरदारी कार्यक्रम आयोजना गरिएको काँग्रेसका सहमहामन्त्री डा प्रकाशसरण महतले नेपाली रेडियो नेटवर्कलााई जानकारी दिनुभयो ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला