अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ कार्यसमितिको आह्वान

ZEN Travels

विश्वभरी छरिएका नेपाली भाषी पत्रकारहरूको संजाल – अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघको विधिवत गठन भएको छ। लक्ष्य र उद्देश्य ठूलो छ, चुनौतीहरू प्रशस्तै छन्, तर गन्तव्य छुन असम्भव भने छैन। संचारकर्म गर्दै आएका मित्रहरूको हितमा काम गरेर देखाउनकै लागि अठोट गरेर हामी यस संस्थामा गोलबन्द भएका हौं। सम्पूर्ण संचारकर्मी मित्रहरू, संचारकर्मसंग सरोकार राख्ने संस्थाहरू, अग्रजहरूलाई विनम्र अनुरोध छ – यो संस्था एक गैर नाफामूलक र नितान्त प्रोफेशनल संस्था हो, विशुद्धरूपमा संचारकर्म गर्दै आएका र विश्वभरी छरिएका, अवसरका लागि भौतारिएका वा सहयोग र अवसरको खोजीमा रहेका मित्रहरू लगायत अव्यवस्थित अवस्थामा रहेका अनलाईन मिडियाहरुलाई उनीहरुको संस्थागत विकासमा सहयोग गर्दै व्यवस्थित रुपले अन्तर्राष्ट्रिय मूलधारको पत्रकारितामा समाहित गर्दै व्यवसायिक पत्रकारितातर्फ उन्मूख गर्ने उदेश्यका साथ हामी सबैसंग हातोमालो गर्न चाहन्छौ। यस उद्देश्य प्राप्तीका लागि नेपाल वा प्रवासमा कार्यगत पत्रकारका संगठनहरुलाई परिचालन गरिने इन्जाको नीति रहेको छ । यस संस्थाको मूल मर्म र उद्देश्य नै अलग भएकाले हामी संकुचित र सानो घेराबाट बाहिर निस्कनु पर्दछ। हाम्रा लागि सबै संचारकर्म गर्ने मित्र र संस्थाहरू समान हुन। नेपाली पत्रकारिताको विकास र विस्तारका लागि यो फड्को मार्ने सुनौलो समय र अवसर भएकाले आउनु होस् सहकार्य गरौ- यो तपाईहरू सबैको साझा चौतारी हो, हामी काम गर्न आएका हौ, संस्थाको उद्देश्य अनुरूप काम गरेर देखाउने अठोटका साथ अगाडि बढेका छौ।

बिगत एक दशकदेखि प्रवासमा विस्तार भएका संचारक्षेत्र र त्यसमा आवद्ध पत्रकारहरूको वर्तमान अवस्थालाई हामी सबैले नजिकबाट हेर्ने, बुझ्ने र जान्ने अवसर पायौ । उनीहरूको दक्षता, योग्यता र अनुभवले कहिलै पनि मूलधारको पत्रकारितामा स्थान पाउन सकेन। यसका पछाडिका विविध कारणहरूलाई हामीले नजिकबाट अध्ययन र चिन्तन गरेका छौ । यसै अध्ययन, छलफल र प्रवासमा मूलधारका मिडियाहरूसंगको सम्वन्ध र सल्लाहको परिणामस्वरूप विशुद्धरूपमा नेपाली पत्रकारहरूको हितमा काम गर्ने निर्णयमा हामी एकताबद्ध भयौ । व्यवस्थित र व्यवसायिकरूपले संस्थालाई अगाडि बढाउन एउटा कमिटी नै चाहिने बहुमत साथीहरूको सुझावका कारण सानो कार्य समितिको गठन गरियो, जहॉ गुणराज लुईटेलजको अध्यक्षतामा अमेरिका लगायत पाँचै महादेशमा उपाध्यक्षहरु छनौट गरियो । यसै गरि संस्थाको बोर्ड अफ ट्रस्टीमा रामचन्द्र खरेलको सभापतित्वमा वरिष्ठ पत्रकार योगेश उपाध्यायको छनौट गरियो। सल्लाहकारहरुमा हरि अधिकारी, शेखर ढुंगेल, जर्ज मेसन बिश्व बिद्यालयका प्रा. क्रिस्टोफर जे फरेल, सहायक प्रा. जेफ साउथ, एसपीजे का रबिन सिडरस्कि, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार प्रा. घमराज लुइँटेललाई चयन गरियो । संस्थाका अन्य कार्यकारी पदाधिकारीहरु चुनिए । यो सानो र छरितो कार्य समितिले अमेरिकाको भर्जिनिया राज्यमा स्थापित सस्थाको मुख्य कार्यालयमा रहेर निति नियम निर्माण लगायत व्यवस्थापकीय कार्य गर्नेछ भने पॉचै महॉदेशमा नियुक्त संयोजकहरूको अगुवाईमा प्रत्येक मुलुकका लागि नियुक्त संयोजकहरूले कार्यक्रमहरू संचालन गर्नुहुनेछ। यस संस्थामा सबै पत्रकारहरू, तिनका संघ संगठन, सरोकार संस्थाहरू तथा सद्भाव राख्ने जो कोही सदस्य हुन सक्ने अवधारणा राखिएको छ (विधानमा काम हुँदै)। यो संस्था पत्रकारहरूको संगठन मात्र हुने छैन, संघीय अवधारणा भित्रको एउटा व्यवसायिक गैर नाफामूलक संस्थाका रूपमा कार्य गर्नेछ।

अन्तमा, नेपालभित्र वा प्रवासमा रहेका नेपाली पत्रकारका संस्थाहरु, अनलाईन मिडियाहरु, पत्रकार र लेखकहरु, पत्रकारिताका विद्यार्थीहरुको व्यक्तिगत तथा संस्थागत विकासका लागि सहयोग प्रदान गर्दै ब्यबस्थित तथा ब्यवसायिक रुपले मूलधारको पत्रकारितामा समाहित गर्दै उनीहरुको वृत्ति विकासमा सहयोगी भूमिका खेल्ने इन्जाको मूल उद्देश्य र नीति रहेकोले यस पवित्र उद्देश्यका लागि सम्पूर्ण पत्रकार मित्रहरुको सहयोग, सदभाव र समन्वयका लागि इन्जा कार्यसमिति हार्दिक आह्वान गर्दछ ।
धन्यवाद!
इन्जा कार्यकारी समितीका तर्फबाट
सुनिलमणी दाहाल
उपाध्यक्ष
अगस्त ४, २०१८

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला