नयाँ कानुन लागुसँगै सरकारले खुशीयाली मनाउने, अन्य क्षेत्र असन्तुष्ट

ZEN Travels

काठमाडौं ।

मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै नयाँ कानून आजबाट लागू भएको छ । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गरी आजबाट नयाँ कानून कार्यान्वयनमा आएको होे ।

जङ्गबहादुर राणाको पालामा वि.सं. १९१० मा बनेको मुलुकी ऐनलाई मुलुकी देवानी(संहिता) ऐन, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐनले प्रतिस्थापन गरेको हो

अघिल्लो संसदले नै सो कानून बनाएको भएपनि जनताका दैनिकीसँग प्रत्यक्ष जोडिने विषय भएकाले कार्यान्वयनका लागि झन्डै एक वर्षको समय छुट्टयाइएको थियो । लामो बहस र छलफलपछि बनाइएको सो कानूनमा पारिवारिक, आर्थिक, सामाजिक, मुलुकको शान्ति सुरक्षासँग जोडिएका विषयलाई स्पष्ट पारिएको छ ।

आजबाट लागू भएको नयाँ कानूनमा धर्म परिवर्तन, दाइजो प्रथा, बहुविवाह, बलात्कार, जथाभावी घर निर्माण लगायत विषयलाई कसुर ठहर गर्दै कारबाही हुने व्यवस्था छ ।

मुलुकी अपराध संहितामा विभिन्न ६ अपराधमा आजीवन कैद तोकिएको छ । यसअघि २० वर्ष जन्मकैदको सजाय राखिएकोमा अहिले जन्मकैदलाई २५ वर्ष बनाइएको छ ।

त्यस्तै, अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ । राष्ट्रपति वा संसदलाई धम्की दिएमा सात वर्षसम्म कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैबीच, मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू भएकोमा देशैभरी खुशियाली मनाउन सरकारले आह्वान गरेको छ ।
सरकारको आह्वान अनुसार विभिन्न सरकारी कार्यालय तथा संस्थाहरुले दिपावली, चियापनलगायतका कार्यक्रमहरुको आयोजना गरेका छन् ।
महान्यायाधिवक्ताको कार्यालयले आज देशव्यापीरूपमा दीपावली मनाउन लागेको जनाएको छ । सरोकारवालाका बीचमा संहिताका मुख्य विशेषताका बारेमा अन्तक्र्रिया कार्यक्रम गर्न पनि महान्यायाधिवक्ताको कार्यालयले देशैभरका कार्यालयलाई निर्देशन दिएको छ ।
तर कतिपय पेशा, व्यवसाय र बर्ग समुदायले भने यी कानुनहरु प्रति आपत्ति प्रकट गरेका छन् ।

नेपाल चिकित्सक संघले १५ दिने अल्टीमेटम नै दिएको छ भने पत्रकारहरु पनि निरन्तर आन्दोलीत छन् । उद्योगी, व्यवसायी, प्रहरीलगायतले पनि नयाँ कानुनहरुमा असन्तुष्टी जनाउदै संशोधनको माग गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला