‘करका कारण गाउँमा ‘सिंह’मात्रै आयो, ‘दरबार’ आएन’

ZEN Travels

काठमाडौं ।

देशव्यापीरुपमा भ्रष्टाचार तथा अनियमितता बढेको भएपनि त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले ध्यान नदिएको भनी सांसदले गुनासो गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा सांसदले जनता र राज्यप्रति जवाफदेही हुन नसक्दा धेरैजसो निकायले जनपक्षीय काम गर्न नसकेकाले गर्दा समृद्धिको यात्रासमेत प्रभावित भएको टिप्पणी गरे ।

सांसद शेरबहादुर तामाङले हरेक निकायका पदाधिकारी जिम्मेवार बन्न नसक्दा जनताको आर्थिक समृद्धिको अपेक्षा पूरा हुन नसक्ने बताउँदै सार्वजनिक पदका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने र यो कानुनीरुपमा नै व्यवस्था गर्नुपर्ने भनाइ राखे ।

सांसद भरतकुमार शाहले निर्माणाधीन गौतमबुद्ध विमानस्थल निर्माणमा मुख्य योगदान पुर्‍याएका आयोजना प्रमुखको सरुवा गरिएकामा आपत्ति प्रकट गरे ।

उनले आगामी १० महिनाभित्र सन्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलको प्रमुख सरुवा गरेर आयोजनालाई पछाडि धकेल्न लागिएको त होइन ? भन्ने प्रश्न पनि गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिनपहिले गौतमबुद्ध विमानस्थलका आयोजना प्रमुख ओम शर्मालाई निजगढ विमानस्थलमा सरुवा गरेको थियो ।

सांसद शाहले विमानस्थल निर्माण सकिएपछि आयोजना प्रमुखलाई सरुवा गर्दा हुनेमा अहिले नै गरिनाले आशंका जन्माएको उल्लेख गरे ।

कर बोझ 

सांसद पम्फा भुसाल र दुर्गा पौडेलले देशव्यापीरुपमा अनावश्यक करको बोझ बढेका कारण जनताले दुःख पाएको भनी गुनासो गरे ।

करको दायराभित्र गरिब परेका छन् भन्दै उनीहरुले कुन निकायले कस्तो कर लगाउने भन्नेमा स्पस्ट निर्देशन दिन आग्रह गरे ।

सांसद पुष्पा भुसालले पनि स्वेच्छिकरुपमा तिर्नुपर्ने करलाई जबर्जस्ती बढाइएको र साना व्यवसाय गर्नेलाईसमेत कर लगाएर पेसाबाट विस्थापित हुने अवस्था आएको भन्दै आपत्ति प्रकट गरिन् ।

सांसद उमाकान्त चौधरीले गाउँगाउँमा सिंहदरबारको नारा लगाएर निर्वाचनमा सफलता हासिल गरिएपनि पछिल्लो समयमा करका कारण गाउँमा ‘सिंह’मात्रै आएको तर ‘दरबार’ नआएको भन्दै गुनासो बढेको बताए ।

सांसद प्रमोद साहले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि भएका कारण नागरिकको दैनिक जनजीवन प्रभावित भएकामा आपत्ति जनाए ।

बाढी–पहिरोबाट मार

सांसद नारायणप्रसाद खतिवडाले केही दिनपहिलेको बाढी–पहिरोका कारण पासाङल्हामु राजमार्ग प्रभावित भएको र यातायात आवागमनमासमेत प्रभावित भएको बताउँदै राजमार्ग पुनःनिर्माणमा ध्यान दिन ध्यानाकर्षण गराए ।

उनले भूकम्पले भत्काएका नुवाकोटका पुरातात्विक सम्पदाको पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति पनि आपत्ति जनाए ।

सांसद लालबहादुर थापाले वर्षाका कारण जमिन भासिने, पहिरो आउनेजस्ता प्राकृतिक प्रकोपका कारण बाजुरा, बझाङलगायत जिल्लाका बासिन्दा प्रभावित भएको, पीडितले राहत नपाएको र खुला आकाशमा रात काट्नुपर्ने अवस्था आएको छ भन्दै राहतको प्रबन्ध गर्न सरकारसँग माग गरे ।

सभामुखको ध्यानाकर्षण

सभामुख कृष्णबहादुर महराले कर तथा कृषकसँग सम्बन्धित विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको बताए ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य र विशेष समयमा सांसदले सदन र सरकारको पटक–पटक ध्यानाकर्षण गराएपछि उनले आफ्नो पनि ध्यानाकर्षण भएको उल्लेख गरेका थिए । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला