अर्धवार्षिक परिक्षामा टुप्लुक्क पास भएका प्रम ओलीलाई असफल हुने छुट छैनः कांग्रेस

ZEN Travels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको दुई तिहाई बहुमतको बलियो सरकार हरेक हिसाबले असफल भएको दाबी गरेको छ।

सरकारको ६ महिने कार्यकाल पुगेकै दिन आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली सरकारको अर्धवार्षिक परिक्षामा जस्ट पास भएको मिडिया रिपोर्ट आएको र उनी यसरी असफल हुनुमा नेतृत्वको समन्वयकारी भूमिकाको अभाव भएको बताए।

‘यो सरकारलाई असफल हुने छुट छैन,’ शर्माले पत्रकार सम्मेलनमा भने।

प्रधानमन्त्री ओलीले आफू लोकन्त्रको लागि १४ वर्ष जेल जीवन विताएको र अहिलेको सरकार लोकतान्त्रिक निर्वाचन पद्धतिबाट आएको दाबी गरेपनि उनको नेतृत्वमा रहेको सरकारले लोकतान्त्रिक संस्कृति र चरित्र देखाएर संविधानले परिकल्पना गरेको संरचनालाई संस्थागत गर्न नसकेको आरोप पनि लगाए।

सरकारले संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनको दिशामा जिम्मेवार ढंगले प्रस्तुत नहुँदा अहिले प्रदेशका मुख्यमन्त्री र मन्त्रीदेखि त्यहाँका जनप्रतिनिधिहरुले आसन पाएपनि शासन नपाएको गुनासो गरिरहेको शर्माले बताए।

अहिलेसम्म जम्मा कर्णाली र गण्डकी गरी दुईवटा प्रदेशले मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगोे लगाउन सकेका र बाँकीले केहि गर्न नसकेको प्रसंग उल्लेख गर्दै शर्मालले सरकार कतै संघीयतालाई कमजोर बनाउँदै त्यसको विरुद्धमा जनमत श्रृजना गरी यसलाई असफल बनाउन त लागेको छैन भन्ने आशंका उब्जिएको पनि बताए।

सुशासनको सवालमा पनि विफल भएको बताउँदै सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट पक्रेर प्रधानमन्त्री निवासलाई प्रहरी हिरासत जस्तो बनाएको र भ्रष्टाचारको विकेन्द्रीकरण गरेको आरोेप पनि उनले लगाए।

सुन तस्करी प्रकरणमा ठूला माछा पक्रिने अवस्थामा रहेको दाबी गरिएपनि अहिले योे विषय सेलाएको तर्फ लक्षित गर्दै शर्माले अहिले ठूला माछा भनिएकै समेत उम्किने अवस्था सरकारले नै बनाएको दाबी गरे।

जनतालाई समृद्ध नेपाल र सुखी नेपालीकोे नारा बाँडेर निर्वाचन जितेको सरकारले अहिले जनताको दैनिक जनजीवन नै अस्तव्यस्त हुनेगरी मूल्यवृद्धि हुँदा त्यसको नियन्त्रण गर्न ध्यान नदिएको आरोप पनि उलने लगाए। ‘संसदमा मूल्यबृद्धिको विषयमा सांसदहरुले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले जिम्मेवार ढंगले जवाफ दिने कार्य नगरी आफूँ सानो छँदा ५० पैसा मानो घ्यू र ९० रुपैैयाँ तोला सुन किनेको भन्ने जस्तो गैरजिम्मेवार जवाफ दिएर पदिय मर्यादा कायम गर्न सक्नु भएन,’ प्रवक्ता शर्माले भने।

समृद्धिको यात्राको सन्दर्भमा सरकारले सपनाको हवाई उडान लिए पनि नीति तथा कार्यक्रममा न इच्छाशक्ति न त बजेटमार्फत त्यस्तोे क्रमभंगको कुनै भिन्न कार्यक्रम नै दिन सक्यो भन्दै उनले ओेली सरकारले पुरानै कुरालाई आफ्नो प्रगति विवरणमा राखेको दाबी गरे।

सरकारले हालै सार्वजनिक गरेको पाँच महिने कार्यप्रगति विवरणमा उल्लेखित बुँदा स्मरण गर्दै जस्तो सुकै अथवा जोसुकै सरकारमा भएको भएपनि हुन सक्ने नियमित प्रकृतिका कामहरु जस्तै नारायणगढ मुग्लिङ सडक कालोपत्रेदखि भेरी बबइ डाइभरसन निर्माण र १ लाख ७६ हजार पशुमा कृत्रिम गर्भाधान गराएको जस्तो कुरालाई सरकारको प्रगतिका रुपमा उल्लेख भएकोमा आश्चर्य प्रकट गरे।

साउन १५ गते कांग्रेसले गरेको प्रदर्शनमा जनमत देखाएपनि सरकारको राजीनामा नमागेको बताउँदै उनले काल्पनिक उडानमा रहेको ओली सरकारले कुनै पनि प्रसंशनीय जिम्मेवारी पूर्ण कार्य नगरेको टिप्पणी गरे।

सरकारले विधि र कानुनको शासन स्थापन गर्ने र शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप अघि बढ्ने भन्दा पनि न्यायलयलाई प्रधानमन्त्री ओलीको दोहोरो चरित्रका कारण कार्यकारिणी र व्यवस्थापिकाको लाचार छाँया बनाउने कोशिश गरेको आरोप पनि उनले लगाए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला