राष्ट्रियसभाले तीन विद्येयक विषयगत समितिमा पठायो, शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न सांसदहरुको माग

ZEN Travels

काठमाडौं-

राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।
उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ हुन् ।

ती विधेयलाई क्रमशः महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनि बैठकमा प्रस्ताव गर्नुभएको थियो ।
ती प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

यसअघि, राष्ट्रिय सभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गर्नुभयो ।
बकर ईद पर्व भोली भोली मनाइदै छ ।राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १२ गते ११ बजे बस्नेछ ।

यस्तै, प्रतिनिधिसभाका सांसदहरुले शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाका सांसद दिव्यमणि राजभण्डारीले पूर्व राजदूत केशवराज झाको सोमबार बिहान हत्या भएको प्रसंग उल्लेख गर्दैै शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उहाँले मुलुकमा हत्या, बलात्कारजस्ता घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै नागरिकको सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको हो ।
सांसद तेजुलाल चौधरीले सप्तरी जिल्लामा नदी कटानबाट सयौं बिगाहा जमिन र लाखौंको धानबाली नष्ट हुँदा पनि सरकारले चासो नदिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले नदी कटान नियन्त्रण गर्न र सो काममा भ्रष्टाचार हुन नदिन अनुगमनको काममा कडाई गर्न पनि सरकारसँग माग गर्नुभयो ।
उहाँले हत्या, हिंसालगायतका घटना हुन नदिन गृह मन्त्रालयलाई कार्ययोजना संसदमा पेश गर्न पनि सचेत गराउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला