निर्मला हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन–सीडीओ, एसपी र डीएसपी जिम्मेवारीमुक्त, १२ घण्टे कर्फ्यु

ZEN Travels

कञ्चनपुर-

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धी घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको
गृह मन्त्रालयले सहसचिव हरीप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी पनि सहभागी छन् ।
गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहभागी बैठकको निर्णयानुसार उच्चस्तरीय छानबिन समिति गठन भएको बताइएको छ ।
यसैगरी, घटनाको छानविन र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सहायक प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्दै फिर्ता बोलाएको छ ।
बलात्कार र हत्या घटनापछि विवादित भएका एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठी तथा सीडीओ कुमारबहादुर खड्कालाई फिर्ता बोलाउने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी जानकारी दिनुभयो ।
कञ्चनपुरको नयाँ सीडीओमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको जनाइएको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालयले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यू लगाएको निर्णय सार्वजनिक गरेको छ ।
आज भएको प्रदर्शन आक्रामक भएपछि दिउँसो ३ बजेदेखि नै कर्फ्यू लगाउने भनेर सुरक्षा निकायबाट प्रचार गरिए पनि प्रशासनले आज ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय सार्वजनिक गरेको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला