९० घन्टा लामो प्रवचन दिएर विश्व कीर्तिमान राख्ने अभियान सुरु

काठमाडौं ।
योगसाधक अनन्तराज केसीले सबैभन्दा लामो प्रवचन दिएर विश्व कीर्तिमान राख्ने अभियान सोमबारदेखि सुरु गरेका छन् ।
नुवाकोट घर भएका ५० वर्षीय केसीले ९० घन्टा लामो प्रवचन दिएर विश्व कीर्तिमान राख्न प्रवचन सुरु गरेका हुन् ।
काठमाडौंको जोरपाटीस्थित इस्टपोल विद्यालयमा सोमबार बिहान सवा ६ बजेदेखि सुरु भएको प्रवचन यदी भदौ १५ गते राति सकाउने लक्ष्य लिइएको छ ।
कार्यक्रमका संयोजक कुमारराज सुवेदीले विश्व कीर्तिमान राख्ने अभियानमा आफूहरुलाई आर्थिक सहयोग चाहिएको भन्दै सहयोगका लागि सबैलाई आग्रहसमेत गरेका छन् ।
योगसाधक केसीले स्मरण शक्ति बढाउने, प्रेरणा जगाउनेसम्बन्धी प्रवचन दिइरहेका छन् ।
‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा कीर्तिमान बन्न कम्तीमा १० जना मानिसले बसेर प्रवचन सुनेको हुनुपर्ने नियम रहेको जनाइएको छ ।
प्रवचनकाक्रममा केसीले १ घन्टामा ५ मिनेट विश्राम गर्न पाउनेछन् ।
यसअघि, ८१ घन्टा १६ मिनेटको प्रवचन दिएर विश्व कीर्तिमान राखिएको छ । जसलाई तोड्न केसीले ९० घन्टाको प्रवचन दिने लक्ष्य लिएका छन् ।