गन्तव्य बन्दै ‘विद्यामन्दिर पुस्तकालय’

ZEN Travels

– रामबहादुर थापा

बागलुङ-

पुस्तकालय, पढेर ज्ञान आर्जन गर्ने थलो त हुँदै हो तर यहाँको एक पुस्तकालय भने प्राज्ञिकसँगै एक गन्तव्यका रुपमा पनि विकसित भएको छ । विसं २००३ मा स्थापित ‘विद्यामन्दिर पुस्तकालय’ आफ्नै सङ्र्घषपूर्ण इतिहास र समाजमा पु¥याएको योगदानका कारण धेरैको आकर्षणमा छ ।

देशकै पुराना पुस्तकालय मध्येको यो पुस्तकालय धवलागिरि क्षेत्रको जेठो पुस्तकालय हो । राणाकालमै स्थापित हुनाका साथै अलग्गै गरिमा रहेको उक्त पुस्तकालयलाई यस क्षेत्रकै शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रका रुपमा समेत लिइन्छ । हस्तलिखित अवस्थाबाट शुरु भएको पुस्तकालयले अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी)का बनेकोे छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली र गोरखपुरबाट भरिया लगाएर ल्याइएका पुस्तक राखेर शुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका करीब १५ हजार पुस्तक छन् ।

प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालयको अहिले आफ्नै सुविधासम्पन्न भवन छ । भौतिक सम्पन्नता र कुशल व्यवस्थापनका साथमा सञ्चालित पुस्तकालय आर्थिक रुपले पनि सबल बन्दै गएको छ । अध्ययन गर्नाका साथै पुस्तकालय हेर्न जानेको सङ्ख्या पनि उत्तिकै छ । यो गन्तव्यस्थल कसरी बन्यो भन्ने सन्दर्भमा पुस्तकालयका पूर्वअध्यक्ष मकेशचन्द्र राजभण्डारी भन्नुहुन्छ, “राणाकालीन समयमा खुलेको र त्यतिबेलाको पुस्ताले पुस्तकालय खोल्न गरेको मिहेनत र सङ्र्घष हेर्न पनि मानिसहरु पुस्तकालय छिर्छन् ।” हस्तलिखित पुस्तक, पत्रपत्रिका र स्थापनाकालीन पुस्तकको सङ्ग्रहले धेरैलाई आकर्षित गर्ने गरेको उहाँको भनाइ छ ।

राजभण्डारीकै पालामा विसं २०६२ मा पुस्तकालयको चारतले सुविधासम्पन्न भवन बनेको थियो । त्यसअघिको भवन जीर्ण अवस्थामा थियो । ‘रिड’ नेपाल र पुस्तकालय व्यवस्थापन मिलेर संयुक्त लगानीमा नयाँ भवन बनाइएको पूर्व अध्यक्ष राजभण्डारी बताउनुहुन्छ । वर्षौंसम्म सार्वजनिक ठाँटीमा चलेको पुस्तकालयलाई पञ्चायतकालमा तत्कालीन प्रधानपञ्च टोपबहादुर बिजुक्छेको पहलमा जग्गा उपलब्ध भएको थियो । बिछुक्छेले करिब दुई आना जति आफ्नो जग्गा पनि पुस्तकालयलाई प्रदान गर्नुभएको थियो ।

आफ्नै भवन बनेपछि पुस्तकालय व्यवस्थितरुपमा चल्न थालेको नियमित पाठकसमेत रहनुभएका नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ बताउनुहुन्छ । प्रतिकूल राजनीतिक व्यवस्थामा पनि त्यस बखतका युवाले शाहस गरेर पुस्तकालय स्थापना गरेको चर्चा गर्दै उहाँ भन्नुहुन्छ, “राणाकालमा पुस्तकालय खोल्नु सामान्य घटना थिएन, शैक्षिक संस्था खोले दमन हुने अवस्था थियो ।”
“त्यसबेलाका सामाजिक अगुवा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले पुस्तकालय स्थापना गरेपनि राणा शासकले केही समय बन्द गराएका थिए । त्यसबखत राजनैतिक जागरण ल्याउन र राणा शासनबिरुद्ध संघर्ष गर्न पुस्तकालयको समेत योगदान थियो । पुस्तकालय खुलेपछि साहित्यिक गोष्ठीहरु हुनथाले, समसामायिक विषयमा चिन्तन र विमर्श गर्ने थलो पुस्तकालय बन्यो,” संयोजक श्रेष्ठ बताउनुहुन्छ ।

विसं २००८ मा गठित बागलुङ युवा सङ्घले समेत पुस्तकालयमार्फत शैक्षिक र राजनीतिक चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने गथ्र्यो । कहीँकतै पुस्तक नपाइने अवस्थामा पुस्तकालय नै अध्ययनको एक मात्र गन्तव्य थियो त्यसबेला । समूहमा बसेर छलफल गर्दै पढ्ने, पुस्तक आदानप्रदान गरेर पढ्ने चलनको पनि विकास भयो । समयक्रममा विभिन्न उतारचढाव व्यहोर्दै पुस्तकालय आजको अवस्थामा आइपुगेको हो ।

“यसलाई गण्डकी प्रदेशकै नमूना पुस्तकालयका रुपमा विकास गर्ने योजनाका साथ पाठकको बदलिँदो माग र चाहनाअनुसार सूचना र प्रविधिमैत्री बनाइनुका साथै अझसमृद्ध बनाउन थुप्रै काम गर्न बाँकी छ,” उहाँ भन्नुहुन्छ पुस्तकालयले विद्युतीय पुस्तकालसँगै बाल विकास केन्द्र पनि सञ्चालन गरेको छ ।

विद्युतीय पुस्तकालय सञ्चालनमा आएपछि पाठकको सङ्ख्या पनि बढ्दो छ । पुस्तकालयले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर आन्तरिक कोष रु १० लाख पु¥याएको छ । ऐतिहासिक चिनारी र समुचित व्यवस्थापन भएकै कारण पुस्तकालय आउनेको सङ्ख्या पनि बढेको पूर्व अध्यक्ष राजभण्डारी बताउनुहुन्छ । जिल्लामा भित्रने सरकारी, राजनीतिक, सामाजिक, प्राज्ञिक क्षेत्रका व्यक्तित्वलगायत सर्वसाधारण पनि पुस्तकालय हेर्न आउने गरेको उहाँको भनाइ छ ।

त्यस्ता व्यक्तित्वको भ्रमणले पुस्तकालय व्यवस्थापनको अनुभव आदानप्रदान गर्न पनि सघाउ पु¥याउने गरेको छ । पुस्तकालय गएर अध्ययन गर्ने संस्कृति घट्दै गएको अवस्थामा इतिहास बोकेको यस पुस्तकालयले भने पाठकसँगै घुम्ने आगन्तुकलाई पनि आकर्षित गरेको छ ।

-(रासस)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला