यसरी भयो प्रम ओलीद्धारा राज्यसत्ताको चरम दुरुपयोग

ZEN Travels

काठमाडौ

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा लगाएर सम्भवत् नेपालको इतिहासमै शक्तिशाली सरकार गठन गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कहिँ कतै बोल्दा भन्न नछुटाउने पदावली हुनः सुशासन, भ्रष्टाचार सून्य सहनशीलता र पारदर्शीता।

पार्टीभित्रका बैठक होस् वा त्यसले आयोजना गरेका कार्यक्रम, संसदमा सम्वोधन गर्दा होेस् वा सरकारी वा अन्य कुनै निकायले आयोजना गरेका कार्यक्रम, हरेक ठाउँमा भाषण गर्दा प्रधानमन्त्री ओलीले भन्दै आएका छन्ः भ्रष्टाचार म पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न। सुशासन र आर्थिक पारदर्शीता मेरो मुख्य प्राथमिकता हाे।

उनको बोली र व्यवहारमा तादम्यता छैन अथवा मिलेन भनि कसैले औँला उठायो भने उनी र उनीप्रति भक्तिभाव गर्नेहरुलाई चित्त दुख्न सक्छ। तर, वास्तविकताले त्यहि देखाएकाे छ।

राज्यको स्रोत, साधन प्रधानमन्त्रीको हैसियतमा उनले उपयोग गर्दा त्यो संमृद्ध नेपाल, सुखी नेपाली नारालाई साकार बनाउन गरिएको हो भनेर उनी र उनका समर्थकले भने भनि त्यो शंकाको लाभ उनले पाउनु स्वाभाविक नै मान्नु पर्दछ।

तर, जब राज्यको स्रोत साधन प्रधानमन्त्री ओली र उनको कुल/वंशको हितमा उपयोग गरिन्छ त्यो वास्तविकतामा प्रधानमन्त्री ओलीद्धारा गरिएको पदिय मर्यादा विपरित राज्य शक्तिको दुरुपयोग नै हो, भ्रष्टाचार र अपारदर्शीताको नांगो नाँच नै हो।

यस्तै भएको छ शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा। ओली वंश अक्षय कोषको साधारणसभा, अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रमका नाममा।

कुनै बेला तत्कालिन राजसंस्थाले शाहवंशको पारिवारिक भेला नारायणहिटी राजदरबारभित्र गर्दथ्यो तर, त्यसबारे बाहिर कुनै हल्ला खल्ला पनि हुँदैनथ्यो र त्याे बाहिर चियो, चर्चोको विषय बन्ने बनाउने चलन वा आँट पनि कसैसँग थिएन।

तर, शाह वंशको जहानिया शासन मात्र होइन नेपालबाट राजतन्त्रकाे नै अन्त्य भइसक्याे। नेपाल अहिले गणतान्त्रिक मुलुक बनेको मात्रै होइन, जनता नै याे देशका मालिक बन्दै सार्वभौमसत्ता सम्पन्न पनि भइसकेका छन्। संविधान र कानुनले सबै जनतालार्इ समान अधिकार दिएकाे छ।

कुनै वंश विशेषले राज्यको स्रोत, साधन र ढुकुटी उपयोग गर्ने र अन्य जात, जाति, वंशले त्यो अवसर नपाउने भन्ने कुरा हुन सक्दैन। शनिबार प्रधानमन्त्री ओलीले आफ्नो भाषणमा व्यक्त रटान दिँदै अाएकाे भ्रष्टाचार सून्य सहनशीलता र पारदर्शीताको साँचाे अर्थमा स्वयं आफैँले खिल्ली उडाएका मात्र छैनन्, उनले भन्ने गरेको भ्रष्टाचार सून्य सहनशीलता होइन, भ्रष्टाचार सुन्ने र गर्नसक्ने सहनशीलतामा परिणत गराउने त हाेइनन् भन्ने अाशंका जन्माएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो कुल, वंश र नाता गोताका मानिसहरुलाई प्रधानमन्त्री निवासमा शनिबार बिहान भेला गरेपछि त्यो कार्यक्रममा भाषण गर्दै अबको पाँच वर्षभित्र नेपालमा कोहि पनि गरिव हुन नपर्ने उद्घोष गरे। सबैका दिन फिर्ने दाबी पनि गरे।

यसअघि बालुवाटारमै आफ्नो पार्टीको केन्द्रीय कार्यसमिति बैठक, स्थायी समिति बैठकदेखि संसदीय दलको बैठक समेत गर्दै आएका प्रधानमन्त्री ओलीले शनिबार ओली वंशको साधारणसभा पनि त्यहि गरे। त्यतिमात्र होइन, उनले आफ्नो वंशका बन्धुबान्धवलाई बोलाएर स्वयं आफूँ, आफ्नी पन्ती राधिका शाक्य र पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गर्न गराउन लगाउँदै इतिहासको पानामा थन्किएको जहानिया शासनको नयाँ अध्यायको सुरुवात गरेको हो कि भन्ने सन्देश दिए।

पछिल्लाे समय नेपाली समाजमा माैलाएकाे जात, जाति, धर्म, सम्प्रदाय वा कुनै वंश विशेषका संघ संस्थाले गच्छ अनुसार सार्वजनिक स्थल, पार्टी प्यालेस अथवा हाेटलमा सभा, सम्मेलन र साधारणासभा गर्न थालेका छन्। तर, ‘मानिसकाे अन्तराष्ट्रिय जाति हुनेछ’ भन्ने कम्युनिष्टकाे स्लाेगान गाउँदै वर्गिय चिन्तनबाट राजनीतिमा उदाएका प्रधानमन्त्री अाेलीले शनिबार भने त्याे गीत बिर्सिए। अनि अाफ्नाे अाेली वंशलार्इ सम्भवत् नयाँ नेपालकै पहिलाे भाग्यशाली वंशकाे रूपमा स्थापित गरे जसले प्रधानमन्त्रीकाे सरकारी निवासकै सभाहलमा राज्यकाे सुरक्षादेखि अन्य व्यवस्थाकाे भरपूर उपयाेग (वास्तविकतामा चरम दुरूपयाेग) गर्दै अाफ्नाे वंशकाे साधारणासभा सम्पन्न गर्ने एेतिहासिक अवसर जुराइदिए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला