निर्मला पन्त हत्या प्रकरण: सरकारको भूमिका चित्तबुझ्दो भएन भन्दै कांग्रेसद्धारा संसद अवरुद्ध

ZEN Travels

नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा सरकारको भूमिका चित्तबुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेको छ।

संसदको वैठक शुरु हुनुभन्दा पहिले नै बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सरकारको अपराधी खोज्ने र सजाय दिने भुमिकाप्रति प्रश्न उठाएको हुन्। उनले यसको जवाफ प्राप्त नभएसम्म संसद नचल्ने टिप्पणी गरे। त्यस्तै, बडुले पन्त प्रकरण राज्य संरक्षित अपराधमा परिणत हुँदै गएको आरोप लगाए।

सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै बडुले निर्मला पन्तको घटना दिनानुदिन नाटकीय रुपमा रहस्यमय हुँदै गएको तर सरकार मुक दर्शक रहेको टिप्पणी गरे।

‘अनुसन्धान टोली परिर्वतन भइरहेको छ तर वास्तविक दोषी पत्ता लगाउनु भन्दा ढाक्नमा संलग्न देखिन थालेको छ, राज्य संरक्षित अपराधको स्वरुप लिन लागिरहेको आभाष हुन थालेको छ’, बडुले भने।

अनुसन्धान समितिका सदस्य वीरेन्द्र केसीले राजिनामाको घोषणा गरे फेरि फिर्ता लिएको प्रति पनि उनले संसदको ध्यानाकर्षण गराए। न्याय पाउने सम्भावना नदेखेको र यसमा शक्तिशाली व्यक्तिको संलग्नता रहेको टिप्पणी गरेको प्रति पनि बडुले सरकारको जवाफ माग गरे।

‘राज्य नागरिकको सुरक्षाप्रति र जीवन रक्षाका निम्ति असफल हुँदै गएको हो’, उनले भने, ‘यो राज्य संयन्त्र कसले चलाइरहेको छ।’

तरुण दलका अध्यक्ष रोहित पुनको हत्यारालाई किन अहिलेसम्म पक्राउ गरिएन र समाचार लेखेकै भरमा खोजतलास पत्रिकामा पत्रकार राजु बस्नेतलाई किन पक्राउ गरियो भन्ने प्रश्न पनि बडुले सोधे।
‘पत्रकारलाई गिरफ्तार गर्ने र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कार्य सरकारबाट भईरहेको छ’, उनले भने, ‘यसको उपयुक्त जवाफ सरकारका तर्फबाट आउन जरुरी छ।’-NepaliRadio Network

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला