न आत्तिनु, न मात्तिनु

ZEN Travels

-लाओस राई

भनिन्छ, हरेक असफलाको निष्ठापूर्वक निरन्तर सामना गरिरह्यो भने त्यसले नयाँ सफलताको सम्भावना जन्माउँछ , अर्को प्रसंगमा सत्रु वा दुश्मनको शक्तिलाई नजरअन्दाज नगरौं भन्ने सन्दर्भमा, शत्रु वा दुश्मन जस्तो छ आफु पनि उस्तै हुन उपयुक्त हुन्छ । त्यसपछि मात्र शत्रुलाई पराजित गर्न सकिन्छ अन्यथा हार निश्चित छ । यी भनाईको आशय जित वा विजय भन्ने बुझिन्छ  । त्यसकारण जितको लागि गरिने तयारी, कार्य, प्रयास, बिद्रोह, संघर्ष, क्रान्ति जे भनौंं त्यो नै सबैभन्दा मूख्य र महत्वपूर्ण पक्ष रहेछ भन्ने देखिन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ, बिजय र जितका निमित्त गरिने गतिबिधिले नै जित र हार के हुने हो त्यसको निर्धारण गर्दछ । अझै भनौं युद्ध भन्दा पनि युद्धका निम्ति गरिने तयारीको महत्व बढी हुन्छ । प्रसङ्ग पुरानो पार्टी नेपाली कांग्रेस र त्यससँग सम्बन्धित गतिविधिको हो । नराम्रोसंग पराजय भोग्नु परेको कांग्रेस पार्टीले बिगतमा प्रजातन्त्र प्राप्तिको निमित्त जति मेहेनत, संघर्ष, र पूर्व तयारी ग¥यो, सत्तामा पुगेपछि पुनः जितको सुनिश्चितता निम्ति मजबुद रणनीति बनाउनु असफल भएको देखियो, जसले गर्दा लज्जास्पद हार ब्यहोर्नु पर्‍यो ।

एकैछिन चर्चा गरौँ, २०१५ सालको प्रथम निर्वाचनमा दुई तिहाई र २०४६ देखि २०७४ सम्म २२ वर्ष समयावधी कांग्रेसले सत्ता चलाएको प्रष्टै देखियो । यो समयावधि भित्र गिरिजा बाबु(गिरिजाप्रसाद कोइराला) ६ पटक प्रधानमन्त्री भए भने सुशिल कोइराला बाहेक कृष्णप्रसाद भट्टराई दुई पटक र शेरबहादुर देउवा पनि धोको पुग्ने गरी चार/चार पटक प्रधानमन्त्री भए । फेरी ज्योतिषीको भनाईलाई सत्य मान्ने हो भने शेरबहादुर देउवा तीन पटक प्रधानमन्त्री हुनै बाँकी छ ।

यो अर्को पाटो हो, के होला भविष्यले देखाउला । कस्तो अचम्म  प्रधानमन्त्री हुने पनि फुटबलमा गोल गर्न प्रतिष्पर्धा र  कीर्तिमानी भए जस्तै  । यो कस्तो विडम्बना र देशकै दुर्भाग्य ।  ‘काम न साम थालभरी माम’ भनेजस्तै जनहित भन्दा को धेरै पटक प्रधानमन्त्री हुने भन्ने दरिद्र सोच, अनि कहाँबाट हुन्छ समृद्धि ? एकै ब्यक्ति पटक पटक प्रधानमन्त्री भएपछी क्षमता भुत्ते हुने र कार्य शैलीमा नौलो नहुँदा ब्यक्ति र पार्टीलाई समेत जनताले मन पराउँदा रहेनछन् । त्यो यसैपाली सम्पन्न निर्वाचनले  देखाएको छ  । त्यो भन्दा पनि मुख्य कुरा भनेकै नेतृत्वको नियत, सोच र कार्यशैली स्वार्थ केन्द्रित भएपछी कुरै अर्को भइहाल्यो । त्यसैले त्यो पुरानो सोच र निहित स्वार्थको बिल्कुल त्याग गर्नु पर्दछ नेतृत्वले ।

इतिहासमा कहिल्यै पनि यस्तो लज्जास्पद हार नभोगेको नेपाली कांग्रेसले हार कै कारण रन्थनिनु, भवीतब्य र प्रकोपमा  परेजस्तो लाग्नु स्वभाविक पनि हो । किनकी, चन्द्रमा टिपेर ल्याउँछु भन्ने व्यक्तिहरु पछारिएका छन् । कोही जितेर पनि बाहिर बर्बराइरहेका छन् । हार्नेहरुमा कतिपय त मन्त्री वा लाभको पद पाउंनै पर्छ मान्ने मान्यता बोकेका ब्यक्तिहरु छन् । यद्यपी, उनीहरुले पटक पटक जित्दा पनि प्रभावकारी काम गर्न सकेको देखिएन । त्यसकारण उनीहरुको सवालमा चाँही  ‘महाप्रलय’ मान्न सकिएला । अन्यथा प्रलय प्रकोप बिलकुल परेको होईन । निर्वाचन भनेकै हारजित गर्नको लागि गराइन्छ । लोकतान्त्रिक पार्टीले परिणामलाई स्विकार गर्नुपर्छ ।

कम्युनिस्ट पार्टीको बारेमा भन्ने हो भने २०१५ सालको  निर्वाचनमा नराम्रो हार ब्यहोरे पनि एजेन्डाले भने त्यसैबेला  जितेको रहेछ भन्ने आज पुष्टि भयो । तिनै कारण कम्युनिस्ट पार्टी र बाम बिचार आजको अवस्थामा आइपुगेको तथ्यलाई स्वीकार्नु पर्दैछ । पूर्वाधार निर्माण नै ०१५ सालको निर्वाचन थियो । चार स्थानमा मात्र जित हात पारेका कम्युनिष्ट पार्टी थोरै संख्यामा संसद हुँदाहुँदै पनि बिचार र राजनीतिक मुद्दाले भने त्यसैबेला जितेका रहेछ भन्नु उपयुक्त हुन्छ । प्रत्येक निर्वाचनलाई आफ्नो क्षमता नाप्ने कसी (यन्त्र) को रुपमा प्रयोग र त्यसकै आधारमा संगठन निर्माण गर्ने जुन शैली उनीहरुले अपनाए, त्यो नै कम्युनिष्ट नेतृत्वको चातुर्यता मान्न सकिन्छ । अर्कोतर्फ संसदीय ब्यवस्थालाई रणनीतिक रुपले स्वीकार गर्दै प्रत्येक निर्वाचनलाई बाम बिचार प्रचारको माध्यम र संगठन निर्माणको उपरी संरचनाको रुपमा बिकास गर्दै लैजानु सक्नु नै उनीहरुको कला मान्नु पर्दछ ।

कहिले फुट्ने र छरिएको कनिका जस्तो हुने त कहिले मोर्चाको रुपमा केन्द्रित हुने बाम विचारकहरुको रणनीतिक कार्यक्रम रहेछ भन्ने पछिल्लो पार्टी एकताको घटनाले देखाउंछ । जसले गर्दा दुई तिहाईको बाम सरकार निर्माण भएको भयो । यिनै विविध कारणहरुले गर्दा नेतृत्वको क्षमताको तुलनात्मक रुपले अध्ययन गर्दा कांग्रेस भन्दा कम्युनिस्ट नेतृत्व निकै चतुर र योग्य देखियो । अब रह्यो कुरा काम गर्ने शैली र प्रणाली । त्यो भने हेर्न बाँकी छ ।

२०५१ सालदेखि मनोमहन अधिकारी बाट ओलीसम्म आईपुग्दा छ जना प्रधानमन्त्री (माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी ओली) बनिसके । ति मध्ये दाहाल दुई पटक प्रधानमन्त्री भए भने ओली दोस्रो कार्यकालको जहाजमा सयर गरिरहेका छन् । बाम विचारधाराका ब्यक्तिहरु छ जना प्रधानमन्त्री बनिसकेको परिप्रेक्ष्यमा तिनीहरुको कार्य सम्पादन कस्तो रह्यो त्यो सबै नेपाली जनताले मूल्याकंन गरेकै छन् । तथापि सबैको कार्य क्षमता नेपाली जनताले बुझि सकेको भएपनि पुनः तिनै ब्यक्ति नेतृत्वमा पुगेको हुँदा त्यस्ता व्यक्तिको कार्य गराईको शैलीमा खासै भिनता होला जस्तो भने देखिने छैन । भन्ने कुरा नेपाली जनताले भनिरहेका छन् । ठूलो पार्टी नेपाली कांग्रेस नेतृत्व वा शीर्ष नेताहरुको साधारण गल्तीका कारण बाम बिचारको पछि लागेका जनता पनि निरासाको सहारामा रहनु पर्ने देखिन थालिसकेको छ । त्यसकारण शक्तिसाली दुई तिहाईको सामर्थ राख्ने बाम पार्टी पनि नेपाली कांग्रेस पार्टीले बिगतमा बहुमत पाएको कृष्ण प्रसाद भट्टराई नेतृत्वको सरकारलाई जस्तै ढाल्ने खेलमा लाग्ने हो भने पुरानो कांग्रेस र नयाँ नेकपामा के फरक भयो र ? त्यसकारण नेकपाले पात्र परिवर्तन गर्ने खेलमा मात्तिएर लाग्ने हो भने नेकपाको पतनको दिन नजिकै छ भन्ने प्रचण्ड, झलनाथ, माधव नेपालले हेक्का राख्नु पर्दछ ।

सन्दर्भः आत्तिने र मात्तिने ब्यक्ति र पार्टीको बारेमा चर्चा गरौँ । जनादेश मेरो पक्षमा छ, मैले जे गर्दा पनि हुन्छ, सबै शस्त्रुलाई सखाप पर्छु भन्ने सोच र मान्यताले होला केपी ओली प्रधानमन्त्री भएदेखि निरंकुश प्रवृतिका निर्णयहरु गर्दै गएको देखिन्छ । अघिल्लो सरकारले गरेको सबै निर्णय खारेज, निषेधित क्षेत्र घोषणा, शान्तिपूर्ण बिरोधमा बर्बर दमनको कारण भएको हत्या र स्वास्थ्य मन्त्रीलाई कालो झण्डा देखाएकै कारण हिरासतमा चरम यातना दिएको कारण मृत्यु दिने जुन हर्कत सरकार ले गरेको छ, त्यो लोकतान्त्रिक सरकारले गर्ने कार्य भित्र पर्दैन । त्यस्तै प्रबुद्ध वर्गलाई धम्काउने, ब्यक्तिको नैसर्गिक अधिकारलाई नियन्त्रमा लिने गतिबिधि छ त्यो लोकतन्त्र नभएर साताको उन्मादले मात्तिएर अतिवादको पराकाष्टा हो भन्न सकिन्छ । त्यसकारण इतिहासमा आत्तिएको कम्युनिष्ट जनबलको कारण मात्तिने ठाउँमा पुगेको छ ।

लामो सत्ताको रसस्वाद गर्ने कांग्रेस आत्तिने स्थानमा पुगेको छ । हिजो संघर्ष भन्ने पार्टी आज संघर्ष भन्नै रुचाउँदैन । हिजो संघर्ष भन्ने सुन्ने बित्तिकै आवश्यक छैन भन्ने पार्टी आज संघर्ष भन्दै उर्लिन थालेका छन् । त्यसकारण परिस्थिति बिल्कुल बदलिएको छ । यस्तो बदलिएको परिस्थिमा पनि नेताहरुको मनस्थिति बदलिएको देखिएन । गरिव जनताको जनजीवन बदलिएको देखिएन । किसानको जनजीवन बदलिएको देखिएन । दिनदुःखीको जीवनयापन बदलिएको देखिएन् ।  देखियो मात्र आत्तिने र मात्तिनेको जीवन शैली बदलिएको मात्र । त्यसैले पुनः एक पटक नेपाली जनतालाई धन्यबाद भन्दै, जनता जिन्दाबाद  । (लेखकः नेपाली कांग्रेसका नेता हुन् )

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला