गरिब जनताका समृद्धिका सपना

ZEN Travels

विपिन आचार्य

नेपाल विकासन्मुख राष्ट्र हो  ।  लामो समयसम्म मुलुकमा सङ्क्रमणकाल कायम हुनाले विकास निर्माणमा उल्लेख्य प्रगति हुन सकेन  ।  यस्तै अवस्थामा मुलुकमा भूकम्प आयो  ।  भूकम्पले मुलुकको विकास निर्माणमा ठूलो असर गरेको छ  ।  परिणामस्वरूप गरिबी, विपन्नता र अभाव सर्वत्र रह्यो । अस्थायी प्रकारका सरकार प्रमुखले स्थायी योजना ल्याए पनि विकास निर्माण सफलता प्राप्त गर्न सकेनन् । फलतः नेपाल विदेशमा आँशु र पसिनाको सङ्गममा बसेको छ ।

सरकारको काम नयाँ उद्योग कलकारखाना खोल्ने र युवाहरूलाई मुलुकभित्र रोजगारी सिर्जना गर्नेतर्फ ध्यान हुन जरूरी छ । नेपाल सरकार मातहतका विराटनगर जुटमिल, भृकुटी कागज र हेटौंडा कपडा कारखाना सञ्चालनमा ल्याउँदा सरकारलाई अपेक्षाकृत सफलता मिल्नेछ । वर्तमान सरकार निजी क्षेत्रमा पूर्ण आश्रित हुनुहुँदैन । कम्युनिस्ट नेतृत्वको सरकार उदारवादी नीतितर्फ धेरै ध्यानदिन जरुरी छैन ।

सरकारलाई सिंहदरबारबाट जनता समक्ष ल्याउन ठूला–ठूला क्रान्ति भएका छन् । प्रत्येक क्रान्तिमा जनजीविका प्रमुख मुद्दा हुन्छन् । चर्को आवाजमा विकासका बहस पनि हुने गर्छन् । परन्तु तिनै आन्दोलनका नायकहरू उच्च कद बनाएर सिंहदरबार प्रवेश गरेपछि जनताका आवाजलाई कमै प्रथामिकता दिएका प्रशस्त उदाहरण छन् । परिणामतः जनता प्रत्येक चुनावमा फरक फरक दलका व्यक्तिलाई टेस्ट गरिरहेका छन् ।

स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाको चुनाव लगत्तै करिब पाँच वर्ष कार्यकालको सरकार गठनले मुलुकको शासन स्थायित्वतर्फ उन्मुख भएको देखिन्छ । मुलुकमा स्थायी सरकारको निर्माणले सकारात्मक सन्देश दिएको छ । विरोध गर्ने, टायर बाल्ने वातावरणतर्फ अग्रसर गराउने भन्दा रोजगारीका सिर्जना गर्ने जिम्मेवारी वर्तमान सरकारको काँधमा आएको हो । अब काम गर्ने बेला भएको छ । सरकारले प्रत्यक्ष लगानी गरेर उद्योग कलकारखा सुचारु गर्ने समय आएको छ । विपक्षलाई कामले जवाफ दिने बेला भएको छ ।

मुलुकमा रेल, तेल र पानी जाहज चाहिन्छ । त्योभन्दा पहिले जनताको जीवनस्तरमा आर्थिक रूपमा सम्पन्नशाली बनाउने योजना पनि चाहिन्छ । बिहान बेलुका चामल बेसाएर खाने गरिब, सुकम्बासी जनताको जीवनकालभरी मुलुकभित्र चल्ने रेल सपना मात्र बन्ने त होइन ! पूर्वाधारहरूको निर्माण जनतालाई सहजताको निम्ति हो, कङ्गाल बनाउन होइन ।

काठमाडौँको विकासलाई मुलुकका दूरदराजसम्म पु¥याउँदा मात्र सिंहदरबारको अधिकार जनताले प्रत्यक्ष अनुभूति गर्नेछन् । सरकारको ध्यान विकास निर्माण सातवटा प्रदेशलाई समानताको आधारमा हुनुपर्दछ । काठमाडौँमा रेल तीव्र गतिमा चल्दै गर्दा कर्णालीमा सिटामोल अभावमा ज्यान परलोक हुनुभएन । आजको आवश्यकता विकासमा समानता हो ।

विकास निर्माणका लागि जनसहभागिता महत्वपूर्ण हुन्छ । जनसहभागिता र जनश्रमदानले विकास निर्माणमा दिगोपन हुन्छ । जनताका आधारभूत आवश्यकता सहज परिपूर्ति हुन्छन् । विकास जनताका निम्त गरिने हँुदा विकास निर्माणमा बाधाव्यवधान खडा गर्नुभन्दा त्यागको भावना आवश्यक हुन्छ । सामाजिक चरित्रले मात्र विकासका काम लक्ष्य अनुरूप सम्पन्न हुन्छन् ।

सरकारले दीर्घकालीन योजना बनाएर आधुनिक विकास गर्न ध्यान दिनुपर्ने शिक्षा, स्वाथ्य, सडक यातयात, जलस्रोतको उपयोग विद्युतीकरण, पर्यटन र कृषि हुन् । वर्तमान सरकारले यी विषयलाई प्रथामिकताका साथ आगाडि बड्नुपर्छ । त्यसपछि केही मात्रामा जनअपेक्षको सम्बोधन हुन्छ । जनताले सचेतता पूर्ण गर्ने विकासले लोकतन्त्रलाई बलियो बनाउन मद्दत गर्नेछ ।

नेपालको विकास निर्माणमा भूराजनितको केही हदसम्म प्रभाव पनि देखिन्छ । नेपालमा उत्तरभन्दा दक्षिण छिमेकको राजनीतिक, आर्थिक र सामाजिक घटनाको प्रत्यक्ष प्रभाव देखिन्छ । राम्रा कामको सकारात्मक अनुशरण गर्दै लगानीमैत्री वातावरण सिर्जना गरेको खण्डमा मुलुकलाई सम्पन्नतातर्फ उन्मुख हुनेछ । यसमा सरकारी निकायको पहल महत्वपूर्ण हुनेछ ।

सरकारको महत्वपूर्ण ध्यान कृषिलाई आधुनिकरण गर्नेतर्फ नहुँदा पछौटेपन आधारित प्रणालीमा मुलुकका किसान निर्भर छन् । उत्पादनमा परनिर्भरता हुँदा बहुराष्ट्रिय कम्पनीहरूको एकाधिकार बढ्ने क्रममा छ । यसले मुलुक उत्पादन क्षेत्रको अवस्था कहाँ छ, सहजै अनुमान लगाउन सकिन्छ ।

युरोप, अमेरिका र चीनको विकासबाट पाठ सिक्दै नेपाललाई विकसित र समृद्ध मुलुक निमार्ण गर्ने आवश्यकता छ । वर्तमान समय आरोप पत्यारोपमा सरकार अल्मलिने समय होइन । अब आन्तरिक भोटर वा समर्थक केन्द्रित विकास निर्माण गरेर सुखी नेपाली र समपन्न नेपाल बन्दैन । अब काठमाडौँलाई जस्तै प्राथमिकता कर्णालीलाई दिन आवश्यक छ ।

मुलुक बनाउने जिम्मा पाएका नेतृत्वहरूले पदको दुरुपयोग गर्दै व्यक्तिगत सम्पत्ति आयआर्जन अनुचित हो । नेतृत्वहरू समग्र मुलुकका जनताको हित उपयोगी हुन आवश्यक छ । मुलुकलाई सम्पन्नतातर्फ लैजान हो भने कामचलाउ योजना निर्माणले दिगो विकास हुँदैन । अब चुनाव केन्द्रित विकासभन्दा समग्र मुलुक केन्द्रित गर्न आवश्यक छ । विकासशील राष्ट्र बनाउनका लागि आन्तरिक कर्मकाण्डी विकास निर्माण गरेर सम्भव छैन ।

सबै आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर निःस्वर्थ राष्ट्रको विकास निर्माणमा अग्रसर हुनै पर्दछ । आगामी केही वर्षभित्र नेपाल विकासशील राष्ट्रको रूपमा परिभाषिततर्फ सरकारको ध्यान हुनै पर्छ । तत्पश्चात मात्र समृद्ध नेपाल समपन्न नेपाली हुनेछन् । मुलुक समृद्ध हुँदा मात्र जनताले समाजवादको आभास गर्नेछन् ।

http://ratopati.com/story/49918

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला