भवरकोट ट्रेकिङ ‘मौलिक हक व्यवहारमा ल्याउन चुनौती’-तिमिल्सिना

ZEN Travels

पर्वत-

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कागजमा लेखिएका मौलिक हकलाई व्यवहारमा रूपान्तरण गर्न चुनौती रहेको बताउनुभएको छ ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज आयोजित पर्यटकीयस्थल भमरकोटको विकासका सम्भावना विषयक कार्यक्रममा बोल्दै तिमिल्सिनाले लामो समयदेखि प्रयोगमा आइरहेका ऐन कानूनबाट अभ्यस्त भएको समाजमा नयाँ स्वरूपमा आएका मौलिक हकलाई अपनाउनु चुनौती भएको बताउनुभयो । उहाँले १६ वटा मौलिक हकलाई पूर्णरूपमा कार्यान्वयनमा आएपछि मात्र नागरिकलाई लोकतन्त्र आएको प्रत्याभूति हुने बताउनुयो ।

उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको अहिले नै आलोचना गर्ने बेला नभएको बताउँदै स्थायी सरकारलाई काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिनुभयो । सरकारले दीर्घकालीन महत्व र दूरगामी प्रभाव पार्ने खालका योजना अघि सारेको बताउँदै छ महीनामै सरकारले काम गर्न सकेन कि भनेर आत्तिइहाल्नुपर्ने अवस्था नभएको बताउनुभयो ।

तिमिल्सिनाले भमरकोटको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्वतको नयाँपुल र पातीचौरदेखि भमरकोटसम्मको पैदलमार्गलाई व्यवस्थित गर्दै घोरेपानी र पुनहिलसम्म जोड्न सकेमा वार्षिक लाखौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बढीभन्दा बढी सङ्ख्यामा बाह्य पर्यटकलाई भित्र्याउने गरी राज्यले काम गरिहरको बताउनुभयो । उहाँले अबको पाँच वर्षभित्र विश्वकै नमूना गन्तव्यस्थलका रूपमा विकास गरिने दाबीसमेत गर्नुभयो ।

आर्थिक समृद्धिका लागि पर्यटन उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब हरेक पर्यटकीय र ऐतिहासिक महत्वका क्षेत्रमा आवश्यक पूर्वाधार खडा गरिने र त्यसका लागि राज्यले उचित बजेटको समेत व्यवस्था गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थल भमरकोटको ऐतिहासिक महत्व र त्यसलाई विकास गर्न सकिने सम्भावनाका बारेमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र मन्त्री अधिकारीलाई जानकारी गराउनुभयो ।

समुद्री सतहबाट झण्डै दुई हजार ५०० मिटरको उचाइमा रहेको भमरकोटको अध्ययनका लागि आउनुभएका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पर्यटनमन्त्री अधिकारी झण्डै दुई घण्टाको पैदलयात्रा गरी भमरकोट पुग्नुभएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला