चेपाङ बस्तीमा छिर्‍यो बाइबल , लोभ र लाल्चामा नै गराइन्छ धर्म परिवर्तन |

ZEN Travels

अतिक्रमणको चपेटामा चेपाङको धर्म र भाषा

३० असोज, चितवन । भिरालो पाखो बारी, नजिकै जंगल भीरपहरा र आसपासमा स-साना झुपडी । विभिन्न जिल्लाका यस्तै तन्नम वस्तीमा गुजारा चलाइरहेका चेपाङ समुदायलाई दशैंले खासै छोएको छैन ।

कारण हो धर्म परिर्वतन । भूमि, नदी र प्रकृतिको पूजा गर्ने चेपाङ समुदायका धर्मपरिवर्तन भुसको आगो झै फैलिएको छ ।

गरीबी, अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै क्रिश्चियन बनाउने लहर चलेको छ । धर्म परिवर्तनसँगै चेपाङका मौलिक पर्व र संस्कृतिहरु हराउँदै जान थालेका छन् ।

चेपाङ समुदायको उत्थानमा क्षेत्रमा काम गर्दै आएका केपी किरण शर्माले अधिकांश चेपाङहरु क्रिश्चियन भइसकेको अनलाइनखबरलाई बताए । आफू पहिलोपटक चेपाङ समुदायमा जाँदा र अहिले आकाश जमिनको फरक आएको उनको अनुभव छ । ‘चेपाङका वस्ती-वस्तीमा चर्चहरु बनेका छन्’ उनी भन्छन, ‘पैसा दिने, बालबच्चा पढाइदिने, खानेकुरा दिने लोभ देखाएर चेपाङहरुमाथि इमोसनल ब्याकमेलिङ गरिएको छ ।’

विनाशकारी भूकम्पपछि चेपाङ वस्तीहरुमा धर्मप्रचारको महाअभियान नै चलेको शर्माले दाबी गरे । उनको दाबीमा सहमत छन् पूर्वसभासद गोविन्दराम चेपाङ । झण्डै ८० प्रतिशत चेपाङहरु क्रिश्चियन बनेको उनले बताए । ‘हामीले परम्परादेखि मानेको प्रकृति धर्म हो, हाम्रा आफ्नै मौलिक संस्कृति छन् तर, पछिल्लो समय पैसाको बलमा हाम्रो धर्म-संस्कृतिमाथि प्रहार भएको छ,’ गोविन्द चेपाङले भने ।

पूर्वी चितवनको भण्डारा, लोथर, बीरेन्द्रनगरतिरका पादरीहरु बाइवल बोकेर चेपाङ वस्ती छिर्ने गरेका छन् । चेपाङ बालबालिकालाई राखिएका केही संरक्षण केन्द्रमा क्रिश्चियन धर्मको प्रचार र प्रार्थना गराइने गरिएको पाइएको छ ।

नेपाल चेपाङ संघका अध्यक्ष जितेन्ऽ चेपाङले आफ्नो समुदायमा धार्मिक जागरणका लागि न्वागी पर्वमा बिशेष कार्यक्रम गर्ने गरेको जानकारी दिए ।

भाषा पनि हराउँदै

धर्म मात्र नभएर चेपाङ समुदायको मौलिक भाषा पनि अतिक्रमणमा परिरहेको छ । नयाँ पुस्ता मातृ भाषाप्रति बेखबर बन्दैछ । पुरानो पुस्ताले चेपाङ भाषा बोले पनि युवाहरुले नेपाली भाषा मात्र जानेका छन् । यसको पनि कारण छ ।

विद्यालय जाने उमेरका चेपाङ बालबालिकाहरु शहरी क्षेत्रमा खुलेका छात्रावासमा छन् । उनीहरुलाई विभिन्न नाममा खोलिएका संरक्षण केन्द्र र विद्यालयका होस्टलमा ल्याएर राखिएको छ । सानै उमेरमा परिवारसँग टाढिएकाले मातृ भाषा सिक्नै पाउँदैनन् । विद्यालयमा नेपाली भाषामा मात्रै पढाई हुन्छ । चेपाङहरुको मातृभाषामा पढाई हुने अवस्था छैन किनकी उनीहरुको आफ्नो लिपी छैन ।

राज्यले  भाषा संरक्षणमा कुनै चासो नदिँदा आफ्नो समुदायको भाषा नै हराउने खतरा देखिरहेका पूर्वसभासद गोविन्दराम चेपाङको गूनासो छ ।

नेपाली पाण्डुलिपीलाई नै चेपाङहरुले पनि प्रयोग गरिरहेका छन् । सरकारको लगानीमा २०५७ सालदेखि चितवनको शक्तिखोरमा चेपाङ छात्रावास स्थापना गरिएको छ । यहाँ चितवनका मात्र ३२ जना बालवालिकाहरु पढदै आएका छन् ।

कालिका नगरपालिकाको खोलेसिमलमा रहेको विन्देश्वरी छात्रावासमा २५ जना, गामवेशी चेपाङ संरक्षण केन्द्रमा १३२, नवोदय विद्यालय वेल्सीमा २५०, अन्तोदयमा २५० बालबालिकाले संरक्षण पाएका छन् ।

गामवेसी चेपाङ संरक्षण केन्द्रमा प्रमुख केपी किरण शर्मा विद्यालयमा कक्षा १ देखि ५ सम्म चेपाङ भाषाको एक पिरियड पढाउने बिषयमा कुरा चलाएको बताउँछन् । चेपाङहरुको शब्दकोष समेत आइसकेकोले पढाउन सहज हुने उनको भनाइ छ ।

चेपाङ भाषाको वर्ण पहिचान भएको भएता पनि शब्दकोश निर्माण हुन सकेको थिएन । २०२४ सालमा न्युजिल्याण्डका नागरिक रोस कलीलेे मकवानपुरको काँकडा गाविस-४ माइसिराङ निवासी भविकन चेपाङसँग मिलेर लामो खोज-अनुसन्धानपछि करिव सात हजार शब्दको चेपाङ शब्दकोश तयार पारेका छन् ।

अब भने भाषाको संरक्षणका लागि केही काम गर्न सकिने समुदायका अगुवा जितेन्द्र चेपाङले बताउँछन् ।

गरिबीले थिचिएको जाति

सीमान्तकृत चेपाङको दरिऽताका कथाहरु सञ्चार माध्यममा खुब बेचिन्छन् । कतिपयले चेपाङको गरिबीमै ‘ग्ल्यामर’ देख्छन् । तर, यो समुदायको जीवनस्तरमाथि उठाउन ठोस पहल भएको छैन । एकाध चेपाङ परिवार त अहिले पनि ओडारमै बस्छन् ।

थोरै अन्न अनि वनजंगलबाट कन्दमूल, वनस्पति, फलफूल बटुलेर गुजारा चलिरहेको छ । गिठ्ठा, भ्याकुर, चित्राफुंगा, चिउरीलगायत कन्दमुल चेपाङ बस्तीमा प्रचलित छन् । ६६ प्रतिशत परिवारलाई आफ्नो खेतीपातीबाट ६ महिना पनि खान पुग्दैन ।

सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ । चरम गरिबीका कारण कतिपयको शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्छन् ।

राजनीतिक पहुँच नहुँदा चेपाङ वस्तीमा पूर्वाधार निर्माण हुन सकेको छैन । नागरिकता नहुँदा उनीहरुले पुख्र्यौली आवादी गरेको जग्गाजमिनको स्वामित्व पाएका छैनन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङ जातिको जनसंख्या ६८ हजार ३ सय ९९ रहेको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास छ । सबैभन्दा धेरै चितवनमा २८ हजार ९ सय ८९ जना छन् ।

चितवनको साविक सिद्धि गाविसलाई चेपाङहरुको राजधानी मानिन्छ । यहाँ ९० प्रतिशतभन्दा बढि चेपाङ छन् । चितवनको कुल जनसंख्यामा चेपाङ सातौं स्थानमा छन् । यस्तै चेपाङको जनसंख्या मकवानपुरमा १९ हजार २ सय ३३, धादिङमा १४ हजार ४ सय ९२, गोरखामा ३ हजार ४ सय ५४ रहेको छ ।

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिका रैथाने वासिन्दा मानिन्छन् उनीहरु ।

मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा उनीहरुको घना बसोबास छ ।
चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक बन्धनले बाँधेको छ । उनीहरुको जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित हुन्छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नामाकरण चेपाङ भाषाबाटै गरिएका छन् ।

विकास कार्यक्रम खारेज

विगत चार दशकदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम र जनता आवास कार्यक्रम सरकारले खारेज गरेको छ ।

यसमा चेपाङ समुदाय रुष्ट छ । भाषा र धर्ममाथि प्रहार बढिरहेका बेला सरकारले समेत कार्यक्रम हटाएको भन्दै गोविन्दरामले आक्रोश पोखे । लोपोन्मुख चेपाङ समुदायको उत्थान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम हटाएर राज्यले उपेक्षा गरेको उनको भनाई छ ।

चेपाङ संघको मागअनुसार ‘प्रजा विकास कार्यक्रम’लाई २०६२ सालदेखि चेपाङ विकास कार्यक्रम भनेर नामकरण गरिएको थियो । बजेटको ७५ प्रतिशत हिस्सा शिक्षामा लगानी गरिएको छ भने बाँकी आयआर्जनमा ।

चेपाङ समुदायमा केन्द्रित कार्यक्रम तीनवटै तहका सरकारले आफ्नो बजेट र योजनामा राखेका छैनन् । २०३४ सालदेखि सञ्चालित चेपाङ विकास कार्यक्रम र ८ वर्षदेखि निरन्तरता पाइरहेको जनता आवास कार्यक्रम संघीय, प्रदेश र स्थानीय सरकारले कटौती गरेका छन् । नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले कटौती गरिनुको कारण बुझन् नसकेको बताउँछन् ।

४१ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको चेपाङ विकास कार्यक्रमले चेपाङ बालबालिकाहरूको निम्ति विद्यालय पोशाक र छात्रवृत्ति दिँदै आएको थियो । पोशाक र छात्रवृत्तिका कारणले चेपाङका बालबालिकाको आकर्षण बढेको थियो ।

चेपाङ जातिको साक्षरता दर ३६ प्रतिशत मात्र रहेको छ । जनता आवास कार्यक्रमअन्तर्गत सरकारले चेपाङका लागि हरेक बर्ष दुई-तीन सय घर बनाइदिने गरेको थियो । चेपाङ बहुल जिल्लामा करिब २०-२५ लाखसम्म रकम चेपाङ विकास कार्यक्रमबाट आउने गरेका थियो । चेपाङ विकास कार्यक्रमलाई कमाई खाने भाँडोका रुपमा अगुवाहरुले प्रयोग गरेको आरोप पनि लाग्दै आएको छ ।

source – onlinekhabr.com

सुबास पण्डितले लेख्नु भएको यो लेख समय सान्दर्भिक र धर्म संस्कृति माथिको प्रहारको नमुना अन्य सचेत नागरिक माथि पुगोस भनेर साभार गरिएको छ |

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला