दशैंको महत्व ( बैज्ञानिक तर्क सहित ) हिन्दुले एक पटक पढ्नै पर्ने रचना

ZEN Travels

                                            सांस्कृतिक समीक्षा

                                                                                                        अल्पबिराम पोखरेली

दशैंको महत्वबारे चर्चा गर्नु पूर्व आजका बालबालिका र किशोर किशोरीहरूको मनोविज्ञानको बारेमा थोरै चर्चा गर्नु सान्दर्भिक होला । हाम्रो हिन्दू संस्कृतिमा भएका चाडपर्व रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किम्बदन्ती जोडिएर आएका छन् । वेद पूराण र किम्बदन्ति कथाहरू लोक साहित्य हुन् । साहित्यका विम्ब र प्रतीकले व्यक्त गर्न खोजेको कुरा नबुझेर पुर्खाले मान्दै आएको परम्परा भन्दै हामीले मान्दै आयौं तर आजका बालबालिका र किशोर किशोरीहरू त्यो मान्ने वाला छैनन् । किनभने यो साइबर युग हो कुनै कर्मकाण्ड गर्नुको पछाडि त्यसको बैज्ञानिक सत्यतथ्य बुझ्न चाहने जिज्ञाशू रहेको हामीले पाउन थालेका छौं । अत: हाम्रो संस्कृति र रीतिरिवाजको बैज्ञानिक पक्ष उनीहरूलाई बुझाउन सकेनौ भने उनीहरूले त्यो मान्नेवाला छैनन् फलस्वरूप हाम्रो धर्म संस्कृति र रीतिरिवाजको बारे बैज्ञानिक सत्य तथ्य खोज्नु अति आवश्यक भइसकेको छ । प्रस्तुत लेख त्यसैको एउटा झिनो प्रयास हो ।

संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो “दशैँ” । नेपाली हिन्दू सम्प्रदायमा दशैं सबैभन्दा ठुलो र महत्वपूर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धुमधामले मनाइने यो दशैं कहिलेदेखि शुरु भयो यसको कुनै ईतिहास भेटिएको छैन । यो एक्कैसौं शताब्दीमा पनि मान्छेहरू वन्य र अर्ध वन्य अवस्थामा रहेको हामीले भेट्टाउँछौं । हाम्रा पिता पुर्खाहरू अर्ध बन्य अवस्थाबाट बिकशित हुँदै कृषि युगमा प्रवेश गरेपछि दशैं मान्ने परम्परा शुरु भएको हुनु पर्दछ र पछि गएर धार्मिक आवरण ओढाइएको हुनसक्छ भन्ने विद्वानहरूको मत छ । प्राचिन कालदेखि हिन्दू समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ ।दशैंको सामाजिक, सांस्कृतिक र राजनीतिक महत्वको बारेमा पछि चर्चा गरौंला पहिला पौराणिक महत्वको बारेमा चर्चा गरौँ ।

देवी पूराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरूमाथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरू डराएर ब्रम्हाको शरणमा गए ।ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफल पछि आफ्नो आफ्नो शक्तिपुंज निकाले । ती शक्ति पुञ्जहरू एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गर्यो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछि शन्ड मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा विजय उत्सब मनाए । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।

अद्भुत रामायण र श्रीमद् देवी भागवत अनुसार अर्को कथा प्रसंग जोडिएको छ, दशैंसँग । रामले रावणको बध गरेर अयोध्या फर्केपछि ठुलो जन सभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चलिरहंदा सीताले मुख लेप्र्याएर व्यंग्य मुस्कान छोडेको दृश्य विश्वामित्रले याद गरेका रहेछन् । जनसभा समाप्त भएपश्चात विश्वामित्रले सीतासँग सोधे । धेरैबेरको अनुरोध पछि सीताले भनिन् त्यो जाबो दश टाउके रावणलाई बध गर्दा त रामको बिरताको यत्रो बखान हुञ्छ भने सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरूले के गर्दा हौ ! त्यसकारणले हाँसेकी हुँ । सीताको यो अभिव्यक्तिले रामसभामा ठुलो तरङ्ग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने त्यसो भए म अहिरावण र महिरावणको बध नगरी छोड्दिन, रामले प्रतीज्ञा गरे। युद्धको तयारी भयो ।

घमासानको युद्धमा राम समेत उनका भाइहरू मुर्छित भए, कोलाहल मच्चियो । त्यहीँ मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरी सहश्र टाउके रावणहरूको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन विजयोत्सब मनाए ।

श्रीमददेवीभागवत र तुलसी कृत रामायण अनुसार लङ्केश्वर रावणलाई रामले पराजीत गर्न असमर्थ भए पछि शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्का विजय भयो । त्यसैको खुशियालीमा चैत्र महिनामा दशैं मनाउँदै आइरहेकोमा गर्मी मौसमको कारणले त्यही दशैं असोजमा सारेको भन्ने उक्तिहरू पनि भेटिन्छन् ।

उपरोक्त आख्यानहरू तत्कालीन साहित्यकारहरूका साहित्य हुन् । साहित्यमा विम्ब प्रतिक हुञ्छन् नै । विद्वान समीक्षक तथा पाठकहरूले महिषासुर, रावण, अहिरावण र महिरावण विम्ब प्रतीकलाई काम क्रोध लोभ मोह अहङ्कार मद् मात्सर्य अर्थात् खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतिक भनेर अर्थ लगाएको हुन सक्छ । असत्य माथि सत्यको विजय भएको प्रतीकको रुपमा दशैं पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौं बितिसकेको छ । अर्का थरि मत अनुसार मानव शरीर नौवटा ढोका भएको दूर्ग हो । नौवटा ढोका भएको दूर्ग अर्थात् नव द्वारको दूर्ग नवदुर्ग । यही नवदुर्ग शब्द कालान्तरमा नवदुर्गा भएको भन्ने कथन पनि भेटिन्छन् । ज्ञानरुपी दियो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरी आत्मा रुपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह, अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवशको रुपमा दशैं पर्वलाई लिनु पर्दछ, ति आधुनिक विद्वानहरू भन्ने गर्दछन ।

ऋग्वेदमा उल्लेखित धेरै कुराहरू वर्तमान समयमा बैज्ञानिकहरूले विज्ञानसँग तुलना गरेर हेर्ने र सो को अध्ययन अनुसन्धान गरिरहेका छन् । जुन बेला पौराणिक साहित्य लेखन आरम्भ भयो त्यो समय आजको जस्तो बैज्ञानिक अनुसन्धानको सुबिधा नभएकोले र सनातन धर्मका ज्ञाताहरूले पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृति न्यून रहेकोले सनातन शाश्वत सत्यहरूको प्रचार प्रसार हुन नसकेको प्रतित हुन्छ । हाम्रा वेद पूराण उपनिषद् आदि धार्मिक ग्रन्थलेभन्दा बैज्ञानिक तथ्यमा आधारित हुँदा हुँदै पनि बैज्ञानिक तथ्यको आधारमा यसको ब्याख्या विश्लेषण र खोज अनुसन्धान गर्नुभन्दा पूजा उपासना आदिमा सीमित राखिएकोले यसको महत्व विश्व जनमानसमा न्यून भएको हुन सक्छ । नव दुर्गाको जुन नौ वटा स्वरूप छ त्यसमा बैज्ञानिक आधार छन् भन्ने कुरा भर्खरै खुल्न आएको छ । आश्विन शुल्क प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । नव दुर्गाको ध्यान उपासना पूजा आदि गरिन्छ ती नव दुर्गाको बैज्ञानिक स्वरूप स्वामी निशेषा नन्दका अनुसार यस प्रकार रहेको छ ।

१) प्रतिपदामा = शैलपुत्री =Potential = सम्भावना शक्ति
२) द्वितियामा = ब्रम्हचारिणी = Magnetic = चुम्बकीय शक्ति
३ ) तृतीयामा = चन्द्रघण्टा = Sound = ध्वनि शक्ति
४) चतुर्थीमा = कुष्मान्डा = Chemical = रासायनिक शक्ति
५) पन्चमीमा = स्कन्दमाता = Kinetic = आकर्षण शक्ति
६) षष्ठीमा = कात्यायनी = Nuclear = ब्रम्हान्डीय केन्द्र शक्ति
७) सप्तामीमा = कालरात्री = Thermal = प्रसारण शक्ति
८) अष्टमीमा = महागौरी = Light = प्रकाश शक्ति
९) नवमीमा = सिध्दिंदात्री = Electricity = बिध्दुतीय शक्ति

यी उल्लेख गरिएका शक्तिहरू विश्व ब्रम्हाण्डमा र हरेक प्राणीहरूमा बिध्यमान छन् ।

भारतीय हिन्दू र नेपाली हिन्दूहरूको दशैँ मनाउने भिन्न भिन्न शैली छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दूहरू नै हुन् ता पनि जात जाति र भूगोल अनुसार दशैं मनाउने बिधि फरक फरक छन् । हिन्दूको महान चाड दशैं भए जस्तै गैर हिन्दूहरू जस्तै उदाहरणको लागि बौध्द, इशाई, ईश्लामहरूको पनि महान चाड हुन्छन् । जुन सुकै जात धर्म वा सम्प्रदायले जस्तो सुकै चाड पर्व मनाए पनि त्यसको बैज्ञानिक आधार एउटै रहेको विश्लेषकहरू बताउँ छन् । काम, भोजन, आराम, मनोरन्जन र सुरक्षा – यी सबै मानवीय प्रवृति हुन् । यिनै मानवीय प्रवृतिको आधारमा चाड पर्व मनाउनुका आधार अंगेजीका चार वटा आरमा विभाजन गरिएको छ ।

१ ) Remove :- त्याग्नु, छोड्नु वा हटाउनु :- चाड पर्वमा आफ्नो घर आँगन लित पोत र सरसफाई गर्नु, रङ्ग रोगन गर्नु, पुरानो वस्तु हटाएर नया वस्तु भित्र्याउनु, पुरानो बस्त्र त्यागेर वस्त्रधारण गर्नु, पुरानो विचार त्यागेर नयाँ नवीन सिर्जनाको योजना बनाउनु ।
२) Recharge or Restore :- जसरी मोबाइल, घडी आदि बेलाबखत रिचार्ज गरिएन भने त्यो बन्द हुन्छ । त्यसरी नै मानवीय उर्जा शक्ति संचय गर्न जरुरि हुन्छ।
३) Relax :- आनन्द प्राप्त गर्नु वा मनोरन्जन गर्नु । चाड पर्व जीवनको एउटा उत्सब हो । उत्सबमा अनेक परिकार भोजन र मनोरन्जन गरेर आनन्द प्राप्त गर्न सकिन्छ ।
४) Relation renue :- नाता सम्बन्ध पुनरनविकरण :- नाता सम्बन्ध जीवन भोगाईको क्रममा अनेकौं कारणले चिसिन सक्छ । चिसिएको सम्बन्धलाई न्यानो बनाउने र न्यानो सम्बन्धलाई अँझै गाढा बनाउन चाड पर्व महत्व पूर्ण अवशर हो ।

उपरोक्त आधारहरू हिन्दूको दशैंको मात्र नभएर ईशाइको क्रिश्मस र इस्टर, ईश्लामको रमजान, ईदुल फित्र, बकरिद ।किरातीको साकेला, उधौली उभौली । थकालीको फालो, तोरन्ल । गुरुंगको टोहोंटे, ल्होसार। थारुको माघी, मधेसीको छठ र शेर्पाको ग्याल्पो ल्होसार आदिका पनि आधार हुन्भन्दा अतिशयोक्ति हुने छैन । किनभने यी पर्वहरू हिन्दूको दशैं जस्तै ठुलो महत्वको पर्व अथवा दशैं रहेको हामी पाउछौं । यो हाम्रो चाड होइन त्यसैले हामी यसलाई मान्दैनौं भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन । सबै चाड पर्व मानिसकै सिर्जना हुन् । मानव पुर्खाका अनुभव र अनुभूतिबाट संस्कृतिको निर्माण भएको हुनाले भौगोलिक कारण र जीवन जिउने विविधताका कारणले संस्कृति पनि अलग अलग हुन गएको हो । सबैले याद गर्नु पर्ने एउटा उदाहरण पेश गरूँ जापानमा बुध्दको मूर्ति जापानी जस्तै छन् । चीन, थाइल्याण्ड, बर्मा, नेपाल आदिमा उस्तै छ । देवी देवताका मूर्तिको पनि त्यही हाल छ र मान्छेले आफूले जे भोजन गर्छ त्यही वस्तु प्रसाद चढाउँछ । भौगोलिक अवस्था अनुसार वस्त्र र खाद्य वस्तुमा पनि बिबिधता छ । यी विविधताका कारणले मानिसहरू आपसमा झगडा गर्नु भनेको मुर्खता सिबाय अरु केही होइन । त्यसैले सबै सम्प्रदायले सहिष्णुता र सद्भाव राख्दै सबैको चाड पर्वहरूलाई सम्मानको दृष्टिले हेर्नु नै मानव कल्याणको हितमा हुनेछ ।

जुनसुकै मतले जेसुकै भनेता पनि, दशैं मान्ने तरिकामा बिबिधता भए पनि आखिर दशैं त सबै हिन्दूहरूले मनाउँछन् । किनभने दशैंको सामाजिक र राजनीतिक महत्व पनिरहेकोछ । शरद ऋतु, वन उपवनमा ढकमक्क फूल फुलेको छ । खेतमा लहलह धानका बालाहरू झुलेका छन् । वारीमा तरकारीहरू, फलफूलहरू लटरम्म फलेका छन् । वर्षा थामिएको छ, न जाडो छ न गर्मी । कृषि प्रधान देशका नागरिकहरूलाई हलो, कुटो, कोदालो र हिलो माटोबाट फुर्सद मिलेको छ । घरपालुवा पशुपन्छीको बंश वृद्धि भएको छ । यही उमङ्गमय वातावरणमा जिजीविषाका लागि टाढा टाढा देश परदेशमा गएका आफन्तजनहरूसंगको मिलनले कसको मन उल्लासित हुदैन र ! मीठो खाने, राम्रो लगाउने र मनोरंजन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवशरको रुपमा पनि दशैंको महत्व रहेको छ ।सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैं खर्च दिएर दशैंको महत्वलाई अँझै उजागर गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला